कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

विश्वविद्यालयका रिक्त पदाधिकारी नियुक्तिको प्रक्रिया अन्तिम चरणमा छ : प्रधानमन्त्री दाहाल

अर्जुन सुवेदी

सुनसरी — प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वविद्यालयहरुमा रिक्त रहेका पदाधिकारी नियुक्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन् । मोरङको सुन्दरहरैँचास्थित गोठगाउँमा शुक्रबार पूर्वाञ्चल विश्वविद्यालयको १२ औँ दिक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले खुल्ला प्रतिष्पर्धाको आधारमा पदाधिकारीको नियुक्तिको प्रक्रिया अघि बढाइएकोले केही समय ढिलाई भएपनि नियुक्ति प्रक्रिया अन्तिम चरणमा पुगेको बताए । 

विश्वविद्यालयका रिक्त पदाधिकारी नियुक्तिको प्रक्रिया अन्तिम चरणमा छ : प्रधानमन्त्री दाहाल

सरकारले विश्वविद्यालय सुधारका लागि विभिन्न प्रयास थालेको बताउँदै आफ्नै पालामा खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति प्रक्रियाको थालनी भएको बताए । विश्वविद्यालयमा उपकुलपति मात्रै नभई अन्य पदाधिकारीहरु पनि खुल्ला प्रतिस्पर्धाका आधारमा छान्न सरकारले सुरु गरिसकेको भन्दै उनले विश्वविद्यालय सुधार गर्नका लागि खुल्ला प्रतिस्पर्धाको आधारमा पदाधिकारी नियुक्तिको विकल्प नभएको दाबी गरे ।

व्यवहारिक कठिनाईका बाबजुद पनि खुल्ला प्रतिस्पर्धालाई कार्यान्वयनमा ल्याएको बताउँदै यसले प्राज्ञिक क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको उनको भनाइ छ । त्रिभुवन विश्वविद्यालयबाट कार्यान्वयनमा ल्याइएको खुल्ला प्रतिस्पर्धात्मक प्रणालीलाई पूर्वाञ्चल विश्वविद्यालय लगायत अन्य विश्वविद्यालयहरुमा पनि लागू गरिएको उनले बताए ।

केही दिन अघिमात्रै त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्ष र रजिष्ट्रार खुल्ला प्रतिस्पर्धाका आधारमा नियुक्त गरिएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले यसबाट विश्वविद्यालय सुधारका लागि सरकार गम्भीर भएको सन्देश गएको दाबी गरे । 'अब विश्वविद्यालयमा जुनसुकै तहमा पदाधिकारीको नियुक्ति प्रचलित कानुन बमोजिम खुल्ला प्रतिस्पर्धाका आधारमा नियुक्त गर्दै जाने र विश्वविद्यालयका कानुनलाई संसोधन गरेर पूर्ण रुपमा स्वायत्त र स्वतन्त्र बनाउनुपर्छ भन्ने सरकारको धारणा छ,' उनले भने ।

पूर्वाञ्चल विश्वविद्यालय परिसरमा आवश्यक संरचना तयार गरी मेडिकल कलेज सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए । पूर्वाञ्चल विश्वविद्यालयले रोजगारमूलक, व्यावहारिक र जीवनोपयोगी शिक्षामा विशेष जोड दिन आवश्यक रहेको बताउँदै प्रधानमन्त्री दाहालले बिशेषत जैविक विविधताको अनुसन्धान, प्राकृतिक स्रोत–साधन र परम्परागत ज्ञान–सीपको सम्वर्द्धन गर्नुपर्ने बताए ।

त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा प्रमुख अतिथि रहेको १२ औं दिक्षान्त समारोहमा ७ हजार ८ सय ५६ विद्यार्थी दिक्षित भएका छन् । जसअन्तर्गत स्नातक तहमा ६ हजार ५ सय ६८, स्नातकोत्तर तहमा १ हजार २ सय ८५ र एम फिलमा ३ जना विद्यार्थी दिक्षित भएको विश्वविद्यालयले जनाएको छ ।

प्रकाशित : वैशाख १४, २०८१ १६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?