कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

जमाना एप हन्टिङको

मान्छेको दैनिक जीवन एपसँग निर्भर छ । किनमेल, सञ्चार, वित्तीय कारोबार, यात्राका तौरतरिका एपहरूकै कारण सहज बनेका छन् । एप मार्केटप्लेस डेढ दशकभित्रै प्रभावशाली बनिसकेको छ ।
१७ करोड अमेरिकीले प्रयोग गरिरहेको टिकटकमाथि सम्भावित प्रतिबन्धले विश्वव्यापी डिजिटल अर्थतन्त्रमै कम्पन ल्याउने आकलन छ । टिकटक एप र अमेरिकी सरकारबीचको तनावले अबका दिनमा के–कस्तो तरंग ल्याउला ?
सजना बराल

अप्रिलमा अमेरिकी राष्ट्रपति जो बाइडेनले भिडियो सेयरिङ एप– टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउन सक्ने विधेयकमा हस्ताक्षर गरे । १७ करोडभन्दा धेरै अमेरिकीले प्रयोग गर्दै आएको र अमेरिकामा अधिक डाउनलोड हुने एपमध्ये एक टिकटकमाथिको सम्भावित निकट प्रतिबन्धले विश्वव्यापी डिजिटल अर्थतन्त्रमै कम्पन ल्याउने आकलन भइरहेको छ । 

जमाना एप हन्टिङको

चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको यो प्लाटफर्म सिलिकन भ्यालीबाहिर निर्माण भएको पहिलो यस्तो एप हो, जुन अमेरिका मात्रै नभई नेपालजस्ता विकासोन्मुख र अन्य विभिन्न देशमा समेत अनेकन विवाद र चुनौती सामना गर्दै विश्वभर सबैभन्दा धेरै डाउनलोड र प्रयोग भइरहेको छ । ‘द फाइनान्सियल टाइम्स’ का अनुसार, अमेरिकामा मात्रै टिकटकले सन् २०२३ मा करिब १६ अर्ब डलर आम्दानी गरेको थियो ।

यिनै सामाजिक, आर्थिक पाटो नियाल्दा मात्रै अमेरिकी सरकारको पछिल्लो टिकटक नीतिले अमेरिका–चीन आर्थिक द्वन्द्व थप पेचिलो बनाउने निश्चित छ । अमेरिकाकै उदाहरण दिएर अन्य देशले अमेरिकी प्रविधि कम्पनीहरूलाई स्थानीय बजारको स्वामित्व बेच्न वा प्रविधि हस्तान्तरणमा बाध्य पार्न सक्ने अवस्थाबारे कतिपयले संकेत गरेका छन् । टिकटक एप र अमेरिकी सरकारबीचको तनावले अबका दिनमा के–कस्तो तरंग ल्याउनेछ ? यो प्रसंगले प्रस्ट पारेको छ– विश्वव्यापी सामाजिक–राजनीतिक–आर्थिक प्रतिस्पर्धामा मोबाइल एपहरू एक प्रमुख हिस्सा बन्न थालेका छन्, टिकटक त पछिल्लो उदहारण मात्रै हो । यस पटक एप र सरकारबीचको तनाव देखियो । एप र एप, एप र मार्केटप्लेस, एप र प्रयोगकर्ता, मार्केटप्लेस र सरकारबीच पनि बेलाबखत मनमुटाबका घटना बाहिर आइरहेकै छन् ।

एपमार्फत हुन सक्ने निगरानी र त्यसले निम्याउने राष्ट्रिय सुरक्षा जोखिम, डेटा गोपनीयता, व्यापार नीति, सीमापार भुक्तानी, मिथ्या सूचना प्रवाहजस्ता विषयमा विशेषत: सरकार र एप निर्माताबीच जुहारी चल्दै आएको छ । चीन सरकारले आफ्ना नागरिकका डेटा संकलन गरेको भन्दै भारतले राष्ट्रिय सुरक्षा चासोको हवाला दिएर सन् २०२० मा टिकटकसँगै अन्य चिनियाँ एपमा प्रतिबन्ध लगाइदियो । सन् २०२१ मा रुसी सरकारले अमेरिकी म्यासेजिङ एप, सिग्नललाई प्रयोगकर्ताको डेटामा पहुँच दिन माग गरेको र नपाएपछि रुसमा सिग्नलको भ्वाइस कललगायत सुविधा कटौती गरिदिएको छ । दक्षिण कोरियाले एप्पल र गुगलजस्ता एप–स्टोर सेवा प्रदायकलाई एप निमार्ताले वैकल्पिक भुक्तानी प्रणालीबाट कारोबार गर्न पाउने सुविधा दिन कानुनी व्यवस्था लागू गरेको छ । एप स्टोरहरूले आफ्नै भुक्तानी प्रणाली प्रयोग गर्नुपर्ने बाध्यकारी अवस्था अस्वीकार गर्ने दक्षिण कोरियाको सो कानुनलाई धेरैले उदाहरणीय मान्छन् ।

त्यस्तै, गेमिङ एप निर्माणमा शक्तिशाली अमेरिकी कम्पनी एपिक गेम्सले अमेरिकाकै एप्पलविरुद्ध हालेको मुद्दा डिजिटल अर्थतन्त्र नियाल्नेका लागि पक्कै ठूलो घटना हो । इन–एप पर्चेज (खरिद गरेपछि मात्रै उपयोग गर्न पाइने एपभित्रका सुविधा वा डिजिटल सामग्री) मा ३० प्रतिशत कमिसन शुल्क लिने एप स्टोरको नीति अनुचित एवं अधिक भएको र एप्पलको आन्तरिक भुक्तानी प्रणालीबाटै कारोबार गराउनु प्रतिस्पर्धाविरुद्ध भएको भन्दै एपिक गेम्सले सन् २०२० मा क्यालिफोर्नियाको जिल्ला अदालतमा मुद्दा हालेको थियो । भुक्तानी प्रणाली र एप स्टोरमा एकाधिकार कायम गर्न खोजेको आरोपसहित एप्पलविरुद्ध अमेरिकी न्याय मन्त्रालयले पनि छुट्टै मुद्दा दायर गरेको छ । यी दुवै मुद्दा हाल विचाराधीन छन् ।

अमेरिकी कम्पनी मेटा प्लाटफर्मले बनाएका ह्वाट्स्एप र थ्रेड्स एप चीनमा उपलब्ध नहुने गरी आफ्नो अनलाइन स्टोरबाट हटाउन चीनले अघिल्लो हप्ता मात्रै एप्पललाई निर्देशन दिएको थियो । त्यहाँको इन्टरनेट सेवाको नियामक ‘साइबरस्पेस एड्मिनिस्ट्रेसन’ ले राष्ट्रिय सुरक्षा चासोका कारण ती दुईसँगै टेलिग्राम र सिग्नल एप पनि चीनमा उपलब्ध नहुने बनाउन एप्पललाई निर्देशन दिएको ‘रोयर्टस’ ले जनाएको छ । एप्पलले रोयर्टसलाई पठाएको इमेलमा ‘चिनियाँ नियामकको अनुरोध पालना गर्न आफूहरू बाध्य रहेको किनभने एप स्टोर सञ्चालन हुने जुनसुकै देशमा कम्पनीले स्थानीय कानुन मान्नैपर्ने’ उल्लेख रहेको समाचारमा भनिएको छ । आम निर्वाचनजस्ता राजनीतिक कार्यक्रमहरूका बेला विशेषत: सामाजिक सञ्जाल एप र सरकारहरूबीच ‘लभ–हेट सम्बन्ध’ को अवस्था आउने गरेको छ ।

डाउनलोड र डलरको एप अर्थतन्त्र

तपाईंहरूलाई कत्तिको याद छ– दस/पन्ध्र वर्षअघि फेसबुक, युट्युब, ट्विटर, स्काइप, एंग्री बर्डस्, क्यान्डी क्रसजस्ता मोबाइल एपहरू नयाँ छँदा र ती द्रुत गतिमा लोकप्रिय भइरहँदा विश्लेषकहरू भन्थे, ‘भविष्यमा वेब सर्फिङ बन्द हुनेछ किनभने सबैथोकका लागि एप बन्नेछन् ।’ त्यो विश्लेषण आज अर्धसत्य सावित भएको छ किनभने वेब सर्च मासिएको छैन, तर सबैथोकका लागि एप भने बनेका बन्यै छन् । डिजिटल गतिविधिको लेखाजोखा गर्ने स्टाटिस्टा, जीडीनेट, एप्टोपियाजस्ता अनलाइन साइटहरूको आकलनअनुसार, हाल गुगल प्ले–स्टोरमा करिब २८ लाख ७० हजार र एप्पलको एप स्टोरमा १९ लाख ६० हजार एप डाउनलोडका लागि उपलब्ध छन् ।

गेमिङ, प्रोडक्टिभिटी, इन्टरटेन्मेन्टदेखि हेल्थ एन्ड फिटनेसलगायत विविध विधाका एप हाम्रो दिनचर्यामा जोडिएका छन् । ट्याक्सी सेवा लिनेदेखि वित्तीय व्यवस्थापनका काम हामी एपमार्फत गर्न थालेका छौं । किनमेल, सञ्चार, वित्तीय कारोबार, यात्राका तौरतरिका एपहरूकै कारण सहज र सरल बनेका छन् । यिनै सुविधाले एप मार्केटप्लेस डेढ दशकभित्रै व्यापक ठूलो र प्रभावशाली बनिसकेको छ । एप उद्योगबारे अध्ययन गर्ने डेटा डट एआईको वार्षिक ‘स्टेट अफ मोबाइल’ प्रतिवेदनअनुसार, सन् २०२३ मा विश्वभर २५७ अर्ब पटक मोबाइल एप डाउनलोड भएका थिए । यसमध्ये सबैभन्दा धेरै ८८ अर्ब डाउनलोड हुनेमा गेमिङ एप थिए । गेमिङभित्र पनि मोनोपोली गो, सबवे सर्फर, रोब्लक्स, लुँडो किङ, ईए स्पोर्ट्स एफसी मोबाइल, ब्लक ब्लास्ट एड्भेन्चर मास्टरजस्ता गेम करोडौं पटक डाउनलोड भएको अध्ययनहरूले देखाएका छन् ।

डाउनलोडसँगै एपहरूको मूल्यांकन डलर (आम्दानी) मा पनि हुन्छ । एप उद्योगको समाचार सम्प्रेषण गर्ने ‘बिजनेस अफ एप्स’ का अनुसार, सन् २०१६ मा एपहरूको विश्वव्यापी बजार आकार १३ खर्ब अमेरिकी डलर रहेकोमा सन् २०२३ मा ६३ खर्ब डलर पुगेको थियो । हाम्रो दैनिक जीवनमा स्मार्टफोन अपरिहार्य बनेसँगै एपप्रतिको निर्भरता बढिरहेको छ । हरेक कामका लागि एप प्रयोग भइरहँदा एप निर्माता र एप बजारले प्रयोगकर्तालाई एप वा एपभित्रका फिचर (सुविधाहरू) किनेर मात्रै चलाउन मिल्ने (इन–एप पर्चेज) विकल्प दिएका छन् । कतिपय मोबाइल गेममा आवश्यक पर्ने एक्स्ट्रा लाइफ, गिफ्ट, नयाँ क्यारेक्टरदेखि एडिटिङ टुलमा चाहिने नयाँ–नयाँ फिल्टर वा एक्सेसरिजहरू एपभित्रै खरिद गर्न मिल्छ । प्रिमियम (शुल्क तिरेर मात्रै चलाउन पाइने) र फ्रिमियम (केही सित्तैमा र केही शुल्क तिरेर चलाउन पाइने) मोडलबाट एपहरूले आयआर्जन गर्छन् । एप्पलको एप स्टोरमा सशुल्क एपको संख्या करिब ९२ हजार र गुगल–प्ले स्टोरमा करिब ८४ हजार रहेको एप ट्र्याकरहरूको दाबी छ ।

यस अतिरिक्त एप मार्केटप्लेसबाट सित्तैमा इन्स्टल गर्न मिल्ने एपहरूले चाहिँ विज्ञापनमार्फत आम्दानी गर्छन् । खासमा ‘सित्तैमा पाइने एप’ पनि हामीले मूल्य नतिरी चलाइरहेका भने छैनौं । फेसबुक, इन्स्टाग्राम, एक्स, स्न्यापजस्ता सामाजिक सञ्जाल प्लाटफर्म होऊन् वा गेमिङ, ब्युटी, डेटिङ, सपिङ जुनसुकै वर्गका लाखौं ‘फ्रि एप’, तिनले एपभित्रै विज्ञापन राखेर वा प्रयोगकर्ताको डेटा विज्ञापन एजेन्सीहरूलाई बेचेर आम्दानी गरिरहेका हुन्छन् । त्यसकारण डिजिटल दुनियाँको लोकप्रिय भनाइ ‘इफ समथिङ इज फ्रि, यु आर द प्रोडक्ट’ एप बजारमा पनि लागू हुन्छ । यसको अर्थ यदि कुनै चिज नि:शुल्क चलाउँदै हुनुहुन्छ भने तपाईं आफैं बिक्रीमा राखिएको उत्पादन हो र तपाईं अरूबाट उपभोग भइरहनुभएको छ । प्रयोगकर्ताका रुचि, अनलाइन गतिविधि, कनेक्सन, स्वास्थ्य अवस्था, एप चलाउन खर्च गरिएको समयलगायत सम्पूर्ण डेटा कतिपय ‘फ्रि एप’ ले लक्षित विज्ञापनका लागि एजेन्सीहरूलाई बेच्छन् ।

राइड सेयरिङ, फुड डेलिभेरी, वालेटजस्ता विविध सेवा दिने एपहरूले चाहिँ प्रत्येक कारोबारबाट सीमित शुल्क (कमिसन) लिएर आयआर्जन गर्छन् । जस्तो, पठाओ चढ्दा हामीले तिर्ने शुल्कको २० प्रतिशत रकम राइडरले पठाओलाई दिन्छन् । मोबाइल वालेटहरूले पनि प्लाटफर्म उपलब्ध गराएबापत कतिपय कारोबारमा प्रयोगकर्ताबाट शुल्क लिन्छन् । फिल्म वा प्लेनको टिकट काट्दा वा अन्य सुविधा दिएबापत उनीहरूले व्यावसायिक साझेदारसँग पनि आर्थिक सम्झौता गरेका हुन्छन् । त्यस्तै, नेटफ्लिक्स, अमेजन प्राइमजस्ता भिडियो स्ट्रिमिङ सेवा प्रदायक, ‘द न्युयोर्क टाइम्स’, ‘द वालस्ट्रिट जर्नल’ जस्ता समाचार संस्था, स्पटिफाइ, एप्पल म्युजिक, युट्युबजस्ता म्युजिक स्ट्रिमिङ प्लाटफर्म, टिन्डर र बम्बलजस्ता डेटिङ एपहरूले पेड–सब्स्क्रिप्सन (शुल्क तिराएर ग्राहक बनाउने) मार्फत आम्दानी गर्ने बिजनेस मोडल अपनाएका छन् ।

एपहरूबाट गरिने विज्ञापन र इन–एप पर्चेजबापत एप मार्केटप्लेस प्रोभाइडर (गुगल प्ले, एप स्टोरलगायत) ले १५ देखि ३० प्रतिशत कमिसन लिन्छन् । योसँगै मार्केटप्लेसहरूले एप निर्माताहरूलाई पनि सब्स्क्रिप्सनको विकल्प दिने गरेका छन् । शुल्क तिरेर पाइने यो सेवा लिएपछि मार्केटप्लेसले एपहरूलाई थप भिजिबिलिटी अर्थात् सबैले देख्ने गरी अगाडि ल्याइदिने वा प्रयोगकर्तालाई इन्स्टल गर्न सुझाव दिनेसमेतका सुविधा दिन्छन् । ठूला एपहरूले जति पनि पैसा तिरेर अतिरिक्त सुविधा लिन पाउने भएपछि साना एप प्रतिस्पर्धामै आउन नसक्ने भन्दै एप मार्केटप्लेसका नीतिविरुद्ध कतिपय एप निर्माता र विभिन्न देशले आपत्ति जनाउँदै आएका छन् । त्यस्ता गुनासो सम्बोधन गर्न गुगल र एप्पलले आफ्ना ‘एप स्टोर स्मल बिजनेस प्रोग्राम’ जस्ता कार्यक्रममार्फत स्टार्टअपहरूलाई १५ प्रतिशतभन्दा कम कमिसन शुल्कमा स्पेस दिने, एप विकासलाई चाहिने शैक्षिक स्रोत जुटाउनेजस्ता गतिविधि गर्दै आएका छन् ।

गुगल र एप्पलको द्वयाधिकार

अनुमान छ– विश्वमा ७ खर्बभन्दा धेरै स्मार्टफोन प्रयोगमा छन् । मोबाइल नेटवर्क अपरेटरको विश्वव्यापी सञ्जाल ग्लोबल सिस्टम फर मोबाइल कम्युनिकेसन्स (जीएसएमए) को ‘मोबाइल इकोनमी २०२४’ प्रतिवेदनअनुसार, सन् २०२३ मा मोबाइल फोनका युनिक सब्स्क्राइबर विश्वभर साढे ५ अर्ब छन् अर्थात् कुल विश्वव्यापी जनसंख्याको ६९ प्रतिशतले मोबाइल बोक्छन् । यत्तिका मान्छेले दिनमा औसत ५ घण्टा समय मोबाइल एपहरूमा बिताउने ‘स्टेट अफ मोबाइल रिपोर्ट २०२४’ ले देखाएको छ । यसमध्ये सर्ट भिडियो/इन्टरटेन्मेन्ट र सामाजिक सञ्जाल एपअन्तर्गत इन्स्टाग्राम र टिकटकमा प्रयोगकर्ताले सबैभन्दा बढी समय खर्च गर्दा रहेछन् ।

विश्वमा यत्ति धेरै स्मार्टफोन र एप बनिरहेका छन्, तर यी सबैलाई प्रयोगमा वा उपभोक्तामाझ ल्याइपुर्‍याउने माध्यम भने मुख्यतया दुइटा मात्रै छन्– गुगल प्ले स्टोर र एप स्टोर । हुन त एन्ड्रोइड मोबाइल प्रयोगकर्ताका लागि सामसङ ग्यालेक्सी स्टोर, एपीके मिरर, एफड्रोइड, अमेजन एप स्टोरजस्ता विकल्प छन् र कुनै समय ब्ल्याकबेरी फोनको पनि आफ्नै एप स्टोर थियो । तथापि, अहिलेको समयमा सिलिकन भ्यालीका उल्लिखित दुई प्रमुख कम्पनीकै एप्लिकेसन स्टोरमा प्रभुत्व छ । सन् २०१८ मा चिनियाँ ब्रान्ड हुवावेले आफ्नै ‘एप ग्यालरी’ मार्केटप्लेस सार्वजनिक गरेको थियो । हुवावे डिभाइसका लागि आधिकारिक एप वितरण प्लाटफर्मका रूपमा प्रचार गरिएको एप ग्यालरी हाल १९० भन्दा धेरै देशमा उपलब्ध रहेको र विश्वको तेस्रो ठूलो एप मार्केटप्लेस भएको उसको दाबी छ ।

हुवावेले हालै मात्र आफ्नो अपरेटिङ सिस्टम हार्मोनी ओएस विश्वभर उपलब्ध हुने घोषणा पनि गरेको छ । गुगलको एन्ड्रोइड र एप्पलको आईओएसलाई टक्कर दिने गरी हार्मोनी ओएस विस्तार गरिने बताइन्छ । तथापि, वर्तमान अवस्थामा मोबाइल अपरेटिङ सिस्टमको ९० प्रतिशत बजार गुगल र एप्पलले कब्जा गरिरहेका छन् । अपरेटिङ सिस्टम र एप मार्केटप्लेसमा द्वयाधिकार भन्न मिल्ने यो अवस्थामा एप्पल कम्पनीको एप स्टोरमा स्थान पाउन एप निर्माताले वार्षिक १९ अमेरिकी डलर तिर्नुपर्छ । गुगलले चाहिँ एक पटक मात्रै लिने गरी २५ अमेरिकी डलरमा केही समयको ‘रिभ्यु’ पश्चात् प्ले स्टोर एप पब्लिस गरिदिन्छ ।

एप मार्केटप्लेसमा सूचीकृत भइसकेपछि एप्लिकेसनहरूको इन–एप पर्चेज र सब्स्क्रिप्सन शुल्कबापत गुगल र एप्पलले कमिसन लिन्छन् । वर्ष २०२३ मा १५ सय वटा एप र गेमहरूले १० अर्ब डलरभन्दा बढी आम्दानी गरेका थिए । ती एपमार्फत भएको कुल आम्दानीमा एप्पलका प्रयोगकर्ताहरूको योगदान ६६ प्रतिशत र एन्ड्रोइड प्रयोगकर्ताको योगदान ४१ प्रतिशत थियो । एपहरूको सब्स्क्रिप्सनबापत आउने आम्दानीबाट मात्रै दुई ठूला कम्पनीले झन्डै ४६ अर्ब अमेरिकी डलर आयआर्जन गरेका थिए ।

सन् २००८ मा एप स्टोर सुरु गर्दा त्यसमा ५०० वटा मात्रै एप थिए । त्यही वर्ष गुगलले एन्ड्रोइड मार्केटको नाममा मोबाइल एप्लिकेसनहरूको बजार व्यवस्थापन सुरु गरेको थियो । हाल अन्य सेवा प्रदायकहरू झन्डै पाखा लागिसकेको अवस्थामा यी दुई कम्पनीले डिजिटल मार्केटप्लेसमा गहिरो प्रभुत्व कायम गरेका छन् । विश्वव्यापी रूपमा प्रयोग गरिने विभिन्न डिभाइस र प्लाटफर्मका मालिक रहेका यी दुई कम्पनीले आफैं एपहरू उत्पादन पनि गर्ने गरेका छन् । अन्य एपबाट यिनले लिने शुल्क र एपहरूलाई प्रदान गर्ने स्थानबारे स्वेच्छाचारी भएको आरोप लाग्ने गरेको छ ।

नेपालको मोबाइल एप बजार

गुगल प्ले र एप स्टोरको तथ्यांकअनुसार, नेपालमा सन् २०२४ को अप्रिलसम्म सबैभन्दा धेरै डाउनलोड हुने एपमध्ये ‘१‍.१.१.१ प्लस वार्प : सेफर इन्टरनेट’ पहिलो नम्बरमा छ । सामाजिक सद्भाव र वातावरणमा खलल पुर्‍याउन भूमिका खेलेको भन्दै गत कात्तिकमा सरकारले टिकटक बन्द गर्ने निर्णय गरेयता नेपाली प्रयोगकर्ताले १‍.१.१.१ एप इन्स्टल गरी टिकटक चलाउने जोहो गर्ने गर्दै आएको देखिन्छ । अमेरिकी कम्पनी क्लाउडफेयरले बनाएको यो एपले भीपीएनजस्तो सेवा दिन्छ ।

त्यस्तै, नेपालमा अधिक डाउनलोड हुने एपमा फ्रि फायर, ह्वाट्एप मेसेन्जर, फेसबुक लाइट, क्याप कट–भिडियो एडिटर, इन्स्टाग्राम, टिकटक, मेसेन्जर, सेयरइट, इमो, रेमिनी : एआई फोटो इन्हान्सर, टेम्पल रन २, स्न्यापच्याट, अलिबाबा मार्केटप्लेस, लुडो किङ, पिज्जा रेडी, इन्डियन बाइक्स ड्राइभिङ थ्रीडीलगायत छन् । सिमिलर वेबको तथ्यांकअनुसार, यीमध्ये नेपालमै बनेका ईसेवा मोबाइल वालेट, लुँडो, हाम्रो पात्रो र हाम्रो नेपाली किबोर्ड सर्वाधिक डाउलोड हुने सूचीको क्रमश: १७, २२, २८ र ४५ औं स्थानमा छन् । ट्रेन्डिङमा रहेका एपमा चाहिँ इन्स्टाग्राम लाइट, हेल्थ ट्र्याकर, पठाओ, टु प्लेयर गेम्स : द च्यालेन्ज र स्पीडी क्वार्क भीपीएन र भीपीएन मास्टर छन् ।

एपहरूबारे लेखाजोखा गर्ने डेटा डट एआईको अनुमानअनुसार, नेपालमा सबैभन्दा बढी आम्दानी गर्ने विदेशी एपमा क्यासल क्लास, बिट लाइफ, फ्रि फायर, पबजी मोबाइल, टिकटक, बीएमह्वाट, क्लास अफ लर्ड्स टु, अमेजन प्राइम भिडियो, फेसबुक र कल मि इम्पेरर छन् ।

केही समयअघि नेपाली एप बजारबारे एक सर्वेक्षण गरेका एप डेभेलपर एनजे सुवेदीका अनुसार, नेपालमा ५ हजारभन्दा बढी संख्यामा स्थानीय एप निर्माण भएका छन् । एप डेभेलपरहरूको संख्या १ हजार आसपास रहेको उनले बताए । सुवेदीका अनुसार, सबैभन्दा धेरै न्युज एपहरू बन्ने गरेका छन् । ‘हाम्रा डेभेलपरहरूले नेपाल वा नेपालभित्रकै कुनै क्षेत्रलाई लक्ष्य गरेर एप बनाइरहेका छन् जब कि हाम्रा लागि विश्व बजारमा खुला अवसर छ,’ उनले भने, ‘विश्व बजारको विशेष क्षेत्र (निस एरिया) लाई लक्षित गरेर एप्लिकेसन बनाउन सके हाम्रा लागि राम्रो सम्भावना छ ।’ सुवेदीकै कम्पनी यार्सा ल्याब्सले विकासोन्मुख देशका प्रयोगकर्तालाई लक्षित गरी बनाएको लुँडो र कलब्रेक एप गुगल प्लेस्टोरमा मात्रै १० करोडभन्दा बढी डाउनलोड भइसकेका छन् ।

‘विदेशी एपसरह नेपाली एपलाई आम्दानीका विभिन्न विकल्प उपलब्ध छैनन्, विज्ञापन एक मात्र आय स्रोत हो,’ सुवेदीले भने, ‘गुगल र एप्पलले उनीहरूकै भुक्तानी प्रणालीबाट कारोबार गर्न लगाउने र त्यो प्रणाली नेपालमा उपलब्ध नभएकाले सशुल्क एप बनाउन र प्रयोग गर्न सहज छैन । इन–एप पर्चेज सुविधा पनि भुक्तानी प्रणालीकै कारण नेपालमा चल्दैन ।’ कतिपय प्रयोगकर्ता र एप डेभलपरहरूले विदेशमा रहेका साथीभाइ वा आफन्तमार्फत इन–एप पर्चेज फिचर लिइरहेको उनले बताए । इन–एप एड्भरटाइजिङ र रिवार्ड बेस्ड एड्भर्टाइजिङबाट नेपालका एप निर्माताहरूले आम्दानी गर्ने गरेको अनुमान गरिएको छ । यस्ता विज्ञापनमा रियल–टाइम बिडिङ (आरटीबी) विधिमार्फत एक मिलिसेकेन्डभित्र कुन विज्ञापन कुन प्लाटफर्ममा कति अवधिका लागि देखाउने भन्ने स्वचालित रूपमा तय हुन्छ ।

अझै बलियो बन्ने एप अर्थतन्त्र

दैनिक झन्डै डेढ अर्ब अमेरिकी डलर बराबर रकम मोबाइल एपहरूमा खर्च भइरहेको अहिलेको अवस्थाबाट अगाडि बढ्दा एप्लिकेसनहरूको बजार अझै बढ्दै जाने स्पष्ट संकेत देख्न सकिन्छ । नेपालसमेत संसारभरका स्थानीय र संघीय सरकारका धेरै काम मोबाइल एपबाट हुन थाल्नु, फाइभ जी र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लगायतका नयाँ प्रविधिले एपहरूमाथिको निर्भरता र उत्साह बढाउँदै लानु, एआर/भीआरजस्ता पछिल्ला प्रविधिले प्रयोगकर्ताको अनुभव अझै उत्तम बनाउनुले एपको अर्थतन्त्र थप बलियो बन्ने आकलन गर्न सकिन्छ ।

वर्ष २०२३ मा प्रयोगकर्ताहरूले मात्रै १७१ अर्ब अमेरिकी डलर एप्लिकेसन र सम्बन्धित खरिदमा खर्च गरेको र कम्पनीहरूको झन्डै ३६२ अर्ब अमेरिकी डलर विज्ञापनमा खर्च भएको देखिनुले यो बजार दरिलो गरी विकास हुँदै गएको बुझ्न सकिन्छ । फाइभ जी प्रविधिले बढाउने इन्टरनेटको गति र प्रभावकारिता, दिनानुदिन एपहरूमा तीव्र गतिमा समाहित हुँदै गएको एआई प्रविधि र एआर/भीआरले बढाउने गेमिङजस्ता एपको प्रयोगले एप बजारको आकार अझै बढ्ने देखिन्छ । विश्वव्यापी रूपमा वित्तीय तथा उपभोक्तासम्बन्धी तथ्यांक विश्लेषण गर्ने कम्पनी स्टाटिस्टाको एक अनुमानअनुसार, वर्ष २०२४ भित्र मोबाइल एपको विश्व बजार बढेर ५२२ अर्ब अमेरिकी डलर र सन् २०२७ सम्ममा ६७५ अर्ब अमेरिकी डलर आसपास पुग्ने छ । यो दशकको अन्त्यसम्ममा यो क्षेत्रले आफ्नो उल्लेख्य प्रगति जारी राख्ने र वार्षिक औसत १४ प्रतिशतको वृद्धि कायम राख्न सक्ने कम्पनीको अनुमान छ ।

वर्ष २०२४ मा भने व्यक्तिगत गेमिङ, डेटा सुरक्षा र गोपनीयतासँगै फिटनेस र जेनेरेटिउभ एआईमा आधारित एपहरूको वर्चस्व रहने देखिएको छ । एन्ड्रोइड फोनहरूका लागि बनाइएको नियग्रा लन्चर, वन पासवर्ड नामक पासवर्ड म्यानेजर, ब्रेभ प्राइभेसी र डकडकगोजस्ता ब्राउजरसँगै ओबी फिटनेस, स्मोकफ्री, युकाजस्ता स्वास्थ्यसम्बन्धी एप, क्विकेन डिलक्स नामक खर्च व्यवस्थापक, एआर र जेनेरेटिभ एआईमा आधारित एपहरू यो वर्ष आउने तयारीमा छन् । यस्तै, मोबाइल र एप्लिकेसन बजारका प्रमुख खेलाडीहरू गुगल र एप्पलले पनि प्रयोगकर्ताहरूको व्यक्तिगत अनुभवसँग जोडिने गरी नयाँ–नयाँ एपहरू बजारमा ल्याउने प्रयास गरिरहेका छन् ।

प्रयोगकर्ताहरू बढ्दै जाँदा र विकासोन्मुख देशहरूसम्म स्मार्टफोन फैलिँदा एप निर्माण कार्य पनि विकेन्द्रित हुँदै गएको छ । पहिले अमेरिकाको सिलिकन भ्याली आसपास मात्रै सीमित रहने गरेको एप निर्माण कार्य पछिल्लो समय चीन, भारत, दक्षिण कोरिया, इजरायल, रुस, जर्मनीलगायत देशमा पनि विस्तार भएको छ । सन् २०२४ मा अमेरिकामा डाउनलोड भएका एक सयमध्ये २६ वटा एप गैर–अमेरिकी अर्थात् विभिन्न देशमा बनेका थिए । क्यानडाको सपिफाइ, अस्ट्रेलियाको क्यान्भा, इजरायल, रुस, टर्की र अन्य देशका एपहरू अमेरिकामा उल्लेख्य डाउनलोड हुनेमा पर्छन् ।

एप डेभेलपरहरूले आकर्षक मान्दै आएको अमेरिकी बजारमा पछिल्लो टिकटक कानुनले भने धेरैलाई झस्काइदिएको छ । स्विस कम्पनी प्रोटनले अमेरकी संघीय सरकारले कुनै पनि बेला एपहरूमा प्रतिबन्ध लगाउन सक्ने र त्यसले इन्टरनेट स्वतन्त्रतामा बन्देज लगाउने प्रतिक्रिया दिएको छ । युरोपका विज्ञहरूले चाहिँ अमेरिकी एपले पनि आफ्ना देशका नागरिकको डेटा गोपनीयतामा जोखिम निम्याउन सक्ने औंल्याइरहेका छन् । टिकटकले अदालतमा मुद्दा हाल्ने भनिसकेको छ । ‘कतै हामीले यस्तो नजिर त बनाएनौं, जसले कालान्तरमा पटक–पटक हामीलाई सताइरहनेछ ?’ हार्वार्ड विश्वविद्यालयका भिजिटिङ प्रोफेसर अनुपम चन्दरको भनाइ छ, ‘अमेरिकाकै कदम चालेर अन्य देशले अमेरिकी एपलाई पनि प्रतिबन्ध लगाउन वा शंकाको दृष्टिले हेर्न सक्छन् ।’

प्रकाशित : वैशाख २२, २०८१ ११:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?