कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२१

'प्रशासनिक पुनर्संरचना गर्‍यौं, तर राज्यको चरित्र बदलिएन'

कतै हाम्रा कमजोरीलाई व्यवस्थाका कमजोरी भनेर लोकतन्त्रको आदर्शलाई अपव्याख्या गर्ने काम त भइरहेको छैन ? मलाई लाग्छ यसो हुनुमा निश्चय नै हाम्रा कमजोरी पनि कारण हुन् ।
रामचन्द्र पौडेल

काठमाडौँ — आफैँले निर्वाचित गरेका जनप्रतिनिधिमार्फत् आफ्नो संविधान आफैँ लेख्ने नेपाली जनताको ७ दशकभन्दा बढी लामो आन्दोलन, त्याग र बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको आठ वर्ष पुरा भएको छ ।

'प्रशासनिक पुनर्संरचना गर्‍यौं, तर राज्यको चरित्र बदलिएन'

यो संविधानले निरंकुश, केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाका सबै प्रकारका विभेद र असमानतालाई अन्त्य गरेकोमात्र होइन, वास्तविक अर्थमा नेपाली जनतालाई राजकीय शक्तिको मालिक बनाएको छ ।

यसर्थमा, हामी सबैले मिलेर लोकतान्त्रिक आन्दोलनको एउटा महत्वपूर्ण चरण पार गरेका छौं । अहिले हामीसँग आफैँले बनाएको संविधान छ । हाम्रो संविधानले निर्दिष्ट गरेको संघीय लोकतान्त्रिक गणतन्त्रले नागरिकको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक स्वतन्त्रतासहित निमुखालाई न्याय र विपन्नलाई आयको परिलक्ष्य राखेको हो । अधिकारका विभिन्न प्रकार उल्लेख गरे पनि ती सबै अधिकारले निमुखा जनतालाई निर्वाध स्वतन्त्रता उपभोग गर्ने र उनीहरूको जीवनस्तर उकास्ने अवसर प्रदान गर्ने विषय नै संघीय लोकतान्त्रिक गणतन्त्रले बोकेको दर्शनभित्रको अन्तर्य हो ।

तर यहाँ व्यवस्था त परिवर्तन भयो, हाम्रो देश समाज र जनसामान्यको अवस्थामा भने अझै परिवर्तन हुन सकेको छैन । हामीले प्रशासनिक रुपमा राज्यको पुनः संरचना गर्‍यौँ । तल्लोभन्दा तल्लो तहमा रहेका जनताको पहुँचमा राज्यसत्ता पुगेको छ । तर, राज्यको चरित्रको भने पुनः संरचना हुन अझै बाँकी छ ।

राजनीतिक रुपमा जनताको सर्वोत्तम उपलब्धि 'गणतन्त्र' हामीले प्राप्त गरेका छौँ । तर गणतन्त्रको वास्तविक अर्थ बुझ्न र त्यसलाई अनुभूत गर्न बाँकी नै छ जस्तो मलाई लाग्छ । गणतन्त्र भनेको शासनमा व्यक्तिको परिवर्तनमात्र होइन । यो त जनताको राजकीय शक्तिको प्रवाहमा सामेल हुन पाउने अधिकार हो । यो त संस्कार, संस्कृति, आनीबानी र व्यवहारमात्रै होइन आचरणमा परिवर्तन पनि हो भनेर हामीले बुझ्न बाँंकी छ ।

लोकतान्त्रिक निर्वाचनका माध्यमबाट जनप्रतिनिधि छनौट भई अहिले संविधानतः तीनैतहका सरकारहरू बनेका छन् । यी निश्चय नै हाम्रा लागि धेरै ठूला र ऐतिहासिक उपलब्धि हुन् । यिनै उपलब्धिहरूका जगमा हाम्रो भविष्यको सुखद यात्रा प्रारम्भ भएको छ ।

हाम्रो देशलाई नेपाली मौलिकतासहितको एक विशिष्ट र विश्वको उन्नत राष्ट्र बनाउने प्रचुर सम्भावना हाम्रो अगाडि छ । यो निकै महत्वपूर्ण अवसर हो । तर हामीले आफ्नो आचरण, चरित्रमा व्यापक सुधार गरेर लोकतान्त्रिक संस्कारको जग बसालेर कुशलतापूर्वक मेहनत गरेमा मात्र त्यो सम्भव छ ।

अहिले जनआन्दोलनका उपलब्धिहरू माथि फेरि कहीं, कतैबाट कमजोर बनाउने काम नहोस् भन्नेमा हामी सचेत हुनैपर्छ । जनअनुमोदित संविधानसभाबाट निर्माण भएको लोकतान्त्रिक संविधानका व्यवस्थाहरूलाई निस्तेज पार्ने काम कतैबाट हुन नपाओस् भन्नेमा पनि हामी चनाखो हुनैपर्छ । यस्तो अवस्था किन र कसरी आउन सक्छ ? यो प्रश्नमा हामी सबै जिम्मेवार हुनु आवश्यक छ ।

कतै हाम्रा कमजोरीलाई व्यवस्थाका कमजोरी भनेर लोकतन्त्रको आदर्शलाई अपव्याख्या गर्ने काम त भइरहेको छैन ? मलाई लाग्छ यसो हुनुमा निश्चय नै अनेक कारण छन् । तर हाम्रा कमजोरी पनि त्यसका कारण हुन् । अतः त्यसलाई हाम्रो राजनीतिक निष्ठाले जित्नु पर्छ र लोकतन्त्रको पवित्रतालाई स्थापित गर्दै यसलाई अझ परिणाममुखी बनाउन आवश्यक छ ।

हाम्रो सुखद भविष्य प्राप्त गर्न हामीले राजनीतिक उपलब्धिहरूलाई जोगाउँंदै र संविधानको रक्षा गर्दै अगाडि जानुको विकल्प छैन । हिमाल पहाड तराईको अनुपम भौगोलिक संरचनाको हाम्रो बहुजाति, बहुभाषी, बहुसंस्कृति र विभिन्न सम्प्रदायलाई हाम्रो संविधानले समान संरक्षण प्रदान गरेको छ । यस्तो अवस्थामा नेपालीहरूबीच रहेको आपसी सद्भाव र भ्रातृत्व र सहअस्तित्वमा आँच आउने काम कोही कसैबाट हुनुहुँदैन ।

हाम्रो संस्कृति र प्रकृतिले हामीलाई देशमा रोजगारी र आम्दानी दिने असीमित संभावनाको ढोका खोलेको छ । सबै किसिमका बेथितिलाई अन्त्य गर्दै सुशासनको माध्यमबाट हाम्रो जलस्रोत र उर्जा शक्तिको मात्र उचित व्यवस्थापन गर्न सके नेपाल दुनियाँको समुन्नत राष्ट्रको कोटीमा पुग्ने सम्भावना अगाडि देखापरेको छ ।

सुशासन नै हाम्रो अमनचयन, विकास र समृद्धिको आधार भएकाले उल्लेखित सबै क्षेत्रमा सुधारको आवश्यकता छ । यसका लागि सन्तुलित र प्रभावकारी परराष्ट्र नीतिका माध्यमबाट द्विपक्षीय र बहुपक्षीय अन्तराष्ट्रिय सम्बन्धलाई अझै सुदृढ गरी राष्ट्रिय अर्थतन्त्रलाई सबलीकरण गर्दै युवा जनशक्तिलाई देशभित्रै रोजगारी र आम्दानीका अवसर सृजना गर्नुपर्दछ ।

जलवायु परिवर्तनको प्रभावका कारण विगत केही वर्षयता प्राकृतिक प्रकोपहरूले हाम्रो देश र विश्वलाई अत्यन्तै बढि प्रभावित पारिरहेको छ । त्यसैले जलवायु परिवर्तनको प्रभाव न्यूनिकरणका लागि विश्व समुदायलाई साथ लिदैँ अगाडि बढ्नु अहिलेको अर्को महत्वपूर्ण आवश्यकता हो ।

समयले हामीलाई जुन दायित्व दिएको छ, त्यो दायित्व पुरा गर्न तथा राज्यव्यवस्थाका हरेक आयाममा देखिने अव्यवस्थालाई हटाएर लोकतान्त्रिक मूल्यको संस्कार विकास गरी समाजको समग्र रूपान्तरण गर्न अब एकताबद्ध बनौँ र यसका लागि आजै ऐतिहासिक संकल्प गरौँ ।

(राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार संविधान दिवसको सन्दर्भमा राष्ट्रपति कार्यालयले गरेको कार्यक्रममा दिएको मन्तव्यको सार अंश)

प्रकाशित : आश्विन ४, २०८० १६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?