कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

सम्बोधन, समय र समाधान

हामीकहाँ सिंह राज्यमा पहिला जेठो ढाडे, अनि शक्तिका क्रमअनुसारका अरू पुरुष, एवंरीतले माउहरूको शक्तिक्रम र अन्तमा मात्र बचराहरूले खाने चलन भएजस्तै कार्यक्रमको उद्देश्य वास्तै नगरी पद र शक्तिको क्रममा राखेर सबैलाई सम्बोधन गर्ने चलन छ ।
श्याम शर्मा

हाम्रो समाजले खोक्रा औपचारिकतामा बीस वर्ष अघिभन्दा आजकल कम होइन, झन्डै बढी समय बिताउने गरेको छ । त्यसमा पनि कार्यक्रमको उद्देश्यलाई ख्याल गरेर हेर्ने हो भने अनुपयुक्त, अनुत्पादक र अनावश्यक चलनहरूमध्ये सम्बोधन सबैभन्दा अनर्थको लाग्छ ।

सम्बोधन, समय र समाधान

सम्बोधनलाई शक्तिको र चापलुसीको अनौठो खेलका रूपमा नगरेर किन गर्ने, कति गर्ने र कसलाई गर्ने भन्नेमा ध्यान दिने हो भने घटाउन र अर्थपूर्ण बनाउन सकिन्छ । यस लेखले कार्यक्रमको उद्देश्यभित्र सम्बोधन पर्छ कि पर्दैन, गर्नैपर्ने भए कति समय छुट्याउँदा उचित हुन्छ, कसरी र कसले गर्दा सम्बोधनको खण्ड छोटो–मीठो हुन्छ भन्ने विश्लेषण गरेको छ । कार्यक्रमलाई बढी उपयोगी र सबैका लागि सम्मानजनक बनाउन सम्बोधन कसरी गर्ने भनेर केही उपाय पनि सुझाइएका छन् ।

सम्बोधन किन ?

सम्बोधन नगर्नु होइन, गर्नु किन पर्छ भन्नेमा एकछिन रोकिऔं । खास गरी औपचारिक कार्यक्रमहरूमा धेरथोर सम्बोधन उपयुक्त वा आवश्यक हुन्छ । यो हाम्रो दक्षिण एसियाली र संसारकै पनि अरूलाई कदर गर्ने एउटा तार्किक माध्यम हो । बोलाएका अतिथिलाई सम्बोधन गर्नु राम्रो हो । धन्यवाद, बधाई वा शुभकामना दिनुपर्नेलाई सम्बोधन गर्नुपर्छ । स्रोता–सहभागीलाई हौसला दिन वा अन्तर्क्रिया गराउन पनि सम्बोधन गरिन्छ ।

तर सम्बोधन गर्ने–नगर्ने, केवल दुई–चार शब्दको हुने वा दस–पन्ध्र मिनेटको हुने भन्ने निर्धारण गर्न अर्थपूर्ण आधारहरू हुनुपर्छ । पूजाआजा गर्दा बिरालोले दूध जुठो पार्छ भनेर एउटा पुस्ताले घरको बिरालो बाँधेर काम गर्‍यो भनेर त्यसपछिका पुस्ताले नभएको बिरालो खोजीकन ल्याएर बाँधेजस्तो सम्बोधन गर्नु हुँदैन । जस्तो— कुनै प्राज्ञिक कार्यक्रममा छलफलका लागि बोलाइएका वक्ताहरूलाई स्वागत गर्न, धन्यवाद दिन वा उनीहरूको विशिष्टीकरणबारे स्रोतालाई जानकारी दिन सम्बोधन गर्नुलाई त्यो कार्यक्रमको उद्देश्यले मागेको भन्न सकिन्छ । तर जतिसक्दो चाँडो छलफल सुरु गर्न छाडेर वा दुई–चार मिनेटमा सबै औपचारिकता सक्ने काम नगरेर आधा घण्टा कुराउँदा वक्ता, स्रोता र कार्यक्रम सबैलाई अन्याय हुन्छ । अनर्थको काम हुन्छ ।

उपयुक्त, फलदायी वा आवश्यकभन्दा बढी सम्बोधन गर्नुमा वरीयताक्रम कारक तत्त्व हो । हामीकहाँ सिंह राज्यमा पहिला जेठो ढाडे, अनि शक्तिका क्रमअनुसारका अरू पुरुष, एवंरीतले माउहरूको शक्तिक्रम र अन्तमा मात्र बचराहरूले खाने चलन भएजस्तै कार्यक्रमको उद्देश्य वास्तै नगरी पद र शक्तिको क्रममा राखेर सबैलाई सम्बोधन गर्ने चलन छ । धेरैजसो परिस्थितिमा वरीयताक्रम कायम गर्न खोज्दा, ठूलो मानिसलाई खुसी पार्न लाग्दा, अर्थ लागे पनि नलागे पनि गरिने सम्बोधन आवश्यक देखिएको हो ।

त्यस्तै, कार्यक्रमसँग सम्बन्धित निकायका प्रमुखलाई बोलाइएको छ भने ती ‘घरभित्रका’ मानिसलाई संयोजकले सम्बोधन गरेर समय बिताउनु हुँदैन । बरु उनलाई जे काममा बोलाइएको हो त्यो तुरुन्तै जिम्मा दिनुपर्छ । सबैलाई स्वागत भन्न बोलाइएको हो भने त्यो कामको पालो आउनासाथ, उल्टै उनलाई लमतन्ने सम्बोधन नगरी, एकै वाक्यमा त्यो जिम्मा दिनु प्रभावकारी हुन्छ ।

कसैलाई अर्थपूर्ण रूपमा बोलाउनु भनेको कुनै काम परेर गुहार्नु हो । अनर्थमा थापना बनाउन बोलाएर उनको समय बर्बाद गरिदिनु हुँदैन । ‘तपाईं ठूलो मान्छे हुनुहुन्छ, आइदिनुस्, हामी तपाईंलाई देखाएर, जे भए पनि बोलेको सुनेर मक्ख पर्छौं’ भने जस्तो देखिनु हुँदैन । खान बोलाएकालाई राम्रो खुवाए जस्तै, नाच्न बोलाएकालाई नाच्न दिइहाल्नुपर्छ । खान बोलाएर भाषण दिनु हुँदैन, त्यो अनुत्पादक र अपमानजनक हुन्छ ।

कार्यक्रम तालिम हो भने अतिथिलाई अन्तमा बोलाएको राम्रो हुन्छ । कार्यक्रम मैजारो हो भने बढाइँमा आधा समय बिताए पनि राम्रै देखिएला, तर त्यसमा समेत विषयको गुदोलाई अगाडि ल्याउने र सकेजति धेरै बनाउने गर्‍यो भने स्रोता र अतिथिलाई समयको लाभ हुन्छ, सम्मान हुन्छ । भूमण्डलीकरणको यो समयमा कुनै पनि समाज वा समुदायले भन्नै नपर्ने कुरा भनेर जति समय खेर फाल्छ त्यो, त्यति नै पङ्गु देखिन्छ । सम्बोधनबाट बिरालो बाँध्ने तत्त्व हटाएर त्यसको अर्थपूर्ण प्रयोग सुरु गर्ने हो भने धेरै समस्या हट्दै जान्छन् । जे खास काम हो त्यसमै अधिकतम समय खर्चिनुपर्छ । सम्बोधनका कुरूप काइदाहरूलाई ‘किन’ भनेर एउटा प्रश्न सोध्नेबित्तिकै यिनलाई समेट्ने/समेट्ने, कति समेट्ने र कसरी समेट्ने भन्ने निर्धारण गर्न सजिलो हुन्छ ।

सम्बोधन कति

सामान्य रूपमा सामाजिक र पेसागत अर्थमा अनुत्पादक काम जति कम गर्‍यो समाजलाई त्यति हित हुन्छ । जस्तो कि, औपचारिकताबाट सम्बन्ध स्थापित गर्न मिल्ला, समुदाय दह्रो बनाउन मिल्ला र मान्छे चिनिन मिल्ला, तर गुदो नै नभएका खोक्रा क्रियाकलापले ती उद्देश्यलाई आखिर क्षीण बनाउँछन् । अनर्थपूर्ण कामलाई जति मिलाएर प्रस्तुत गरे पनि कुरा बुझ्नेका लागि ती काम विसंगत वा बेइमान देखिन्छन् ।

सम्बोधन कति अनर्थ छ भन्ने कुरा धेरै ठाउँमा देखिन्छ पनि, तर कसैले केही नभनिदिँदा त्यो खोक्रो संस्कार कायम रहन्छ । जस्तो कि, मूल उद्देश्यमा जानुअघि आएजति ठूलाबडा धेरै वा सबैलाई बोल्ने ‘पालो’ दिएर समय खर्चिइन्छ । तर त्यो गरिरहँदा बोलिदिनेहरूले धेरै अप्ठ्यारो मान्दै गएको पनि देखिन्छ । बोलिदिनै परेर बोलिदिए जस्तो देखिन्छ । कार्यक्रमको सार र उद्देश्य के हो, के बोल्ने, कति बोल्ने भन्ने तयारी सहयोग नगरेका ठाउँमा त औपचारिकता निभाउने जिम्मा दिइएका मानिसलाई आपत् नै परेको पनि देखिन्छ । यी सबै तत्त्वले सम्बोधन कति गर्ने भन्ने कुरालाई स्वतन्त्र भएर सोच्न दिँदैनन् । ती तत्त्वलाई सम्बोधन गर्नुपर्ने देखिन्छ ।

कतिपय ठाउँमा एक घण्टाको कार्यक्रमलाई दुई घण्टा लगाएको देखिन्छ । अर्को अर्थमा दुई घण्टाको कार्यक्रम गरेजस्तो देखाए पनि खास एक घण्टा खेर फालिएको हुन्छ । पहिला त कार्यक्रम समयमा सुरु गरिँदैन । खासगरी प्रमुख अतिथि आइपुग्दा थुप्रै समय खेर गइसकेको हुन्छ, तिनलाई पर्खिने अर्को रोगले हामीलाई छाडेको छैन । प्रमुख अतिथिलगायत सबैलाई एकजनाले मात्र होइन, संयोजक, उद्घࣺोषक, पालो पुर्‍याएर बोल्न दिइने ठूला मानिस सबै र फेरि प्रमुख अतिथि स्वयम्ले सबैलाई सम्बोधन गरिसक्दा समयको अर्को ठूलो हिस्सा सकिन्छ । त्यसैले औपचारिकतामा कुल समय कति दिने भन्ने कुरा संयोजकले निर्धारण गरेर अरूलाई यति समय लिएर बोल्नुहोला भन्नुपर्छ ।

सम्बोधन लगायतका औपचारिकतामा कति समय खर्चिने भन्ने कुरा पनि शक्ति, डर, असमानता र लोभलालचका खेलमा अडिएको हुन्छ । ती कुरामा समय खर्चिनुलाई लज्जा र पेसाको सम्मान, अरूको समयको कदर र गलत कामको विरोध गरेर अरूलाई बाटो देखाउने साहस अपनाइयो भने कति समय खर्चिने भन्ने कुरा अर्थपूर्ण ढङ्गले निर्धारण गर्न सकिन्छ ।

सम्बोधन कसरी घटाउने

हुन त सम्बोधन लगायतका औपचारिकताहरू घटाउनुपर्छ भनेर धेरैले भनेको पाइन्छ । तर व्यवहारमा चाहिँ बढ्दै गएको पनि देखिन्छ । यसको अर्थ लोकलाजका कारण यस्तो भइरहेको छ भनेर बुझ्न सकिन्छ । धेरैले छोटो बोल्छु भनेर रीत पुर्‍याउन खोज्दा वा के भन्ने भनेर कुरा खोज्दा समय खर्चिएको देखिन्छ । त्यस्तै, सम्बोधन जति लामो गरे पनि कसैको नाम छुटेमा माफी मागेको पनि कति ठाउँमा देखिन्छ । यो गर्नुले सम्बोधन गर्न नचाहेर पनि गरिन्छ भन्ने संकेत गर्छ । सम्बोधन डरले गरिन्छ, अपेक्षा पूरा गर्न गरिन्छ जस्तो लाग्छ । यदि त्यसो हो भने पहिलो कदम, हामी जसले बोल्न डराउँदैनौं, लजाउँदैनौं, ती मानिसहरूले यस विषयमा बोल्न थाल्नुपर्छ । यो ठीक छैन भन्ने थाहा छ भने त्यो अब बढ्दो संख्याले भन्न थाल्नुपर्‍यो, थोरैले भए पनि घटाउन सुरु गर्नुपर्‍यो, कसैले गाली खानुपर्‍यो, गरेर देखाउनुपर्‍यो । यी सबै गर्दै जाँदा यो समस्याका व्यावहारिक समाधानहरू अपनाउन सजिलो हुँदै जान्छ ।

दोस्रो, कार्यक्रम संयोजकले ‘मैले सबैलाई एकैमुष्ट अभिनन्दन गरें’ भनेर कार्यक्रम सुरु गर्न सक्छन् । सकिन्छ भने ‘मैले कसैलाई अपमान गर्न होइन, बरु समय बचाएर वक्ता, स्रोता र अतिथिहरूलाई सम्मान गर्न यसो गरेको हुँ’ भनेर व्याख्यासमेत गर्न सक्छन् । ‘यो कार्यक्रममा सम्बोधन गरेर समय खर्चिन उचित नहुने हुनाले हामी त्यहाँ नजाऔं’ भनेर भन्न सक्ने कसैले त्यो भनिदिनुले पनि सबैलाई सजिलो बनाउँछ ।

त्यस्तै, कति, कसले, कसरी र किन गर्ने भन्नेबारे सन्दर्भ अनुसारका उपायहरू अपनाउँदै जान सकिन्छ । जस्तो– ‘कार्यक्रमको मूल खण्डमा पुग्न औपचारिक कार्यक्रम भए २५ प्रतिशत र अनौपचारिक भए ५ प्रतिशतभन्दा बढी समय सम्बोधन लगायतका सबै औपचारिकतामा हामी खर्च गर्दैनौं’ भनेर कार्यक्रम सुरु गर्ने हो भने आफू र अरूलाई नियममा बाँध्न सजिलो हुन्छ ।

चौथो, सम्बोधन र सम्मान चाहिने ठाउँमा अहिलेको प्रविधि प्रयोग गरेर समय बचाउन सकिन्छ । जस्तो नाम पढेर सुनाउनुको सट्टा स्क्रिनमा ‘धन्यवादका पात्रहरू’ भनेर नाम समेट्दै ‘यहाँ नाम देख्नुभएका सबै महानुभावहरूलाई हामी धन्यवाद टक्य्राउन चाहन्छौं’ भन्न सकिन्छ । सबै कुरा बोलेर सक्नुपर्ने चलन रेडियोमा उचित होला, टेलिभिजन हुँदै पावरपोइन्ट र जुमको जामानामा बिग्रिएको रेडियो जस्तो हुनु उचित छैन ।

पाँचौं, आफू बोल्नुअघि अरू कसैले सम्बोधन गरिसकेका मानिसलाई सम्बोधन गर्दा चाकडीबाहेक अरू तार्किक उद्देश्य पूरा हुँदैन । सम्बोधनले उपस्थितिलाई संकेत गर्न खोजेको हो भने सबैले सबैलाई रोल कल गर्नु अर्थ हुँदैन । सम्मान गरेको हो भने त्यसरी पालैपालो खेलिने आपसी सम्मानको खेलले कामको समय घटाउनु झन् नराम्रो हुन्छ । बोल्ने सबैलाई सम्बोधन नदोहोर्‍याउन अनुरोध मात्र गर्ने हो भने पनि यसले कताकता थोरै समय लिन सक्छ ।

औपचारिकता पटक्कै नगर्ने भन्ने होइन, कति गर्ने भन्ने हो । तर सम्बोधनको ठोस उद्देश्य नभएका ठाउँमा त्यसलाई २–३ मिनेटमा सक्नुपर्छ । यसरी व्यावहारिक बन्न खोज्दा शिष्टाचारको विरोध गरेजस्तो सुनिन सक्छ, आफूभन्दा माथिका मान्यगन्यले अपमानित महसुस गर्न सक्छन्, कतिसँग सम्बन्ध बिग्रिन सक्छ । तर अप्ठ्यारो लागे पनि यो विषयमा सामाजिक बहस सुरु गर्नुपर्छ, सबैले थोरै जोखिम उठाउनुपर्छ । र, त्यो सबै क्षेत्रको पनि दायित्व हो ।

कार्यक्रम संयोजकले ‘हाम्रो निम्तो स्विकारेर यो कार्यक्रममा आइदिनुभएका हाम्रा प्रमुख अतिथिज्यूलाई म ५ मिनेट नबढाई सबैलाई स्वागत गर्न र यो कार्यक्रमको उद्देश्यलाई छोटकरीमा प्रकाश पारिदिनुहुन अनुरोध गर्न चाहन्छु, त्यसपछि हामी आजको कार्यक्रममा जान्छौं’ मात्र भनेर सुरु गर्ने हो भने जुन कामका लागि मानिस जम्मा भएका छन् त्यही काममा समयको लागानी हुन्छ । सबैको सम्मान हुन्छ ।

संसारका अगाडि हामी मात्र अनर्थका काम गरेर बसिरहनु, उल्टै त्यो बढाउँदै जानु दुःखद् कुरा हो । समाजलाई उल्टो बाटोबाट सुल्टोमा लैजान किन र कति सम्बोधन गर्ने र त्यसलाई कसरी छाँट्ने भनेर सबैले सोच्नु र सकेको गर्नु आवश्यक छ ।

शर्मा स्टेट युनिभर्सिटी अफ न्युयोर्कअन्तर्गत स्टोनी ब्रुक युनिभर्सिटीमा अध्यापन गर्छन् ।

प्रकाशित : वैशाख ३०, २०८० १४:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?