३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४५९

चीन भ्रमणको केही परिणाम तुरुन्तै निस्कन्छन् : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौँ — उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ नौदिने चीन भ्रमण सकेर सोमबार बिहान स्वदेश फर्किएका छन् । परराष्ट्रमन्त्री श्रेष्ठको भ्रमण कूटनीति, राजनीतिक र धार्मिक रूपमा बढी चर्चामा रह्यो ।

चीन भ्रमणको केही परिणाम तुरुन्तै निस्कन्छन् : परराष्ट्रमन्त्री श्रेष्ठ

तर चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणमा राजधानी बेइजिङसँगै अन्य थप तीन सहर भ्रमण गरेका उपप्रधानमन्त्री श्रेष्ठको यात्रा अर्थपूर्ण देखिन्छ ।

यसै सन्दर्भमा कान्तिपुरका लागि जगदीश्वर पाण्डेले परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग गरेको कुराकानी :

तपाईंको भ्रमणको समीक्षा कसरी गर्नुहुन्छ ?

यो भ्रमण सद्भावनाको भए पनि नेपाल र चीनबीच मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ गर्नेबारेमा केन्द्रित भयो । नेपाल र चीनका पारम्परिक लाभको बारेमा छलफल गरें । नेपालले तीव्र रूपमा अघि बढेको चीनको विकासबाट कसरी लाभ लिन सक्छ भन्ने बारेमा छलफल गरेर आएँ । नेपालमा आर्थिक लगानी, व्यापार, प्रवर्द्धन, पर्यटन र प्रविधि हस्तान्तरणको तर्फबाट धेरै गम्भीर रूपमा सकारात्मक छलफल भएका छन् । भ्रमणको केही तुरुन्तै र थप केही समयपछि परिणाम निस्कन्छन् ।

भ्रमणका दौरान बेइजिङमा चाइनिज पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्सका अध्यक्ष तथा राजनीतिक ब्युरोका स्थायी समिति सदस्य वाङ हुनिङसँग भेटवार्ता गर्नुभयो । उक्त भेटवार्तामा के कुराकानी भयो ?

मुख्य त नेपाल र चीनको सम्बन्धबीचको सम्बन्धका विविध आयामका बारेमा छलफल भयो । परस्पर र असल मैत्रीपूर्ण सम्बन्धले नेपाल र चीनको विकासका लागि पनि योगदान पुर्‍याउँछ भन्ने विषयमा छलफल केन्द्रित रह्यो ।

चिनियाँ विदेशमन्त्री वाङ यीसँगको वार्तामा बीआरआई कार्यान्वयन योजना सम्बन्धमा केकस्ता कुराकानी भयो ?

हामीले सन् २०१७ मै बीआरआईको समझदारी पत्रमा सम्झौता गर्‍यौं । त्यसपछि दोस्रो चरणमा बीआरआई कार्यान्वयन योजनाका लागि गृहकार्य भइराखेको छ । यस पटक उहाँसँगको द्विपक्षीय वार्तामा पनि त्यसबारेमा छलफल भएको थियो । त्यसबारेमा हामी सकारात्मक छौं । अहिले भइरहेको छलफललाई छिटै अन्तिम टुंगो लगाउने सहमति भएको छ । कार्यान्वयन योजनाको काम सकिएपछि नेपालको हित अनुकूल परियोजना छनोट गर्ने हो । अनि त्यतिबेला ऋण वा अनुदानको विषयमा पनि छलफल हुनेछ

नेपालले बेइजिङमा नेपाल–चीन परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोगको प्रस्ताव गर्‍यो । यो किन आवश्यक पर्‍यो ?

अहिले सचिवस्तरीय संयुक्त आयोग छ । हाम्रो छिमेकीहरूसँगको सम्बन्ध असाध्यै राम्रो छ र थप राम्रो बनाउनुपर्ने पनि हो । त्यसले गर्दा राजनीतिक स्तरमै छलफल भयो भने उपयुक्त हुन्छ भन्ने हो र त्यसमा चाहिँ हामी दुई पक्षबीचको छलफल सकारात्मक रूपमा अघि बढेको छ ।

भ्रमणका दौरान तपाईं बेइजिङपछि छोङछिङ, तिब्बत र सिचुवान जानुभयो । यी तीन क्षेत्र नै जानुको मुख्य कारण चाहिँ के हो ?

यी तीन क्षेत्रबाट नेपालसँग आर्थिक विकास करिडोर अघि बढाउने भन्ने हो । तिब्बत, सिचुवान र छोङछिङसँग जोडिएर नेपालको आर्थिक विकास गर्नुपर्छ । यस विषयमा मैले गम्भीर रूपमा मिहिनेत गरेको छु । यी सधैं स्थानमा भ्रमण गर्दा त्यहाँका उच्चतहका प्रतिनिधिहरूसँग विस्तृत कुराकानी गरेको छु । नेपाल–चीन आर्थिक विकास करिडोरका रूपमा नेपालसँग तिब्बत, सिचुवान र छोङछिङलाई जोडेर विकास गर्ने कुरा भएको छ ।

प्रकाशित : चैत्र २०, २०८० १२:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?