२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८०

भन्सार छलीको कपडासहित मिनी ट्रक नियन्त्रणमा

माधव ढुंगाना

भैरहवा — भैरहवा भन्सार कार्यालयको गस्ती टोलीले भन्सार छली गरिएको कपडासहित ढुवानीमा प्रयोग गरिएको एउटा मिनी ट्रक नियन्त्रणमा लिएको छ ।

भन्सार छलीको कपडासहित मिनी ट्रक नियन्त्रणमा

भन्सार छली गरिएका विभिन्न कपडा लोड गरी रुपन्देहीको बेथरी–तमानगर सडक हुँदै बुटवलतर्फ जाँदै गरेको लु १ च ५६२० नम्बरको निजी प्लेटको मिनी ट्रकलाई भन्सार गस्ती टोलीले पक्राउ गरेको हो । कपडा र ट्रकसँगै रुपन्देहीको सियारी गाउँपालिका ४ छपीया निवासी चालक २८ वर्षीय जितेन्द्र मल्लाह नियन्त्रणमा छन् ।

ट्रकबाट भेष्ट ४ सय ४० थान, टप्स १ हजार ५० थान, पपलिन ८ सय १६ थान, सर्टिङ कपडा १ हजार २ सय १० मिटर, टप्ससेट २ सय ३४ थान, लेडिज सुट १ सय ३२ थान र सम्मानसल ३ सय ६० थान बरामद भएको छ ।

भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमले बरामद गरिएको कपडा ९ लाख ९३ हजार मूल्य बराबरको रहेको र मिनीट्रक १२ लाख रुपैयाँको बिगो कायम गरिएको बताए ।

‘चालकसँगको बयानको आधारमा उक्त कपडा बुटवलस्थित कुनै एक कपडा पसलको भएको खुल्न आएको छ,’ भन्सार प्रमुख गौतमले भने, ‘कपडा पसलमा बुधबार नै छापा हानेर छानबिनको प्रक्रिया अगाडि बढाइएको छ ।’

प्रकाशित : वैशाख २६, २०८१ १८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?