२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४३

बन्द भयो बेनीको समता स्कुल 

घनश्याम खड्का

म्याग्दी — सस्तो शिक्षा दिने भनी खुलेको उत्तम सन्जेल नेतृत्वको ‘समता शिक्षा निकेतन’ले शिक्षकहरुको तलब र जग्गाको भाडा समेत तिर्न नसकेपछि बेनीमा संञ्चालित समता विद्यालय बन्द भएको छ । बेनी नगरपालिका, ८ अस्पतालमार्गमा स्थानीय अमित श्रेष्ठको जग्गा भाडामा लिएर चलेको विद्यालय चालु शैक्षिक सत्रदेखि बन्द भएको हो ।

बन्द भयो बेनीको समता स्कुल 

विद्यालय संञ्चालन गरेको मुल संस्था ‘समता शिक्षा निकेतन’ले शिक्षकहरुको तलब दिएको छैन । ‘समता स्कुल बन्द भएपछि हाम्रा छोराछोरी अलपत्र परे । बोर्डिङ स्कुलमै लैजानु त सुरु देखि लैजानु पाएको भए साथीभाइसँग घुलमिल हुन्थ्यो । अहिले यता न उताको बने, नानीबावुलाई नयाँ स्कुलमा घुलमिल हुन समस्या भएको छ’ बेनी क्याम्पसचोकका कृष्णा थापाको बाबा (नाम खुलाउन मानेनन्)ले भने, ‘शुलभ मुल्यको राम्रो शिक्षा भने पनि शुल्क भने महंगो नै तिर्नुपर्थ्यो ।’

वषौंदेखि गरिव तथा अति विपन्न बर्गका विद्यार्थीबाट मासिक उठाएको शुल्कबाट स्वंयमसेवी (मासिक ५ हजार, अति न्यून पारिश्रमिक) लिएर शिक्षण गरेका शिक्षिकाहरुले अव थेग्न नसक्ने भन्दै विद्यालय बन्द गरेका हुन् । विद्यालय बन्द मात्र भएको छैन, बाँसका खपेटाको कलात्मक भवन भत्केर भताभुङ्ग बनेको छ ।

बाँसका खपेटा झिकेर वरपरका बालबालिकाहरु विद्यालयमा लुकामारी खेल्ने, फुटवल खेल्ने गर्ने तथा डेस्कबेन्च भाँचेर लथालिङ्ग बनाएका छन् ।

‘केन्द्रलेले तलव पठाउँदैनथ्यो । जग्गाधनी आएर पनि धेरै किचकिच गरे । विद्यार्थीबाट जति शुल्क उठ्छ, बाँडीचुडी लिएर विद्यालय चलाएका थियौं । अति गाहृो भएपछि चालु शैक्षिक सत्रबाट विद्यार्थी विदाई गर्‍यौ, विद्यालय बन्द गरेका छौं’ समता स्कुल बेनीकी प्रिन्सिपल पुजा बगालेले भनिन्, ‘विद्यालय बन्द गर्नु अघि उत्तम संञ्जल र गण्डकी प्रदेश हेर्ने झलक शर्मालाई पटक–पटक समस्या राख्यौं, वास्तै गर्नु भएन । स्थानीय सरकार भनेर बेनी नगरपालिका र वडा कार्यालयमा पनि सहयोग याचना गर्‍यौं । कतैबाट पनि सहयोग नजुटेपछि जग्गा भाडा तिर्ने र स्कुल चलाउने अवस्थै रहेन ।’

प्रिन्सिपल बगालेले थपिन्, ‘अझै केही उपाय लाग्छ कि भनेर नगरपालिकालाई विद्यालय बन्द गरिएको औपचारिक जानकारी दिएका छैनौं । उत्तम संञ्जेल र झलक सरलाई विद्यालय बन्द गरेको जानकारी दिएका छौं, यो हप्ताभरी कुनै प्रतिक्रिया नआए नगरपालिकालाई पत्र पठाएर विद्यालय बन्द गरेको औपचारिक जानकारी दिन्छौं ।’

विस २०७३ सालमा खुलेको समता विद्यालय बेनीमा कक्षा नर्सरी देखि ५ कक्षा सम्म ४८ जना विद्यार्थी अध्ययनरत थिए । ५ जना शिक्षिकाहरु कार्यरत थिए । कक्षा नर्सरी, एलकेजी र युकेजीमा अध्ययनरत विद्यार्थीबाट मासिक एक हजार र कक्षा १–५ सम्मका विद्यार्थीबाट मासिक १२ सय रुपैयाँ लिने गरेको थियो । तिम ध्य ५ जना अति विपन्न बर्गका विद्यार्थी भएकोले निःशुल्क पढाउने ब्यवस्था गरेका शिक्षिकाहरुले बताए ।

विद्यालयले शिक्षिकाहरुको तवल तथा विद्यालय संञ्चालन खर्च मात्र नदिएको हैन तीन वर्षदेखि ९ लाख रुपैयाँबढीे जग्गाको भाडा पनि तिरेको छैन । जग्गाधनीका अनुसार विद्यालय संञ्चालन गर्न जग्गा सम्झौता गरेका उत्तम संञ्जेल र झलक शर्मासमेतका समता शिक्षा निकेतनका मान्छेहरु सम्पर्कमा छैनन् । फोन पनि उठाउँदैनन् ।

‘सुरुमा तामझाम थियो । गरिवका छोराछोरीहरु सस्तो शुल्कमा राम्रो अंग्रेजी शिक्षा दिने रे भन्ने भएपछि प्रचलित बजार मुल्य भन्दा सस्तो मुल्यमा जग्गा भाडामा दिएका हौं । जग्गा सम्झौता गर्न समता शिक्षा निकेतनका अध्यक्ष उत्तम सञ्जेल आफैँ आएका थिए । सुरुका केही समय भाडा आयो तर पछिल्लो तीन वर्ष बढी भयो न भाडा न सम्पर्क भएको छ । ९ लाखबढी भाडा बक्यौता थुप्रेको छ,’ जग्गाधनी अमित श्रेष्ठले भने, ‘शिक्षिकाहरुले पनि अव चलाउन सक्दैनौं भनी बन्द गर्नु भएछ । अव के गर्ने कानुनी सल्लाह खोज्दैछु । जग्गामा बनेका बाँसका संरचना कतै प्रयोग पनि हुने अवस्थाका छैनन् ।’

प्रकाशित : वैशाख २३, २०८१ १९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?