कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विश्वव्यापी संकटले नेपालजस्ता मुलुक बढी मारमा : परराष्ट्र सल्लाहकार सापकोटा

काठमाडौँ — ‘एसिया र विश्वः समान चुनौती, साझा दायित्व’ नाराका साथ चीनको हैनान प्रान्तमा आयोजित बोआओ फोरम फर एसियामा नेपालका तर्फबाट सहभागी प्रधानमन्त्रीका परराष्ट्र सल्लाकार रुपक सापकोटाले उच्चस्तीय सत्रलाई शुक्रबार सम्बोधन गरेका छन् ।

विश्वव्यापी संकटले नेपालजस्ता मुलुक बढी मारमा : परराष्ट्र सल्लाहकार सापकोटा

उक्त अवसरमा उनले पछिल्लो विश्वव्यापी संकटहरूले नेपाललगायत 'दक्षिण गोलार्द्ध' का विकासोन्मुख मुलुक बढी मारमा परेको बताएका हुन् । उनले भने,‘बोआओ फोरम जस्ता मञ्चहरू विश्वले अहिले सामना गरिरहेको आर्थिक संकट, ऊर्जा एवं खाद्य संकट, जलवायु परिवर्तनको प्रभावजस्ता विश्वव्यापी मुद्दाहरूलाई सम्बोधन गर्न केन्द्रित हुनुपर्छ ।’

सम्बोधनमा सापकोटाले नेपालको अर्थराजनीतिक दृष्टिकोणमा आधारित परराष्ट्र नीति र आर्थिक कूटनीतिका प्राथमिकताबारेमा धारणा राखेका थिए । ‘भूराजनीतिक द्वन्द्व, विश्व राजनीतिमा बढ्दो राजनैतिक ध्रुवीकरण र कमजोर सहकार्यलगायतले गर्दा नेपालको बहुपक्षीय एवं आर्थिक विषयमा अन्तर्राष्ट्रिय सहकार्य सोचे झै अगाडि बढाउन कठिन भइरहेको छ,’ उनले भने ।

उक्त अवसरमा सापकोटाले नेपालको अतिकम विकसितबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नति हुने लक्ष्य, जलवायु परिवर्तनको प्रकोपलाई समयसापेक्ष सम्बोधन र नेपालको समग्र आर्थिक विकास र समृद्धि हासिल गर्न राखेको लक्ष्यलाई सघाउन अनुरोध गरेका थिए ।

नेपाल सरकारको प्रतिनिधित्व गर्दै सापकोटा सहभागी हुन हैनान पुगेका हुन् । उक्त बोआओ फोरममा ६० भन्दा बढी मुलुकका २ हजारभन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रकाशित : चैत्र १६, २०८० १७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?