कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८६

‘खुङ्खार डाँका’ हर्केको सम्झनामा

बुढापाकाका परिभाषामा हर्के थिए– नेपालका एक खुङ्खार डाँका । उनी बेलाबखत दार्जिलिङ झर्थे । कुन बाटो आउँथे ? धनकुटा कि इलाम ? कसैलाई सुइँको थिएन । 
सुकन्या वाइबा

व्यापारको उद्देश्य लिएर भारत भित्रिएको बेलायतको दी इस्ट इन्डिया कम्पनीले साना–साना विभाजित राज्यहरूमा विस्तारै आफ्नो प्रभुत्व जमाउँदै गरेको बखत थियो त्यो । कम्पनीको कुटिल नियत बुझ्ने शासकहरूमा एक थिए– दक्षिणका मैसुर राज्यका शासक टिपु सुल्तान (सन् १७५१—१७९९) जसलाई ‘टाइगर अफ मैसुर’ भनिने गर्थ्यो ।

‘खुङ्खार डाँका’ हर्केको सम्झनामा

उनले खुला रूपमै ‘यी फिरंगीहरू एक एकलाई भारतबाट नखेदी छोड्दिनँ’ भनेर प्रतिज्ञा नै लिएका थिए । स्वरूपमा पनि श्याम वर्णका उनी खुङ्खार देखिन्थे । टिपु सुल्तानको नाम लिएर अंग्रेजहरू आफ्ना बालबच्चालाई तर्साउने गर्थे । अंग्रेज आमाहरू रातमा आफ्ना नानीहरू सुत्न नमानेका खण्डमा ‘टिपु सुल्तान आयो है’ भन्दै त्रास देखाएर सुताउने गर्थे ।

यस्तै सानो छँदा हामीलाई पनि ‘हर्के कामी आयो है’ भन्दै दिदीहरू तर्साउँदै सुताउने गर्थे । को थियो हर्के कामी ?

बुढापाकाका परिभाषामा हर्के कामी नेपालका एक खुङ्खार डाँका थिए । बेलाबखत दार्जिलिङ पनि झर्ने गर्थे । धनकुटा साइडबाट आउँथे कि इलाम साइडबाट, कसैलाई थाहा थिएन ।

हर्के कामीको परिचय हामीले यसरी पनि पाएका थियौँ एक छिमेकी बुढी बज्यैको मुखारबिन्दबाट । उनी यसरी वर्णन गर्थिन्, ‘एक मध्याह्न म नजिकैको पसलमा बसिराखेकी थिएँ । एक्कासि एक बान्की परेको, खाइलाग्दो, अग्लो जवान पसलमा आएर काँक्रा किन्यो । हातमा काँक्रा लिएर साथै ल्याएको एउटा लामो लौरोको एक छेउ दबायो । दबाउना साथ लौरोको अर्को छेउबाट एउटा चमचमाउँदो, धारिलो छुरा निस्कियो । त्यही छुराले काँक्रा काटेर खायो र हिँडी पनि हाल्यो । मलाई त जादूको खेल हेरेको जस्तै लाग्यो । ऊ हिँडिसकेपछि एक हुल मानिसहरू आत्तिँदै आए अनि सोधे– हर्के कामी यताबाट भर्खरै गएको थियो, तपाईंहरूले देख्नुभो ?’ यत्ति सुनेपछि बज्यैको आङ त सिरिङ भएछ । स्वयं बज्यैले उसको यस्तो परिचय दिएकी थिइन् । भन्थिन्, ‘अझ पनि त्यस दिनको घटना सम्झँदा मुटु लगलग काम्छ र हातखुट्टा लुलो भएजस्तो लाग्छ ।’

यस्तो व्यापक थियो, हर्के कामीको त्रास । किंवदन्तीजस्तै अरु पनि कुरा सुनिन्थ्यो । हर्के कामी आफ्नो परिवारका सदस्यलाई केहीको कमी हुन दिँदैनथे । मासु खाने मन भए घरमै खसी–बोका आइपुग्थ्यो । पैसा, दाल, चामल इत्यादिको कहिल्यै अभाव हुँदैनथ्यो । घरका मानिस कहीँ कत्तै जानै पर्दैनथ्यो । सबै हर्के कामीले नै जुराइदिन्थे ।

कसरी ? जवाफ हुन्थ्यो— चोरेर, लुटेर । हामी छक्क पर्थ्यौं, मज्जा पनि लाग्थ्यो । तथापि उनको नाम सुन्दै त्रासको लहर शरीरमा पसेको भान हुन्थ्यो । अन्त्यमा उनी पक्राउ परे र राणा शासकहरूले सजाय दिए– ठिंग्रोमा राख्ने ।

‘ठिंग्रो भनेको के हो ?’ हाम्रो जिज्ञासाको उत्तर दिँदै बुबा भन्नुहुथ्यो, ‘मानिसको साइजको लामो बक्साभित्र अपराधीलाई माछाझैं उनेर राख्नु हो । प्रत्येक दिन शरीरको कुनै भागमा छुरीले काटेर घाउ बनाउने र त्यस आलो काटेको घाउमा नुन र चुक दलिदिने । प्राण नगएसम्म यही क्रम जारी राख्ने ।’

यी दुई पात्र टिपु सुल्तान र हर्के कामीलाई लिएर घोत्लिन्छु । अंग्रेजहरूको साम्राज्यवादप्रति विरोध थियो टिपु सुल्तानको । नि:सन्देह उनी देशभक्त थिए । हर्के कामी ? उनी दलित थिए, हिन्दु धर्मशास्त्रअनुसार शूद्र र अछूत थिए । अब भारतका संविधान निर्माता तथा दलित मुक्ति संघर्षका अथक योद्घा बाबा साहेब भीमराव अम्बेडकरद्वारा व्यक्त यी शब्द उद्घृत नगरी भो र ?

गुलामी र पतनका कारण :

महाभारत भन्छ – शूद्र राजा बन्न सक्दैन ।

गीता भन्छ – शूद्रले ब्राह्मण, क्षत्रीय र वैश्यको गुलामी गर्नुपर्छ ।

रामायण भन्छ — ज्ञान प्राप्त गरेमा शूद्रलाई मृत्युदण्ड दिनुपर्छ ।

वेद भन्छ — शूद्र ब्राह्मणको पाइतालाबाट पैदा भएका हो, उनीहरू नीच हुन् ।

मनुस्मृतिअनुसार — शूद्रहरूले कमाएको धन जबर्जस्त खोस्नुपर्छ ।

पुराण भन्छ — शूद्र केवल गुलामीका लागि जन्मिन्छन् ।

रामचरित्र मानस भन्छ — शूद्रलाई पिट्नु धर्म हो ।

एक सहनशील शूद्र अहिले पनि यी हिंस्रक धर्म ग्रन्थ छातीमा लगाउँदै हिँड्छन् । विश्वास गर्नुस्, यो नै तपाईंको गुलामी र पतनको कारण हो । – डा. भीमराव अम्बेडकर ।

आचार्य रजनीश (ओशो) को कथनअनुसार, हिन्दुहरू मनुस्मृतिलाई विधान मान्छन् र यो नै भारतको निम्ति दुर्दशा हो ।

हर्के कामीले यी सबै उसबेला बुझेका थिए भन्न मिल्दैन । तर, उनले र उनको समुदायले खेपिरहेका सामाजिक, आर्थिक, मानसिक र धार्मिक शोषणविरुद्घ विद्रोह थिए उनका क्रियाकलाप । यो विद्रोह लगभग ८०–९० वर्षअघिको हुन सक्छ । अहिलेको अवस्थामा हर्के कामीको जस्तो विद्रोह सम्भव छैन । तर, सन् १९६६ मा अमेरिकाको क्यालिफोर्नियाामा जन्मेको ‘ब्ल्याक प्यान्थर’ नामक काला युवाहरूको जस्तो समूह भने नजन्मिएला भन्न सकिन्न ।

दलितलाई भेदभाव गर्ने चलन शिक्षित उपल्लो जातका विद्वान्हरूमा समेत अझै कायम छ । नेपालको संविधानमा दलितलाई भेदभाव गर्नु कानुनको उल्लंघन हो र यसको उल्लंघन गर्ने अपराधी सजायको भागी हुनुपर्छ भन्ने उल्लेख नभएको होइन । शब्द जेजस्तो लेखिए पनि दैनिक जीवनमा भेदभाव र हिंसा जारी छ ।

कारागारका बन्दीहरूमा दलितहरूका नाममा कसैको थर लेखिएको पाइँदैन । कामी, मिजार, दमाई, सार्की जात मात्रै लेखिएको देखिन्छ । लेखक पारिजातको नेतृत्वमा स्थापित बन्दी सहायता नियोगमा स्वयंसेवकको हैसियतले मैले काम गर्दाको अनुभव हो हो । उनको निधनपश्चात १५ वर्षसम्म काम गर्दा सोच्थें, यो कस्तो हेपाहा प्रवृत्ति, बाबै !

लेखक तथा अभियन्ता सरिता परियार भन्छिन्, ‘जातीय भेदभाव गन्हाउने लाश हो, जुन कोठाबाट मिल्काउनै चाहन्न यो समाज, बरु गन्ध सुँघ्दै बस्न निको मान्छ ।’

हिन्दु धर्मावलम्बीहरूको बाहुल्य रहेको देशमा नेसनल क्रिस्चियन कम्युनिटी सर्भेका अनुसार, चर्चको संख्या ७,७५८ पुगेको छ, जुन द्रुतगतिमा बढ्ने क्रममा छ । नेपाली इशाईहरूको संख्या दस लाख पुगिसकेको छ, जसमा पहिलोमा दलित समुदाय र दोस्रोमा तामाङ जनजातिको संख्या कसरी बढी देखियो ?

डा. अम्बेडकर दलितको समस्यालाई राजनीतिक मुद्दा मान्थे, तर महात्मा गान्धीचाहिँ यसलाई सामाजिक मुद्दा मात्रै मान्थे । गैरदलितहरूको मन परिवर्तन गर्नुपर्छ भन्ने विचार राख्थे गान्धी । डा.अम्बेडकर गान्धीलाई महात्मा नभएर एक राजनीतिज्ञ मान्थे । गान्धीकै आमरण अनशनले दलितहरूको प्रतिनिधित्वको निम्ति अम्बेडकरद्वारा राखिएको सेपरेट (कम्युनल) इलेक्टोरेक्टको प्रस्ताव सफल भएन । सेड्युल कास्टमा दर्ता गराएर केवल केही रिजर्भेशनसको प्राप्तिमा चित्त बुझाउनुपर्‍यो ।

केही युवा सांसदको उपस्थितिले आशा जगाएको छैन भन्न त मिल्दैन, तर यस्ता सांसद पनि छन्, जो ‘नेपाललाई हिन्दु राष्ट्र घोषित गर्नुपर्छ’ भन्ने विचार राख्छन् । उनीहरूसाग के योजना छ– दलित समुदायले गरेको धर्म परिवर्तनको विषयलाई लिएर ? उनीहरु मनुस्मृतिलाई नै हिन्दु धर्मको विधान मानेर अघि बढ्लान् कि ? हुन त धर्मान्तरण रोकथाम गर्न २०१८ सालमै ‘एन्टी कर्न्भसन ल’ पास गरिएको थियो । उक्साएर धर्म परिवर्तन गराउने व्यक्ति कानुनत: दोषी ठहरिने छ र यस्ता क्रियाकलाप प्रमाणित भए पाँच वर्ष सजायको भागी बन्नुपर्नेछ । २०६३ सालमै धर्मनिरपेक्ष घोषित भइसकेको नेपालको दलित नागरिकले विभेद र अपमानले आजित भएर अरुको उक्साहटबिनै लोकतान्त्रिक अधिकारको प्रयोग गर्दै धर्म परिर्वतन गर्न पाउने भए ।

आशा गरौं, हालै उदय भएका युवा सांसदहरूको ध्यान धर्मान्तरणको कारणतिर पनि जाओस् । उनीहरू अन्वेषण गर्न सक्षम होऊन्, किन यी भेद्य समुदायका मानिसले इशाई किन धर्म अंगीकार गरे ?

प्रकाशित : वैशाख १५, २०८१ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?