कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८६

तालाबन्दीले पाटन र अस्कल क्याम्पसमा पढाइ प्रभावित

सुदीप कैनी

काठमाडौँ — सत्तारूढ माओवादी, एकीकृत समाजवादी र कांग्रेससम्बद्ध विद्यार्थी संगठनले पाटन संयुक्त क्याम्पसमा ३५ दिनदेखि तालाबन्दी गरेका छन् । एमालेनिकट अनेरास्ववियुले पनि अस्कल (अमृत) क्याम्पस लैनचौरमा तालाबन्दी गरेको १३ दिन पुगेको छ । तालाबन्दीले दुवै क्याम्पसको शैक्षिक कार्यक्रम प्रभावित बनेको छ ।

तालाबन्दीले पाटन र अस्कल क्याम्पसमा पढाइ प्रभावित

पाटन क्याम्पसमा नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियु (समाजवादी) ले क्याम्पस प्रमुख लक्ष्मण सिंह कुँवरलाई प्रवेशमा समेत रोक लगाएका छन् ।

विद्यार्थी संगठनले कम्प्युटर उपलब्ध गराउन, पुस्तकालयमा पुस्तक, चमेना गृह र खानेपानीको व्यवस्था गर्न माग राख्दै संयुक्त रूपमा तालाबन्दी गरेका हुन् । परीक्षा सञ्चालनको समयमा तालाबन्दी हुँदा असहज भएको क्याम्पसहरूले जनाएका छन् ।

पाटन क्याम्पस प्राध्यापक संघले तालाबन्दीको कारण नेपाली, अंग्रेजी, भूगोल, राजनीतिकशास्त्र, इतिहास, बौद्ध अध्ययन, नेपाल भाषा र गृह विज्ञान विभागको शैक्षिक प्रशासनको काम हुन नसकेको बताएको छ । संघका सभापति रामबहादुर केसीले विभागीय प्रमुखहरू आफ्नो कार्यकक्षमा समेत जान नपाएको बताए । संघले आइतबारसम्म पनि असहज रहे प्राध्यापकहरू पनि ३ दिनसम्म कक्षा सञ्चालनमा सहभागी नहुने चेतावनी दिएको छ ।

पाटन क्याम्पसका एक अध्यापकले बाहिरी रूपमा शैक्षिक माग राखे पनि भित्री रूपमा करारका कर्मचारी नियुक्तिमा भाग खोज्दै विद्यार्थी संगठनले तालाबन्दी गरेको बताए । ‘कम्प्युटरका लागि टेन्डर भइसकेको छ । क्यान्टिन सञ्चालन गर्न पत्रिकामा सूचना निस्केको छ । पुस्तकालयमा पुस्तक पनि आएका छन् । खानेपानीको प्रबन्ध हुँदै छ,’ उनले भने, ‘करार कर्मचारी नियुक्तिका लागि विज्ञापन निस्केपछि अनावश्यक माग राखेर तालाबन्दी गरेका हुन् ।’

गैरशैक्षिक माग राखेर तालाबन्दी भएपछि पाटन क्याम्पसका विद्यार्थी संगठनहरू विभाजित बनेका छन् । नेविसंघका अध्यक्ष तारा शर्मा, अखिल क्रान्तिकारीका अध्यक्ष वीरेन्द्र मगर र अनेरास्ववियु समाजवादीका अध्यक्ष प्रेम बुढाले तालाबन्दी गरेका हुन् । एमालेनिकट अनेरास्ववियुलगायत ४ विद्यार्थी संठगनले भने तालाबन्दी खोलेर छलफलबाट समस्या समाधान गर्न माग राखेका छन् ।

क्याम्पस प्रमुख कुँवरले तालाबन्दीका कारण १० दिनदेखि क्याम्पस छिर्नसमेत नपाएको बताए । ‘वार्तामा बस्दा पनि टुंगो लागेको छैन । विद्यार्थीको माग पूरा गरिसकिएको छ । तर पनि ताला खुलेको छैन । किन खुलेन मैले पनि बुझ्न सकेको छैन,’ उनले भने । नियमित विद्यार्थीभन्दा पनि पुराना विद्यार्थीले माग राखेर तालाबन्दी गरेको कुँवरले जनाए ।

अस्कल क्याम्पसमा अनेरास्ववियुले चैत २५ देखि तालाबन्दी गरेको छ । क्याम्पस प्रमुख लोकबहादुर बरालले विद्यार्थीलाई वार्तामा आउन आग्रह गर्दै अपिल जारी गरेका छन् । गैरशैक्षिक माग राखी तालाबन्दी गरेको भन्दै अस्कलका विद्यार्थी पनि विभाजित भएका छन् । स्ववियु सभापति प्रेम जैसीले गैरशैक्षिक माग राखी तालाबन्दी गरेकाले खोल्नुपर्ने बताए । अखिल क्रान्तिकारी र नेविसंघ अस्कल पनि तालाबन्दीको विपक्षमा छन् ।

विद्यार्थीमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका गैरविद्यार्थीलाई भर्ना गर्न दबाब दिँदै तालाबन्दी गरेको क्याम्पसले जनाएको छ । प्रहरीले क्याम्पस हाताभित्रै कुटपिटमा संलग्न गणेश शाहीलाई प्रक्राउ गरी हिरासतमा राखेको छ । एक अध्यापकका अनुसार अनेरास्ववियुले उनलाई भर्ना गर्नुपर्ने दबाब दिएको छ भने क्याम्पस प्रशासनले नगर्ने अडान लिएको छ ।

क्याम्पस प्रशासन, आर्थिक, परीक्षा शाखा र सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी हुँदा शैक्षिक र प्रशासनिक काममा बाधा पुगेको प्रमुख बरालले बताए । अनेरास्ववियुका केन्द्रीय सदस्य रुद्रहरि पोखरेलले भर्ना हुन चाहेका विद्यार्थीलाई भर्ना नगरेका कारण बाध्य भएर तालाबन्दी गरेको बताए । ‘अनेरास्ववियु केन्द्रले क्याम्पसमा तालाबन्दी नगर्न निर्देशन दिएको छ तर क्याम्पस प्रमुखले वार्ता नचाहेकाले ताला लगाएका हौं,’ उनले भने ।

प्रकाशित : वैशाख ९, २०८१ ०६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?