सीमावासीको सकस

(काँकडभिट्टा) — खुला सीमाका फाइदा मात्रै छैनन्, बेफाइदा पनि धेरै छन् । ‘वारिपारि’ गरेर जीविका चलाउने सीमावासी धेरै छन् तर उनीहरूलाई राज्यले ‘दुई नम्बरी’ को पगरी गुथाइदिएको छ । वारिपारि गरेर परिवार चलाउनेको तिनै श्रमिकहरूको व्यथा नाटक ‘दशगजा’ले खोलेको छ ।

सीमावासीको सकस

शिल्पी थिएटरका निर्देशक रंगकर्मी घिमिरे युवराजले परिवर्तन थिएटरका रंगकर्मीलाई अभिनय कलाबारे १५ दिने प्रशिक्षण दिएका थिए । यही क्रममा नाटक ‘दशगजा’ जन्मिएको हो । नाटक पर्वत पोर्तेलले लेखेका हुन् ।


विजय (एञ्जल खड्का) का बुबा बेरोजगार छन् । ५ लाख ऋण लिएर व्यापार गर्न खोज्दा सबै पैसा डुबेपछि ढुक्कसाथ बसेका छन् । यो सानो परिवारमा बग्रेल्ती छ समस्या । परिवारको जिम्मेवारी आशिषको अपरिपक्व काँधमा छ । घरपरिवार धान्नै मुस्किल छ । १० कक्षा पढ्दापढ्दै छाडेर ‘माल’ बोक्न थालेका छन् । त्यसैबाट आउने थोरै पैसाले परिवार चलाएको छ । बहिनी पढाएको छ । बुबाले लिएको ऋणको किस्ता तिरेको छ । भारी बोक्दाबोक्दै प्रहरीको फन्दामा परेपछि विजयको परिवारमा आइपर्ने विपत्ति नै नाटकको मूल कथा हो । सँगै सीमावासीका अनेक कथा नाटकमा देखाइएको छ । निर्देशक घिमिरेले कथालाई मार्मिक ढंगले प्रस्तुत गरेका छन्, केही नौला प्रयोग गरेका छन् ।


नाटकको मध्यतिर गोदामभित्र राखिएका बोरा नाच्छन् । एकापसमा संवाद गर्छन् । उनीहरू मान्छेका कुरा काट्छन् । मान्छेभित्र हराउँदै गएको संवेदनाको व्यंग्य गर्छन् । सत्ता र सिमानाका कारण पीडित जनताको कथा बोल्छन् । नाटकमा पूर्वोत्तर मणिपुर, असम, नागाल्यान्डजस्ता राज्यबाट प्रताडित भएर नेपालमा आश्रित परिवारको दु:खको कथा पनि देखाइएको छ । ‘यो सीमान्त सहरवासीको दुर्दान्त कथा हो,’ नाटक हेरिसकेपछि सिलिगुडीका साहित्यकार ज्ञानेन्द्र खतिवडाले सुनाए, ‘श्रम गरेर जीविका चलाउने परिवारको कथामा नाटक केन्द्रित भएको पाएँ ।’


निर्देशक घिमिरेका अनुसार नाटकमा स्थानीय समस्यालाई उजागर गर्ने यत्न मात्रै गरिएको हो । ‘दशगजामा हुने वारिपारिका कारोबारका असली पीडित को हुन् ?’, निर्देशक घिमिरेले भने, ‘यो प्रश्न दर्शकलाई नै छाडिदिएका छौं ।’

नाटकमा कविता नेपाल, लीला विष्ट, विमला चिमरिया, अभिषेक गर्तौला, एञ्जल खड्का, पूजा आचार्य, प्र्रतीक्षा आचार्य, राहुल ठाकुर, नवराज पाठक, मदन चिमरिया र कविता पौडेलले अभिनय गरेका छन् । गत १७ गतेदेखि मञ्चन भइरहेको नाटक पुस २६ सम्म चल्नेछ ।

प्रकाशित : पुस २५, २०७६ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?