कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४८

दुई किनाराको जय–पराजय

एकअर्काका विरोधी सहर हुन्– इन्टर मिलान र एसी मिलान, जो कहिल्यै आपसमा मिल्दैनन् । सयौं वर्षदेखि मिलानको फुटबल यसरी नै चलेको छ ।
हिमेश

वस्ती र सहर सीमा–रेखाले मात्रै छुट्याउँदैन्, फुटबलले पनि छुट्याउँछ । इटालीको प्रसिद्ध सहर मिलान पनि यस्तै उदाहरण हो । यो सहरको एउटा परिचय भन्नु नै फुटबल हो । 

दुई किनाराको जय–पराजय

यति भनेपछि एउटा प्रश्न त्यसै अगाडि आउँछ, कुनचाहिँ क्लबको समर्थक हो भन्ने । त्यो भनेको कि त इन्टर मिलान, होइन भने एसी मिलान । यी दुई सहर परस्पर विरोधी हुन् । कुनै पनि हालतमा एक आपसमा मिल्दैनन् । सयौं वर्ष भयो, मिलानको फुटबल यसरी नै अगाडि बढेको छ ।

प्राय: इन्टर मिलानलाई इन्टर मात्रै भनिन्छ । एसी मिलानलाई भने मिलान । इन्टर भनेको निलो र कालो धर्सो धर्सो भएको जर्सी । मिलानको जर्सिमा भने रातो र कालो धर्सो धर्सो हुन्छ । दुवैमा साझा एउटै कुरा छ, उनीहरू दुवैको घरेलु मैदान सानसिरो हो । इतिहास पल्टाउने हो भने एसी मिलान पुरानो हो । यो सहरमा अंग्रेजले फुटबल भित्र्याएको मानिन्छ र यसको धेरै श्रेय हबर्ट किल्पिनलाई जान्छ । सन् १८९९ तिर उनले केही साथीसँग मिलेर फुटबल क्लब बनाए ।

केही वर्षमै क्लबभित्र एउटा द्वन्द्व सुरु भयो– विदेशी खेलाडी खेलाउने कि नखेलाउने ? जसले विदेशी खेलाडी खेलाउनु हुन्न भने ती पछि एसी मिलानमा रहे । विदेशी खेलाडी खेलाउनुपर्छ भन्नेहरू इन्टर मिलान भए । रमाइलो के भने किल्पिन आफैं विदेशी थिए । उनी पनि विदेशी खेलाडी खेलाउने पक्षमा थिए । तर, यो विचारको समर्थक को रह्यो भने छुट्टिएर गएको क्लब । त्यतिबेला चिरा परेको फुटबल विचारधारा अहिले विदेशी खेलाडीलाई खेलाउने र नखेलाउनेमा अडिएको छैन ।

मिलानमा को कहाँ जन्मे, तिनको परिवार कस्तो छ, अझ तिनको आर्थिक हैसियत के कस्तो छ, त्यसले पनि कसले कुन क्लब समर्थन गर्छ भन्ने निर्धारण गर्छ । यो सबै चर्चा किनभने इटालीको सिरी ‘ए’ ले च्याम्पियन टिम पाएको छ । यो सिजनको विजेता रह्यो, इन्टर । उसले लिग जित्ने निश्चित भएको थियो, मिलानलाई हराएर । त्यो खेल इन्टरले २–१ ले जितेको थियो । यस्तोमा आधा मिलान असाध्यै खुसी छ । आधा मिलानलाई सकुन मिलेको छैन् ।

इन्टरले जितेको यो २० औं उपाधि थियो । पछिल्लो सिजन जसरी नेपोलीले मज्जाले लिग जितेको थियो, यसपल्ट इन्टरको यात्रा त्यस्तै रह्यो, सुमधुर– विना कुनै रोकतोक । सिजन सुरु हुँदा धेरैको अपेक्षा थियो, यसपल्ट लिग उपाधि जित्ने होड चर्को चल्नेछ । तर, त्यस्तो भएन । सुरुदेखि नै नेपोली फिक्का रह्यो । त्यसको ठीक विपरीत इन्टर सुरुदेखि पक्का बलियो रह्यो । मानौं यस्तो थियो, यसपल्ट लिग उपाधि इन्टरकै लागि लेखिएको थियो ।

इन्टरले मिलानलाई हराएपछि शीर्षमा १७ अंकको निर्णायक अग्रता लियो । लिगमा अब पाँच चरणकै खेल मात्र बाँकी छन् । त्यो भनेको १५ अंकको खेल मात्रै । यस्तोमा यो यस्तो अग्रता बन्यो, जसलाई कोही कसैले चुनौती दिन सक्दैन । लिग यात्रामा इन्टरलाई जहाँ खेलाडीको चोटले धेरै दु:ख भएन्, त्यही उसले विरलै मात्र हारको समना गर्‍यो । यो सफलताको धेरै श्रेय जानेछ, प्रशिक्षक सिमोनी इन्जाघीलाई । अब उनको नाम रहने छैन्, ‘किङ्ग अफ कप’ भनेर ।

प्रशिक्षकका रूपमा उनले केही कपहरू जिते, तर लिग भने जित्न सकेका थिएनन् । तर, अब ४८ वर्षे यी प्रशिक्षकलाई कुनै गुनासो रहने छैन । गत सिजनमा पनि उनकै नेतृत्वमा इन्टरले युरोपली च्याम्पियन्स लिगको फाइनल यात्रा तय गरेको थियो । यसपल्ट लिगमा इन्टरको प्रदर्शन च्याम्पियन जस्तै रह्यो । त्यसैले त पूरै सिजन इन्टर एकै खेलमा मात्र पराजित छ, त्यो पनि सेप्टेम्बरतिर । त्यसको अर्थ के भने इन्टरको आक्रमण जति राम्रो छ, त्योभन्दा राम्रो डिफेन्स पनि रह्यो ।

इन्टरले अहिलेसम्म लिगमा ७९ गोल गरेको छ । यो कुनै पनि टिमले गरेको सबैभन्दा बढी गोल हो, दोस्रोमा रहेको मिलान भन्दा १५ बढी । यसबीच इन्टरले यस वर्षको सुरुमा सबै प्रतियोगितामा गरि १३ खेल लगातार जितेको थियो । फेरि इन्टरले पस्केको खेल पनि आफैंमा राम्रो रह्यो, निरश रहेन् । यसले आलोचकको पनि मन जित्यो । खासमा प्रशिक्षक इन्जाघीले खेलाडी व्यवस्थापन सटिक ढंगले गरे । उनले चाहिएको बेला खेलाडीबीच ‘रोटेसन’ प्रक्रिया त चलाए नै । त्यसको अर्थ के भने जत्तिकै नाम चलेको खेलाडी भए पनि उसलाई पनि आराम दिइयो, बीचबीचमा । लगभग सबै खेलमा पाँच सब्टिच्युटको नियम पनि मज्जाले प्रयोग गरे । अब न इन्जाघी पनि ‘एलिट म्यानेजर’ को सूचीमा परेका छन् । इन्टरले यसै सिजनका लागि आफूलाई उपयुक्त खेलाडी पनि भित्र्याएको थियो । सिजनको सुरुमा डर थियो, दुई स्टार खेलाडी रोमेलु लुकाकु र इडिने जेको बािहरिएपछि कतै ठूलै समस्या हुने त होइन ?

तर, त्यस्तो केही भएन । नयाँ अनुबन्धित खेलाडी मार्कस थुरामले लउतारो मार्टिनेजसँग मीठो साझेदारी गरे । उनीहरूको आक्रामक जोडीले लगभग सबै विपक्षी टिमलाई तहसनहस बनाएको थियो । अहिलेका २६ वर्षीय थुराम पूर्व डिफेन्डर लिलियन थुरामका छोरा हुन् । उनले १२ गोल गर्दै सात गोलमा सहभागी भूमिका निभाएका छन् । कप्तान लउतारोले भने सबैभन्दा बढी २३ गोल गरेका छन् । भेट्रान गोलरक्षक यान सोमरको आगमन पनि उत्तिकै सुखद रह्यो ।

अर्को तथ्य । यसपल्ट इन्टरका प्रतिद्वन्द्वी टिम सबै कमजोर सावित भए । सबैभन्दा कमजोर प्रदर्शन त नेपोलीकै रह्यो । रोमा र लाजियो आफैंमा गडबडीबाट गुज्रे । अरु बेला युभेन्ट्सले राम्रो गर्न सक्ने सम्भावना देखिएको थियो, तर त्यो पनि बिलाएर गर्‍यो । एक समय लिग तालिगकामा युभेन्ट्सले अग्रता पनि लिएको थियो, तर बीचमा क्लबले यति नराम्रोसँग लय गुमाएको थियो कि उसका लागि शीर्ष चार नै ठूलो उपलब्धि देखियो ।

यसको भरपुर फाइदा कसैलाई मिलेको थियो भने त्यो इन्टरलाई नै थियो । र, रह्यो, मिलानकै कुरा । उसले बरू सक्दो इन्टरलाई रोक्ने प्रयास गरेको थियो । तर सकेन नै । मिलानको फुटबलमा कहिले को बलियो भइरहन्छ, कहिले को ? अहिले पालो इन्टरकै । मिलानविरुद्धका पछिल्ला छ डर्बी खेलमा इन्टरले जितेको छ । यसले पनि देखाउँछ, यी दुई टिममा को साँच्चै बलियो भन्ने । इन्जाघीले ठीकै भनेका छन्, ‘हामीले यस्तै जितका लागि लामो समयदेखि प्रतीक्षा गरिरहेका थियौं ।’

प्रकाशित : वैशाख १५, २०८१ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?