कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

‘खामोसी’की मनीषा २८ वर्षपछि ‘हिरामन्डी’मा

अभिनेत्री मनीषा कोइरालाले ‘खामोसी : द म्युजिकल’ मा २८ वर्षअघि निर्देशक सञ्जयलीला भन्सालीसँग काम गरेकी थिइन् । मनीषालाई भन्सालीसँग फेरि सँगै काम गर्ने सपना थियो । उनको त्यो सपना नेटफ्लिक्स सिरिज ‘हिरामन्डी : द डाइमन्ड बजार’ बाट पूरा भएको छ ।
हिमेश

काठमाडौँ — यतिबेला अभिनेत्री मनीषा कोइराला साह्रै खुसी छन् । उत्तिकै उत्साहित पनि छिन् । उनी अभिनीत सिरिज ‘हिरामन्डी : द डाइमन्ड बजार’ आज (मे १) देखि रिलिज भएको छ । यसलाई नेटफ्लिक्समा हेर्न सकिन्छ ।

‘खामोसी’की मनीषा २८ वर्षपछि ‘हिरामन्डी’मा

यसबाट चर्चित निर्देशक सञ्जयलीला भन्साली पनि ओटीटीमा डेब्यु गरेका छन् । भारतीय मिडियामा यो सिरिजबारे चारैतर्फ चर्चा छ । मनीषा स्वयंले पनि अलिकति धेरै नै भावुक भएर अन्तर्वार्ता पनि दिइरहेकी छन् । सबैलाई थाहा छ, भन्सालीको बलिउडमा छुट्टै छाप र प्रभाव दुवै छ ।

सबैभन्दा पहिले भन्सालीसँग काम गर्न पाएकैमा मनीषा खुसी छिन् । उनीहरू दुई जनाले केही खासखास फिल्ममा सँगै काम पनि गरेका छन् । जस्तो, ‘१९४२ : ए लभ स्टोरी’ र ‘खामोसी : द म्युजिकल’ । त्यसमध्ये खामोसीमा त भन्साली आफैं निर्देशक थिए । यो फिल्म आफैंमा सफल रह्यो । आलोचकले पनि यसलाई मन पाएका थिए । अनि यसमा मनीषाको अभिनयलाई पनि रुचाइएको थियो । सन् १९९६ मा खामोसी रिलिज भएको थियो, अब त यो पनि २८ वर्ष पुरानो कुरा भयो ।

त्यही बेलादेखि मनीषाको मनमा एउटा कुरा थियो, फेरि दोहोर्‍याएर भन्सालीसँग काम गर्ने । तर यो पूरा भयो, धेरै पछि, सन् २०२४ मा आएर । अनुहारभरि हाँसो सजाएर मनीषाले भनेकी छन्, ‘फेरि अर्को काम सँगसँगै गर्न २८ वर्ष नलगाऔं है भन्साली ।’ हिरामन्डीमा उनले कसरी अवसर पाइन् त ? उनले आफैं सुनाएअनुसार, जति बेला भन्सालीले यसबारे कुराकानी गर्न चाहे, त्यतिबेला मनीषा काठमाडौंमा थिइन् । बगैंचातिर आफूलाई व्यस्त राखिरहेको बेला थियो ।

तर जतिबेला भन्सालीको प्रस्ताव सुने, दंग परिन् । उनको प्रगति देखेर मनीषा आफैं खुसी थिइन् । खामोसी बनाएका भन्साली र अहिलेका तिनै भन्सालीमा धेरै फरक छ । यसमा उनको करियरको ग्राफले माथि मात्र चढ्न जानेको छ । मनीषा आफैं पनि अब त्यस्ती रहिनन्, जस्तो खामोसीको बेला थिइन् । खासमा यति धेरै समयपछि यति राम्रो सिरिजमा उत्तिकै राम्रो निर्देशकसँग काम गर्न पाएकोमा मनीषालाई अत्यधिक खुसी लागेको हो ।

उनले साँच्चै भावुक भएर भनेकी छन्, ‘मलाई क्यान्सरले छोएको थियो । त्यो पनि चौथो स्टेज पुगिसकेको थियो । तर म अझै ज्युँदै छु । मेरा लागि त यो दोस्रो जीवन जस्तै हो । मलाई आफू बाँच्ने हो अथवा होइन, थाहा थिएन । न त कति समय बाँच्ने थाहा थियो । अहिले मैले हिरामन्डी जस्तो सिरिजमा काम गर्ने मौका पाएकी छु । उत्तिकै महत्त्वपूर्ण भूमिका पाएको छु । यो त कोही पनि अभिनेताका लागि दोस्रो जीवन हो जस्तै लाग्छ ।’

यसपल्ट हिरामन्डीमा मनीषा खेल्न लागेको भूमिका भने ‘मल्लिका जान’ को हो । यो सिरिजमा उनी मात्र छैनन्, अरू धेरै भूमिमा अरू धेरै अनिनेता अभिनेत्री छन् । जस्तो, सोनाक्षी सिन्हा, सन्जिदा सेख, ऋचा चढ्ढा, अदीति राव हैदरी । मनीषा भन्छिन्, ‘कलाकारका रूपमा सबैलाई राम्रो पटकथामा काम गर्ने इच्छा हुन्छ । हामीलाई राम्रो भूमिका र पटकथा मात्र होइन, उत्तिकै राम्रा ‘फिल्ममेकर’को मूल्य थाहा छ । भन्साली केही राम्रो गर्न कहिल्यै सम्झौता गर्ने खालका होइनन् ।’

हिरामन्डीसँगै अभिनेता फरदिन खानले पनि पुनरागमन रच्दै छन्, त्यो पनि १४ वर्ष लामो समयपछि । फरदीप आफैं पनि भावुक हुने भए नै । यी पछिल्ला १४ वर्षमा फरदिनका जीवनमा धेरैथोक भयो । बलिउडबाटै उनै पूरापूर हराएको स्थितिमा पुगेका थिए । उनलाई धेरैले सम्झन पनि छाडेका थिए । हिरामन्डीमा उनी ‘वाली मोहम्मद’ को भूमिका हुनेछन् । ‘यति धेरै लामो समयपछि पुनरागमन गर्नका लागि यो भूमिका मेरो उमेरको आधारमा पनि सही हो ।’

हिरामन्डीसँग जोडिएका अनेक कथा छन् । ती त्यसै पनि दोहोर्‍याएर सुनिने हुन्छ । अझ यसैबारे सिरिज आउने भएपछि चर्चा चुलिने भयो नै । यो सिरिजलाई पछ्याउने हो भने यसको इतिहास अलिकति भए पनि बुझ्न भने आवश्यक हुन्छ । सिरिजको ‘फर्स्ट लुक’ जारी भइसकेको स्थितिमा धेरैले हिरामन्डीबारे बुझ्न पनि खोजेका छन् । यसका लागि हामी भौगोलिक रूपमा पाकिस्तानको लाहोर जानु पर्ने हुन्छ । अनि समयको आधारमा मुगलकालतिर पनि फर्किनुपर्ने हुन्छ ।

खासमा हिरामन्डी लाहोरमा रहेको ‘रेडलाइट एरिया’ हो । कुनै समय यसलाई शाही मोहल्ला पनि भनिन्थ्यो । जति बेला भारत र पाकिस्तान टुक्रिएका थिएनन्, त्यति बेला यो खुबै चर्चित थियो । भनिन्छ, त्यहाँको कोठामा माया प्रेम मात्रै साटिन्न । त्यहाँ राजनीति पनि हुन्छ । राजनीति भनेपछि धोका हुने भयो नै । मुगलकालमा यहाँ टाढाटाढा देशबाट पनि महिला ल्याइन्थ्यो । त्यहाँ संगीत र नृत्य प्रस्तुत हुन्थ्यो । यो संस्कृतिकै एक भाग जस्तै थियो ।

त्यहाँ नामी राजामहाराजा पुग्थे । समयसँगै हिरामन्डी त्यस्तो रहेन । मुगलकाल समाप्त भएसँगै त्यहाँ ब्रिटिस राज सुरु भयो । हिरामन्डीले त्यसको वास्तविक परिचय र चमक गुमायो । इतिहासले के भन्छ भने त्यो समय मन्त्री रहेका हिरासिंह डोगराबाटै यो ठाउँको नाम जुरेको थियो । उनी सिख राजा रणजित सिंहका मन्त्री थिए । यी मन्त्रीले अन्न राख्ने मन्डी बनाएका थिए । त्यसैले यसको नामै हिरामन्डी भयो । अचेल सूर्य ढल्यो कि यो ‘रेडलाइट एरिया’का रूपमा बदनाम हुन्छ ।

प्रकाशित : वैशाख १९, २०८१ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?