२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५५

रुसी सेनामा रहेका नेपाली फिर्ता ल्याउन प्रयत्न गरिरहेका छौं : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौँ — रुसी सेनामा भर्ती भएका नेपालीहरूको अवस्थाबारे बुझ्नका लागि नेपालले गरिरहेको लगातारको प्रयासपछि गत बिहीबार रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभ र उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठबीच टेलिफोन कुराकानी भएको थियो । कुराकानीमा रुसी सेनामा भर्ती भएका नेपालीहरूको संख्या, लडाइँका क्रममा मारिएकाको शव नेपाल ल्याइदिन, क्षतिपूर्ति दिन र नेपालीलाई रुसी सेनामा भर्ती नलिन तथा भर्ती भएकालाई फिर्ता पठाइदिन नेपालका तर्फबाट परराष्ट्रमन्त्री श्रेष्ठले आग्रह गरेका थिए । 

रुसी सेनामा रहेका नेपाली फिर्ता ल्याउन प्रयत्न गरिरहेका छौं : परराष्ट्रमन्त्री श्रेष्ठ

तर रुसी विदेशमन्त्रीले युद्धका क्रममा मारिएकाका परिवारलाई क्षतिपूर्ति दिन रुस तयार भए पनि अन्य विषयमा भने चर्चा गर्न नचाहेको बुझिएको छ । यसै सन्दर्भमा कान्तिपुरले नवनियुक्त परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग गरेको संक्षिप्त कुराकानी :

रुसी सेनामा रहेका नेपालीलाई उद्धार गर्न सरकारले के गरिरहेको छ ?

नेपालीको उद्धारका निम्ति जे गर्नुपर्छ, ती सबै वैध प्रक्रिया अगाडि बढाइरहेका छौं ।

नेपाल सरकारले केही गर्न नसकेको गुनासो सुनाउँदै रुसी सेनामा रहेका नेपालीले भारत सरकारसँग उद्धारको आग्रह गरिरहेको भिडियो आइतबार सामाजिक सञ्जालमा सार्वजनिक भयो । के नेपाल सरकार आफ्ना नागरिक ल्याउन अक्षम भएको हो ?

हामी आफ्नै पहलकदमीमा आफ्ना नागरिकको उद्धारका निम्ति प्रयत्न गरिरहेका छौं ।

गत बिहीबार रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँग टेलिफोनमा संवाद गर्नुभयो, तपाईंले के भन्नुभयो ?

रुसी सेनामा रहेका नेपालीहरूका बारेमा कुरा भयो । कतिले ज्यान नै गुमाइसकेका छन् । हामीलाई शव छिटो चाहियो, तपाईंहरूले नेपालमा ल्याइदिनुपर्छ र क्षतिपूर्ति पनि दिनुपर्छ भन्यौं । नेपालको नीतिबारे पनि जानकारी दियौं । नेपालीलाई हाम्रो पारम्परिक रूपमा सम्झौता भएका मुलुकहरूबाहेक अन्य कुनै पनि देशको सेनामा भर्ना हुने अनुमति छैन भन्ने बतायौं । नेपाल र रुसबीचको पुरानो मित्रतालाई पनि ध्यान दिएर विचार गरिदिन अनुरोध गर्‍यौं ।

रुसी सेनामा अहिले काम गरिरहेका नेपालीहरूको सम्बन्धमा के भन्नुभयो ?

उनीहरूसँग भएका सम्झौता रद्द गरेर फिर्ता पठाइदिन आग्रह गरेका छौं ।

रुसी सेनामा कति संख्यामा नेपाली रहेछन् भन्ने तथ्यांक प्राप्त भयो ?

हामीले रुसी विदेशमन्त्रीलाई त्यहाँ रहेका नेपालीको संख्या र अवस्थाबारे जानकारी दिन भनेका थियौं । तर विदेशमन्त्रीले क्षतिपूर्ति दिनेबाहेक अन्य थप कुरा गर्नुभएन । उहाँले क्षतिपूर्तिको प्रक्रिया अगाडि बढेको बताउनुभयो । अरू विषयमा सम्बन्धित अधिकारीहरूले नियमित कुराकानी गर्ने जानकारी गराए ।

युक्रेनी सेनाले बन्दी बनाएका नेपालीहरूका बारेमा रुसले के भन्यो ?

रुसको पक्षमा युद्धमा भाग लिन जाँदा युक्रेनी सेनाले नेपालीहरू बन्दी बनाएर राखेकोबारे रुसलाई भनेका छौं । उनीहरूलाई छुटाउन पहल गरिदिन पनि रुसलाई आग्रह गरेका छौं ।

प्रकाशित : फाल्गुन २९, २०८० ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लगानी सम्मेलन-२०२४ मा सरकारले 'सोकेस' मा राखेका परियोजनाहरूको सूची कस्तो लाग्यो ?