२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८७

वरीयता मिचेर एसपी बढुवा सिफारिस

प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री ओलीका पूर्वपीएसओलाई एसपीमा बढुवा गर्न वरीयता मिचिएकामा आलोचना
सुदीप कैनी

काठमाडौँ — नेपाल प्रहरीका ८ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा सिफारिसको निर्णय विवादमा परेको छ । वरीयता मिचेर प्रधानमन्त्री र सत्ता दलका नेता तथा पूर्वप्रधानमन्त्रीका पीएसओलाई बढुवा सिफारिसमा प्राथमिकता दिएपछि निर्णयको आलोचना भएको हो ।

वरीयता मिचेर एसपी बढुवा सिफारिस

प्रहरी महानिरीक्षक (आईजी) वसन्तबहादुर कुँवर अध्यक्षताको बढुवा सिफारिस समितिले बुधबार १२ जना डीएसपीको सूचीबाट ८ जनालाई एसपीमा बढुवा सिफारिसको निर्णय गरेको थियो । समितिले पहिलो र छैटौं वरीयताका डीएसपीलाई पन्छाएर नवौं र १२ औं नम्बरमा रहेकालाई एसपी बढुवामा प्राथमिकता दिएको छ । समितिका सदस्यसचिव प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकप्रसाद राईले सार्वजनिक गरेको सूचीमा ढकेन्द्र खतिवडा, अंगुर जीसी, यादव ढकाल, सन्तोष तामाङ, श्यामबाबु ओलिया, निरञ्जनदत्त भट्ट, राजन लिम्बू र विनोद घिमिरेलाई एसपी बढुवाका लागि सिफारिस गर्ने उल्लेख छ ।

डीएसपीको एक नम्बर वरीयताका प्रदीपकुमार क्षेत्री र छैटौं नम्बरका नारायण रञ्जितकार बढुवा सिफारिसमा छुटेका छन् । बढुवा सिफारिस भएका मध्ये घिमिरे प्रधानमन्त्री पुष्पकमल दाहाल तथा तामाङ र लिम्बू एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पूर्वअंगरक्षक (पीएसओ) हुन् । घिमिरे डीएसपीको १२ औं, लिम्बू आठौं र तामाङ नवौं वरीयतामा थिए । घिमिरे आठौं, तामाङ पाँचौं र लिम्बू सातौं नम्बरमा बढुवा सिफारिस भएका छन् ।

रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री भएपछि यो प्रहरी अधिकारीको पहिलो बढुवासम्बन्धी सिफारिस हो । आईजी नियुक्त भएको एक वर्षयता कुँवरले वरिष्ठता र कार्यसम्पादन मूल्यांकनलाई प्राथमिकतामा राखेर प्रहरी अधिकारीहरूको बढुवा गर्दै आएका थिए । तर, यस पटक भने वरीयता मिचिएको भन्दै समितिले गरेको निर्णय विवादमा तानिएको हो ।

एसपी सिफारिस भएका घिमिरे २०७८ सालसम्म प्रधानमन्त्री दाहालका पीएसओ थिए । तामाङ २०७२ र लिम्बू २०७४ सालमा ओलीका पीएसओ थिए । पद रिक्त रहेको ८ महिनापछि बढुवा सिफारिस गरिएको हो । गृहमन्त्री लामिछाने र शक्ति केन्द्रको दबाबका कारण मेरिटका आधारमा बढुवा गर्ने अडानबाट प्रहरी नेतृत्व पछि हटेको प्रहरी प्रधान कार्यालयका अर्का एक एसएसपीको भनाइ छ ।

प्रकाशित : चैत्र १६, २०८० ०६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?