कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

लघुवित्त : समृद्धिको संवाहक कि बाधक ?

लगभग ६ खर्बको वित्तीय बजारलाई बेवास्ता गर्दा दसौं लाख गरिबले पाइराखेको वित्तीय सेवा अवरुद्ध हुन गई समाजमा द्वन्द्व र अशान्ति फैलिन सक्छ । त्यसैले समस्यालाई बेवास्ता नगरी राज्य, नियामक निकाय, लघुवित्त संस्था र समस्त सरोकारवालाले संयुक्त प्रतिबद्धतासहित सम्बोधन गर्नुपर्छ । 
भरतसिंह थापा

नितान्त सामाजिक, गैरनाफामूलक र समुदायमा आधारित लघुवित्त कार्यक्रम क्रमिक रूपमा रूपान्तरणहुँदै ग्रामीण क्षेत्रमा वित्तीय पहुँच बढाउने नाफामूलक कम्पनीका रूपमा विकसित हुँदै गएका छन्। लघुवित्तलाई गरिबी निवारणभन्दा पनि वित्तीय समावेशिताको औजारका रूपमा व्याख्या गर्न सुरु भयो ।

लघुवित्त : समृद्धिको संवाहक कि बाधक ?

नवउदारवादी सोच भएका नीति निर्माताले पुँजीवादलाई सामाजिक–आर्थिक पिरामिडको तल्लो तहसम्म पुर्‍याउनका लागि लघुवित्तमा व्यापक व्यवसायीकरण गर्न थाले ।

१९७० को दशकमा सुरु भएको आधुनिक लघुवित्तको अभियान थुप्रै आरोह–अवरोह पारगर्दै अहिले पूर्ण रूपान्तरणको दोसाँधमा छ । यस कालखण्डमा यसका अभियन्ता मुहम्मद युनुस (उनको संस्था ग्रामीण बैंक बंगलादेश) ले सन् २००६ को नोबेल पुरस्कार पनि प्राप्त गरे । बोलिभिया (२०००), मोरक्को (२००८), बंगलादेश (२००८/९), निकारागुवा (२००९), भारत (२०१०) र दक्षिण अफ्रिका (२०१५) मा आएका मुख्य संकटले लघुवित्तको भूमिका र औचित्यमाथिनै प्रश्नचिह्न खडा गरेको छ ।

२०८० पुस मसान्तसम्म ५४ वटा लघुवित्त वित्तीय संस्थाका ५,१२६ शाखार २० हजार कर्मचारीमार्फत ७७ वटै जिल्लामा लगभग ६० लाख बचत सदस्य छन् । २८ लाख ऋण सदस्यमार्फत ४५० अर्ब कर्जा प्रवाह गरिराखेको लघुवित्त क्षेत्रमा लगभग ४० प्रतिशतसदस्यको बचत परिचालन देखिन्छ । १० प्रतिशत मात्र पुँजी कोष रहेको यी संस्थाको निष्क्रिय कर्जाको अनुपात लगभग ८ प्रतिशत छ ।

नेपाल सरकार रराष्ट्र बैंकको संयुक्त लगानीमा २०४९सालमा स्थापना भएको नेपाल ग्रामीण विकास बैंकलाई आधुनिक लघुवित्तको सुरुवात मान्नेहो भने ३० वर्षमा यसले गरेको योगदाननकार्न सकिँदैन । ३० वर्षमा नेपालमा गरिबीको स्तर ४५ प्रतिशतबाट घटेर १८ प्रतिशतमा आइपुगेको तथ्यमा कति हदसम्म लघुवित्तको योगदान छ भन्ने यकिन गर्न नसके पनि केही न केही रूपमा यसको भूमिका हुनै पर्दछ । अति न्यून लगभग १५ प्रतिशतको हाराहारीमा रहेको वित्तीय पहुँचलाई अहिले ७६ प्रतिशतभन्दा माथि पुर्‍याउनमा लघुवित्त संस्थाले ग्रामीण र दुर्गम जनसमुदायको घरदैलोमा गएर सेवा दिएका छन् । राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न अनुमति प्राप्त ११२ बैंक तथा वित्तीय संस्थाका कुल ११ हजार ५६७ शाखामध्ये लघुवित्त वित्तीय संस्थाको अंश ४४ प्रतिशत छ । प्रतिशाखा जनसंख्या ४ हजार ५२८ रहेकामा लघुवित्त वित्तीय संस्थासमेत गणना गर्दा २ हजार ५२१ हुने हुन्छ ।

२०७२ को भूकम्प, प्राकृतिक प्रकोप, कोरोना महामारीका बेला अति विपन्न र विकट स्थानमा सेवाको निरन्तरता र थप सहयोग प्रदान गरी राज्यको अनुभूति दिलाउन गरेको कार्यलाई सराहनीय मान्नुपर्छ । वित्तीय साक्षरतामा वृद्धि, कार्यक्रममार्फत लक्षित वर्गलाई वित्तीय साक्षरता प्रदान गरीग्राहक सदस्यको क्षमता अभिवृद्धि र मूलधार बैंकिङप्रणालीका लागि सक्षम ग्राहकको निर्माण गर्न लघुवित्त संस्थाको महत्त्वपूर्ण भूमिका छ । लघुवित्तका ६० लाख सदस्य ग्राहकमध्ये लगभग शतप्रतिशतै महिला छन् ।

सुदूरपश्चिम प्रदेशमा भएको एक अध्ययनका आधारमा ५ वर्षको अवधिमा महिला सशक्तीकरण सूचकांक लघुवित्तका ग्राहकमा गैरग्राहकको तुलनामा प्रतिवर्ष १४ प्रतिशतले बढेको पाइयो । अहिले अधिकांश अचल सम्पत्तिमहिलाको स्वामित्वमा हुनु, घरायसी काममा महिलाले गर्ने निर्णयको हिस्सा बढ्दै जानु,बालबालिकाहरूको शिक्षा, स्वास्थ्य र घरायसी किनमेल तथा व्यावसायिक निर्णयमा महिलाको सहभागिता उल्लेख्य रूपमा हुनुलाई सशक्तीकरणको आधारका रूपमा लिन सकिन्छ ।

लघुवित्तहरूले अत्यधिक ब्याज र सेवाशुल्क लिनेगरेको भनेर चौतर्फीनिन्दा भएको छ । तीन वर्षदेखिराष्ट्र बैंकले सम्पूर्ण लघुवित्तलाई अधिकत १५ प्रतिशत वार्षिक ब्याजदर लिन पाउने नीतिगत व्यवस्था गरेको छ । यो वाणिज्य बैंकहरूको लगभग १२ प्रतिशत र अनौपचारिक क्षेत्रको लगभग २४ प्रतिशतको मध्यविन्दु १८ भन्दा कमै हो । अन्तर्राष्ट्रिय अभ्यासलाई हेर्ने होभने पनि भारतमा १८–२३ प्रतिशत, बंगलादेशमा २४ प्रतिशत, पाकिस्तानमा २३–२५ प्रतिशत, अफ्रिकन मुलुकमा ३४ प्रतिशत र दक्षिण अमेरिकी मुलुकमा ३० प्रतिशत ब्याजदरको तुलनामा यो कम हो । तर ब्याजदरको पारदर्शिता र नियामक निकायको सुपरिवेक्षणअपर्याप्त नै रहेको छ ।

लघुवित्तका समस्या

गरिबीको रेखामुनि रहेको जनसमुदायलाई बिनाधितो कर्जा प्रवाह गरी आर्थिक र सामाजिक रूपान्तरण गर्ने ध्येय राखेका लघुवित्त यही समुदायका लागि ऋणको पासोका रूपमा प्रस्तुत भएका छन् । नेपालमा एक वर्षयता चलिरहेको लघुवित्तविरोधी गतिविधि, संस्थाहरूको खस्किँदो साख र बिग्रिँदो वित्तीय अवस्थाले यो क्षेत्र संकटोन्मुख छ ।

दुई वर्षयता लघुवित्तको प्रतिफल उल्लेख्य रूपमा घटिरहेको छ भने समग्र वित्तीय र संस्थागत सूचकांकक्रमिक रूपमा बिगि्रँदै गइरहेका छन् । एकातिर अत्यधिक ऋणको भारमा परी ऋणीहरूले ऋणको किस्ता भुक्तानी गर्न सकेनन् भने अर्कोतिर यो मुद्दालाई लिएर केही व्यक्ति र समूहले आफ्नो स्वार्थ सिद्धिका लागि सांगठनिक रूपमै ऋण नतिर्न उक्स्याउने काम भयो । लघुवित्त संस्थाले गरेका सकारात्मक योगदानलाई कसैले पनि उजागर गर्न सकेनन् बरु सरकार, सञ्चारमाध्यम, निमायक निकाय, राजनीतिक दल र विद्वत् वर्ग नै लघुवित्तका नकारात्मक असरमा मात्र खनिए ।

लघुवित्तको ३० वर्षे छोटो इतिहासमा यति धेरै विवाद र समस्या आइपर्नुमा मुख्यत: ६ वटा कारण जिम्मेवार देखिन्छन् । पहिलो,लघुवित्त संस्थाबीच अत्यधिक प्रतिस्पर्धा । नेपाल राष्ट्र बैंकको लाइसेन्सिङ नीतिलाई रूपान्तरण गर्ने नीतिका कारण१० वर्षमा लघुवित्तको संख्या, कर्जा विस्तार, कर्मचारी वृद्धि लगायत शाखामा उच्च वृद्धिदर देखिन्छ । २०५० मा २ वटामात्र लघुवित्त संस्था रहेकामा २०७२ सालमा ३८ वटा र २०७५ मा हालसम्मकै उच्च ९१ वटा पुगेको थियो । कर्मचारीलाई व्यक्तिगत लक्ष्य दिने, ग्राहक खोसाखोस गर्ने, कर्जा अनुशासनको बेवास्ता गर्ने, अधिक प्रतिफल कमाइ सेयरको मूल्य वृद्धिमा मात्र केन्द्रित भएकाले लघुवित्तको मूलमर्मबाट विचलित भएको पाइन्छ । सहरी र सुविधासम्पन्न ठाउँमा शाखाहरूको उच्च एकाग्रताले गर्दा लघुवित्त क्षेत्रमा बहुबैंकिङ समस्या पाइन्छ । ग्राहकहरूको अवस्था, क्षमता र कर्जाको उपयोगिताको मूल्यांकन नगरी केवल ऋण पोर्टफोलियो बढाउनका लागि यी संस्थाले आफ्ना ग्राहकलाई ठूलै ऋणको भार बोक्न लगाएका छन् ।

दोस्रो, लघुवित्तको संस्थागत सुशासनमा बहुतलीय समस्याछन् । समूहबाटै समस्या सिर्जना भई समूह प्रमुखले कर्जा कोषको दुरुपयोग गरेका कैयौं घटना उजागर भएका छन् । यसै गरी फिल्ड कर्मचारी र शाखा प्रमुखको तहमा पनि कोषको हिनामिनालगायत बेइमानी देखिएका छन् । व्यवस्थापन र सञ्चालक समितिको तहमा हुने गरेका नीतिगत तथा संरचनागत र वित्तीय सुशासन उल्लंघनका घटना व्याप्त छन् । संस्थाको कमजोर आन्तरिक नियन्त्रण प्रणाली र नेपाल राष्ट्र बैंकको अपर्याप्त सुपरिवेक्षकीय क्षमताले यो समस्या अझै गहिरो बन्दै लघुवित्तका ग्राहकहरू ऋणको दुष्चक्रमा फसेका छन् ।

तेस्रो, ऋणीबीचमा पनि ऋण लिने र व्यवसाय गर्ने प्रतिस्पर्धाले गर्दा आय र रोजगारी वृद्धिको सट्टा अधिक कर्जाको भारले समग्र समुदाय नै कर्जाग्रस्त भयो । स्थानीय अर्थतन्त्रको समग्र आय र वास्तविक मागमा वृद्धि नभई कर्जामात्रै वृद्धि गरेर व्यवसाय सञ्चालन गरी आपूर्ति मात्रै बढाउँदा त्यसले आर्थिक विकासको सट्टा बजार सेचुरेसन र स्थानीय अस्वस्थ प्रतिस्पर्धा सिर्जना गरी आर्थिक अदक्षता मात्र निम्त्याउने परिस्थितिलाई हाम्रो लघुवित्त प्रणालीले पुस्ट्याउँछ । चौथो, विषम आर्थिक परिस्थिति । आर्थिक मन्दी र कोरोना महामारीका समयमा अन्य मुलुकमा झैं नेपालमा पनि आम जनतालाई परेको आर्थिक संकटलाई राज्यले सम्बोधन गर्न सकेन । लघुवित्त संस्थाको अधिक तरलता र कर्जा प्रवाह गर्ने होडबाजीले मागअनुसार कर्जा प्रवाह गर्दा तुरुन्तै राहत त दियो तर त्यो पैसा अधिकांश उपभोगमा खर्च भएकाले ऋणीहरू ठूलो मारमा परे ।

पाँचौं, सामाजिक पुँजीमा आएको स्खलन । हाम्रो लघुवित्तले अनुसरण गरिरहेको ग्रामीण मोडलको आधारशिला सामाजिक सद्भाव र विश्वास हो । जुन नेपाली समाजमा क्रमिक रूपमा क्षय भइरहेको देखिन्छ । एकअर्काप्रतिको विश्वास र सहयोगको भावना कम हुँदै गइरहेको परिस्थितिमा सामूहिक जमानी बोझिलो भएको छ ।

छैटौं, लघुवित्तलाई व्यवसायीकरण गर्नु हो । सीमित वित्तीय कारोबार गर्नै गैरसरकारी संस्थाको रूपान्तरण, वाणिज्य बैंकलाई सहायक कम्पनी खोल्न दिनु, निजी पुँजी लगानीबाट कम्पनी खोल्न दिनु र धितोपत्र बजारबाट पुँजी संकलन गर्न दिनुले व्यवसायीकरण प्रस्ट्याएको छ । लक्षित वर्गको आर्थिक उत्थानका उपायमा छलफल, अध्ययन र चिन्तन गर्नुपर्ने सञ्चालक समिति र व्यवस्थापनकेवल प्रतिसेयर आम्दानी, सेयर मूल्य, राइट सेयर, लाभान्स, बोनस सेयर र कर्जा वितरण र असुली जस्ता नितान्त सेयरधनीको स्वार्थमा केन्द्रित भए ।

यसरी ग्राहक सदस्य र कर्मचारीबीचको सम्बन्ध लघुवित्तको इतिहासमै दयनीय अवस्थामा पुग्यो । कर्मचारीहरूले निर्दयी भएर ऋणको किस्ता असुल गर्नुपरे जस्तै ऋणीहरूमा गरगहना, पशुपन्छी, घरायसी सामान र घरखेत बेच्नुपर्ने अवस्था छ ।

समाधानका उपाय

लघुवित्तमा देखिएका समस्या समाधानका लागि मुख्यतया चारवटा सुझावपेस गरिएको छ । पहिलो, लघुवित्तको मोडलमा परिवर्तन । ५० वर्ष पहिला परिकल्पना गरिएको ग्रामीण मोडल जुन सामाजिक संरचनामा सञ्चालन भएको थियो, अब कुनै पनि अल्पविकसित मुलुकमा त्यो पाउन सकिन्न । सामाजिक पुँजी बिस्तारै क्षय भइरहेको छ । यस्तो परिस्थितिमा ग्रामीण मोडल भनेर ‘वान साइज फिट्स अल’ भन्नेतिर नगई ग्रामीण, सहरी र सहरउन्मुख अर्थात् अति विपन्न, विपन्न र कम विपन्न वर्गका लागि फरकफरक ढंगबाट लघुवित्त कार्यक्रम सञ्चालन गरिनुपर्छ । अहिलेको संस्थागत संरचनालाई परिमार्जन गरी ग्राहकबाट प्रतिनिधित्व हुने गरी स्वामित्वमा पुन: संरचना गर्नुपर्छ । हाल नेपाल राष्ट्र बैंकले लिएको आक्रामक मर्जर नीतिलाई रोकी अहिले भएकै संस्थालाई स्थानीय, प्रादेशिक र राष्ट्रिय गरी ३ तहको कार्यक्षेत्र निर्धारण गरी वर्गीकरण गरिनुपर्दछ । लघुवित्तलाई उद्यमशीलतासँग मात्र नजोडी लक्षित वर्गको वित्तीय उतारचढावमा तरलता व्यवस्थापन गर्नसमेत अति उपयोगी साधनका रूपमा विकसित गर्दै जानुपर्छ ।

दोस्रो, लघुवित्त संस्थालाई सामाजिक बैंक बनाउनुपर्छ । यसका लागि आवश्यक संस्थागत पूर्वाधार बनाउन नेपाल राष्ट्र बैंकका अतिरिक्त अर्को तहको नियामक निकाय खडा गर्नुपर्दछ, जसले वित्त, विकास र सामाजिक रूपान्तरणलाई सँगसँगै लान सकोस् । सामाजिक कार्यसम्पादन मूल्यांकनका आधारतयार पार्ने र नियमित प्रतिवेदन पेस गर्नुपर्ने नियमनकारी व्यवस्था गर्नुपर्छ । अहिले भएको ग्राहक संरक्षण कोषको व्यवस्थालाई अझ फराकिलो बनाउँदै ग्राहकलाई संस्थाको स्वामित्व दिने र सञ्चालक समितिमा पनि अनिवार्य प्रतिनिधित्व गराउन सके लघुवित्त सामाजिक बैंकिङको दिशातिर उन्मुख हुनेछ । सामाजिक उत्तरदायित्वसँगै गरिब तथा विपन्न वर्गमा पर्ने जलवायु परिवर्तनको गम्भीर असरलाई न्यूनीकरण गर्न यी संस्थाले आफ्ना वित्तीय सेवाको विकास तथा नवप्रवर्द्धनसहित अगाडि बढ्नुपर्छ ।

तेस्रो, वित्तीय साक्षरता अभिवृद्धि गर्ने । लघुवित्तमा बहुतलीय वित्तीय साक्षरताको खडेरीछ । बर्सेर्नि करोडौं खर्च गरेर वित्तीय साक्षरता तालिम, कार्यक्रम चलाइराखेका बैंक तथा वित्तीय संस्थाका कार्यक्रको प्रभावकारिता मूल्यांकन गर्ने बेला भइसकेको छ । यसको ज्वलन्त उदाहरण आम जनताले सहकारी, मिटरब्याजी र लघुवित्तको फरक छुट्याउन नसक्नु हो ।

चौथो, कर्जालाई उत्पादनसँग जोड्नु अपरिहार्य छ । तर उत्पादन मात्रले पुग्दैन, त्यसका लागि स्थानीय बजार विकास गर्दै र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन सहजीकरण गर्ने संस्थासँग सहकार्य गर्दै उत्पादनको बजार सुनिश्चित गर्नुपर्छ । त्यसैले यी संस्थाहरूले स्थानीय सरकार, गैरसरकारी संस्था र विशिष्टीकृत संस्था जस्तै: ई–कमर्स कम्पनीहरूसँग सहकार्य गरी आफ्ना कार्यक्रम परिस्कृत गर्दै जानुपर्छ ।

– त्रिभुवन विश्वविद्यालयका सहायक प्राध्यापक थापा लघुवित्त क्षेत्रका विज्ञ हुन् ।

प्रकाशित : फाल्गुन ७, २०८० ११:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?