रोल्पा र दाङको सीमाना कुर्जामा प्रहरी चौकी स्थापना
रोल्पा — रोल्पाको दक्षिणी भेगको रुन्टीगढी गाउँपालिकाको झेनाम र दाङको तुलसीपुर उपमहाननगरको सीमामा पर्ने रोल्पाको कुर्जा गाउँमा प्रहरी चौकी स्थापना गरिएको छ । पहिलोपटक चौकी स्थापना भएपछि दुवै जिल्लाको सुरक्षामा सकारात्मक प्रभाव पर्ने ठानिएको छ ।
अघिल्लो साता कुर्जामै पुगेर प्रजिअ खिमबहादुर रायमाझीले चौकी स्थापना गरेको घोषणा गरेका थिए । कुर्जा गाउँ दक्षिण रोल्पाको रुन्टीगढी गाउँपालिक–८ स्थित झेनाममा पर्छ । प्रहरी चौकीमा अधिकृतको नेतृत्वमा आधा दर्जन प्रहरी कार्यरत हुनेछन् । प्रहरी चौकी हाल अस्थायी रहनेछ ।
कुर्जा हुँदै दाङको बिजौरीदेखि रोल्पाको होलेरीसम्म सडक सञ्जाल समेत जोडिएको छ । प्रहरी चौकी स्थापना भएपछि जिल्ला सुरक्षा समितिको गतिविधि र योजना थप प्रभावकारी हुने अपेक्षा गरिएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा हुने सुरक्षा चुनौतीलाई शीघ्र सम्बोधन गर्न सकिने जिल्ला सुरक्षा समितिले निष्कर्ष निकालेको छ ।
चौकी निर्माण गरिएपछि जनताले सुरक्षित महसुस गरेको रुन्टीगढी गाउँपालिकाका अध्यक्ष जनक पुनले बताए । उनले धेरै पटक प्रयास गरेपछि मात्रै प्रहरी चौकी स्थापना गर्न सकिएको बताए । चौकी स्थापना गर्न गाउँपालिकाको कार्यपालिका बैठकबाटै सरकारसँग माग समेत गरिएको थियो ।
प्रहरी चौकी स्थापना गरेपछि जनताबाट धन्यवाद प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रामनारायण गुप्ताले बताए ।
प्रकाशित : वैशाख २३, २०८१ १९:११