१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

लामिछानेको दोषीको झैं व्यवहार

पाठक पत्र

विभिन्न ठाउँका सहकारीमा सर्वसाधारणले जम्मा गरेको अर्बौं रकम अपचलन गरेको आरोप खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र उनी स्वयंको नजरमा निर्दोष छन् ।

लामिछानेको दोषीको झैं व्यवहार

उनी निर्दोष हुन् भने प्रतिपक्षले उठाएको मागप्रति किन यति धेरै त्रसित छन् ? कसैले गल्ती गरेकै छैन भने ऊ जस्तोसुकै शक्तिशाली चीज आफ्नो अगाडि खडा होस्, किञ्चित हार खाँदैन ।

आफू निर्दोष छु भन्नेमा ढुक्क छ भने उसले आफूलाई आक्रमण गर्न आउनेलाई परास्त गरेर आफ्नो शिर ठाडो बनाएर सबैसामु प्रफुल्लित भएर बस्छ । तर लामिछानेको नियत ठीक विपरीत देखिएको छ । उनीमाथि यति धेरै प्रश्न उठ्दा पनि आफूले आफैंलाई निर्दोष ठहर्‍याएर अरूलाई धारेहात लगाइरहेका छन् ।

उनले आफूले आफैंलाई निर्दोष मात्र सावित गराएनन्, सत्ताको दुरुपयोग गरेर महान्यायाधिवक्तालाई समेत दबाबमा पारेर आफू निर्दोष छु भन्ने प्रमाण हात पार्न लगाए । पुराना दलले यस्तो प्रवृत्ति देखाएको भए त्यसलाई सामान्य मान्न सकिन्थ्यो किनकि पुराना दलका नेताहरू यस्तो कर्ममा सिद्धहस्त भइसकेका छन् ।

छोटो समयमा जनताको मन/मत जितेर आएका लामिछानेलाई पनि उही कांग्रेस, एमाले, माओवादीलगायतका दलहरूसँगै तुलना गर्नुर्पर्ने अवस्था आइलाग्नु दुःखद हो । यसअघि यस्ता विभिन्न विषयमा जोडिएका पुराना दलका नेताहरूले तत् समयका सरकारलाई छानबिन गर्न सहज बनाइदिएका थिए । तर लामिछाने मेरो गोरुको बाह्रै टक्का गरेर बसेका छन् ।

यसले दोषीझैं देखिइसकेका छन् । नयाँले नयाँपन देखाउन नसक्नु लज्जास्पद छ । आफूमाथि छानबिन समिति बन्छ भने पदबाटै राजीनामा दिन्छु भनेर घुर्की लगाउनुले उनी निर्दोष छन् कि छैनन् भन्नेमा शंका गर्ने प्रशस्त ठाउँ उब्जिएको छ । कोही निर्दोष होस् या नहोस्, नाम आएपछि छानबिनको दायरामा ल्याउनैपर्छ भन्ने उनै लामिछाने आज आफ्नो विषयमा प्रश्न उठ्दा यसरी लाचार भएर बस्नु लाज लाग्नुपर्ने होइन र ?
– सुजन देवकोटा, पालुङ्टार–४, गोरखा

सहकारीको पैसा अपचलन गरेको आरोप लागेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध प्रतिपक्ष कांग्रेस खरो उत्रिएको छ । उसको बटमलाइन नै लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने भन्ने छ । कांग्रेस सरकारमा छँदा लामिछानेलाई दोषी देखेन, अहिले सरकारबाट बाहिरिएपछि दोषी देख्यो, किन होला ?

फोहोरी राजनीति खेल खेलेर जनतालाई ढाँट्ने काम बन्द गरौं । कतिपय महत्त्वपूर्ण विधेयक संसद्मा बन्धक भएका छन् । सांसदले तलब सुविधा खाइरहने, बैठक भने चल्न नदिने कस्तो नीति हो कांग्रेसको ? पछिल्लो समयमा सबैभन्दा दुःखको कुरा के छ भने दलहरूको अस्त्र भनेकै संसद् भएको छ । उनीहरूलाई चित्त बुझेन कि संसद् बन्द गरिहाल्छन् ।

प्रतिपक्षी भएपछि संसद् बन्द गर्नुपर्छ भन्ने गलत नजिर बसेको छ । यो हटाउन अति आवश्यक छ । संसद् बन्द गर्न पाइँदैन भन्ने नीति नै बनाउनुपर्‍यो । संसद् चले कम्तीमा छलफल गरेर निचोड निकाल्न सकिन्छ । सरकारलाई जेठ १५ मा बजेट ल्याउनुपर्ने बाध्यता छ । तर सरकारमा सामेल दल नै सरकारलाई सहयोग गर्न तयार देखिँदैन ।

रास्वपा सरकारलाई सहयोग गर्छु भनेर सत्तामा गएको थियो, अहिले आएर छानबिन समिति नै बनाउनु हुँदैन भनेर अड्को थाप्छ । कांग्रेस छानबिन समिति नबनाई संसद् चल्न दिँदैनौं भन्छ । रास्वपा कुनै पनि हालतमा छानबिन समिति बनाउन पाइँदैन भन्छ । अनि गर्नेचाहिँ के ? नबिराउनु नडराउनु भन्ने उक्ति छ । उपप्रधान तथा गृहमन्त्री लामिछाने दोषी छैनन् भने संसदीय छानबिन समिति बनाउन किन डर ?
– पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं

प्रकाशित : वैशाख २७, २०८१ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?