३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

हेल्थ डेस्कका कर्मचारी ९ महिनादेखि तलबविहीन

हातमा कालोपट्टी बाँधेर काम गर्दै स्वास्थ्यकर्मी, जेठ १ देखि तालाबन्दी गर्ने चेतावनी
भवानी भट्ट

कञ्चनपुर — कोरोना संक्रमणका बेला सुदूरपश्चिमका नाकाहरुमा धमाधम हेल्थ डेस्क स्थापना भए । कर्मचारी पनि भर्ना गरिए । जोखिम मोलेर स्वास्थ्यकर्मीहरुले परीक्षण पनि गरे । अहिले पनि नाकामा कोरोना संक्रमणदेखि, मलेरिया, क्षयरोग र एचआईभीलगायतको परीक्षण भइरहेको छ । तर नाकामा जोखिम मोलेर काम गरिरहेका स्वास्थ्यकर्मीहरु भने ९ महिनादेखि तलबविहीन भएर काम गरिरहेका छन् ।

हेल्थ डेस्कका कर्मचारी ९ महिनादेखि तलबविहीन

सुदूरपश्चिमका ५ ठाउँमा कार्यरत २७ जना स्वास्थ्यकर्मीले ९ महिनादेखि तलब पाउन सकेका छैनन् । सुरुमा स्थानीय तहबाटै तलब बुझ्ने उनीहरुलाई पछिल्लो समय स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्रदेश स्वास्थ्य निर्देशनालयमार्फत तलब उपलब्ध गराउँदै आएको थियो ।

तर गत वर्ष साउनदेखि तलब नबुझेको स्वास्थ्यकर्मीहरु बताउँछन् । ‘हामीले जिल्ला प्रशासनदेखि प्रदेश स्वास्थ्य निर्देशनालय र स्वास्थ्य सेवा विभागमा पनि निवेदन दिएका छौं, तर अर्थ मन्त्रालयबाटै बजेट नछुट्याएका कारण तलब नआएको जानकारी आएको छ,’ गड्डाचौकीस्थित हेल्थ डेस्कका हेल्थ असिस्टेन्ट विशाल भट्टले भने, ‘अझै पनि हामीले पारिश्रमिक पाउने ठेगान छैन ।’

कञ्चनपुरको गड्डाचौकी, कैलालीको त्रिनगर र टीकापुर, बैतडीको जुलाघाट र दार्चुलाको पुलघाट गरी ५ वटा हेल्थ डेस्कमा कार्यरत २७ जनाले पारिश्रमिक नपाएका हुन् । उनीहरुले सोमबारदेखि कालोपट्टी बाँधेर काम गरिरहेका छन् । जेठ १ सम्म पनि पारिश्रमिक नपाइए हेल्थ डेस्कमा ताला लगाइने भट्टले बताए ।

कोरोना संक्रमण सुरु हुने बितिक्कै नाकामा हेल्थ डेस्क स्थापना गरिएको थियो । सुरुमा स्थानीय तहबाटै तलब उपलब्ध गराइएको थियो । त्यतिबेला पोशाक भत्ता दिए पनि जोखिम भत्ता भने दिइएको थिएन । दोस्रो वर्षदेखि ड्रेस भत्ता पनि कटौती भयो । गत वर्ष साउनमा तीन महिनाको नियुक्ति दिएर दुई महिनाको आधा तलब मात्रै दिएको भट्टले बताए । तर त्यसपछि भने आधा तलब पनि नआएको उनले बताए ।

‘अहिले आएर आधा तलब मात्रै पाइने भन्दैछन्, आधा तलबले हामीले कसरी काम गर्नु ?’ गड्डाचौकी हेल्थ डेस्ककी ल्याब टेक्निसियन लक्ष्मी रिमाल धामीले भनिन्, ‘प्रदेश र विभागका कर्मचारी समेत अर्थ मन्त्रालयमै कुरा गर्नुस भन्छन्, हामीले मन्त्रालयमै कुरा गर्नुपर्ने, बजेट आए सबैले आदेश दिन्छन् ।’

गड्डाचौकी हेल्थ डेस्कमा १२ जना स्वास्थ्यकर्मी कार्यरत छन् । जसमध्ये २ जना स्वास्थ्य निर्देशनालय र २ जना त्रिशूली प्लस नामक संस्थाबाट कार्यरत छन् । उनीहरुको मात्रै नियमित रुपमा पारिश्रमिक आइरहेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रणम महाशाखाको बजेट अन्तरगत भर्ना भएका अन्य ८ जनाको भने पारिश्रमिक आएको छैन ।

पछिल्लो समय गड्डाचौकी नाकामा कोरोना संक्रमण देखिएको छैन । तर मलेरिया, क्षयरोग र डेंगी भने देखिने गरेको छ । पछिल्लो समय डेंगीका बिरामी बढी संख्यामा देखिन थालेका छन् ।

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता हेमराज खड्काले संघीय सरकार अन्तरगतको कार्यक्रमबाट नियुक्त भएका हेल्थडेस्कमा कार्यरत स्वास्थ्यकर्मीका लागि यो वर्ष आवश्यक बजेट नआएकाले पारिश्रमिक उपलब्ध गराउन नसकिएको बताए । ‘विगतमा यसका लागि दुई करोड बजेट आउथ्यो, यो वर्ष १८ लाख मात्रै आएको छ,’ उनले भने ।

प्रकाशित : वैशाख २४, २०८१ २२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?