१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

१०४ वर्षिया चेपाङ वृद्धालाई नागरिकता 

प्रताप विष्ट

राक्सिराङ, धुसैनी — कपाल सेतै फुलेको । दुवै आँखा नदेख्ने । कानै नजिक गएर कराएपछिमात्र सुन्ने । अर्काको सहारा विना भित्रबाहिरसम्म गर्न नसक्ने एक शताब्दी पार गरिसकेकी दुर्गम  गाउँकी एक वृद्धालाई मकवानपुरका प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाईले घरमै पुगेर नागरिकताको प्रमाणपत्र उपलब्ध गराएका छन् ।

१०४ वर्षिया चेपाङ वृद्धालाई नागरिकता 

राक्सिराङ गाउँपालिका-७ धुसैनीकी १०४ वर्षिया माजनीमाया चेपाङलाई प्रमुख जिल्ला अधिकारी सेढाईले शुक्रबार नागरिकताको प्रमाणपत्र दिएका हुन् । प्रजिअ सेढाईले हातमा प्रमाणपत्र थमाएपछि उनको अनुहारमा चमक आएको थियो ।

त्यतिनै बेला गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले अब वृद्धा भत्ता ४ हजार पाउनुहुन्छ भनेर उनको कानैमा गएर भने । त्यतिबेला उनको अनुहार हँसिलो देखियो । पालिकाकै सबैभन्दा धेरै उमेरकी वृद्धा उनी नागरिकता नभएकै कारण वर्षौदेखि राज्यका सुविधाबाट बञ्चित थिइन् । नागरिकता नभएपनि गाउँपालिकाले विगत एक वर्षदेखि उनलाई मासिक रुपमा २ हजार रुपैयाँ दिँदै आएको छ । माजनीलाई पालिकाको सबै भन्दा बढी उमेरको जेष्ठ नागरिकसमेत घोषणा गरेको छ ।

जेष्ठ नागरिक भएपनि अहिलेसम्म नागरिकताविहीन अवस्थामा थिइन् । नागरिकता वितरणको शिविर राक्सिराङको सिलिङेमा संचालन भएको अवस्थामा पनि उनी त्यहाँ पुग्न सकिनन् । उनको दुवै आँखाले विगत ७ वर्षदेखि देख्न छाडेको थियो । घर भित्र बाहिर गर्न पनि जेठी वुहारी आउसीमाया चेपाङले गराउँछिन् ।

आउसीमाया चेपाङ पनि ७० वर्ष पुगिसकेकी छिन् । तर उनको नागरिकता छ । उनले सिलिङेमा संचालन गरेको शिविरमा नागरिकता लिएकी हुन् । त्यतिवेला माजनीमायालाई शिविरसम्म बोकेर लैजाने मानिस नभएकाले नागरिकता लिनबाट बन्चित भएकी थिइन् ।

गाउँपालिकाको अनुरोधमा प्रजिअ सेढाई, कार्यालयका अधिकृत सहदेव आचार्य, जिल्ला प्रहरी कार्यालय हेटौँडाका प्रहरी उपरिक्षक सिताराम रिजाल, सशस्त्र प्रहरी कार्यालय हेटौंडाका प्रहरी उपरीक्षक ज्ञानप्रसाद भुर्तेल र सचांरकर्मीसहितको टोली नागरिकता दिन माजनीमायाको घर पुगेको थियो ।

प्रजिअको हातवाट नागरिकता लिनका लागि घर भित्र टुसुक्क वसिरहेकी माजनीमायालई नातिनी वुहारीले हात समातेर डोर्‍याउँदै घरको बरान्डामा ल्याइन् । गाउँपालिकाका अध्यक्ष मल्ल, वडाध्यक्ष रामबहादुर चेपाङ, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गड्तौलालगायत स्थानीयबासीको रोहबरमा प्रजिअ सेढाईले वृद्धा चेपाङलाई नागरिकताको प्रमाणपत्र हातमा थमाएका थिए ।

नागरिकताको प्रमाणपत्र हातमा थमाउँदै प्रजिअ सेढाईले असक्त वृद्धा आमालाई घरमै आएर नागरिकताको प्रमाणपत्र दिन पाउदा अत्यन्त खुशी लागेको बताए । १९७७ साल भदौ १२ गते जन्मेकी माजनीमायाको ११ वर्षमा विवाह भएको थियो । तर उनले छोराछोरी नै पाइनन् ।

उनले बच्चा नपाएपछि पति सारशी चेपाङले दोस्रो विवाह गरेका थिए । सौताको छोराको श्रीमती आउसी मायाले उनको स्याहार सुसार गर्दै आएकी छिन । माजनीमायाको पतिको निधनको भएको झण्डै ३० वर्ष वितिसकेको छ । अहिले राक्सिराङको दुर्गम बस्तीमा खाद्यान्न अभाव छ । जंगली कन्दमुल खाएर पेट भर्न उनीहरु बाध्य छन् ।

माजनीमायाको घरको कुनामा पनि गिठ्ठा र भ्याकुर खानका लागि राखिएको थियो । उक्त कन्दमुल आउसीमायो छोराहरुले जंगलमा खोजेर ल्याएका हुन । खाद्यान्नको अभाव भएका कारण ती वृद्धालाई गाउँपालिकाले एक बोरा चामल, नुन, तेल र दाल उपलब्ध गराएको थियो । चेपाङ वाहुल्य उक्त गाउँपालिकामा अझै २५ प्रतिशत भन्दावढी चेपाङहरु नागरिकताविहिन छन् ।

'नागरिकताविहिन चेपाङहरुलाई जिल्ला प्रशसन कार्यालयको टोली गाउँमै ल्याएर नागरिकता वितरण गर्नेबारे छलफल भइरहेको छ,' गाउँपालिका अध्यक्ष मल्लले भने ।

प्रकाशित : वैशाख १४, २०८१ १६:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?