कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सखर बनाउँदै किसान [तस्बिरहरु]

लक्ष्मी गौतम

पाँचथर — कोही उखु काट्दैछन्, कोही पात खुर्किदैछन् । कोही नाम्लो लगाएर भारी बाँध्दैछन् भने कोही उखु पेल्दैछन् । अनि अरु केही भने उखु पेलेर निकालिएको खुदो पकाएर सखर बनाउँदैछन् । पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा भएर बग्ने हेवा खाेला किनार आसपासका किसान आजभोलि सखर बनाउन व्यस्त छन् । व्यवसायिक रुपमा कालो र सेतो उखुको खेती गर्दै आएका यहाँका किसान माघ दोस्रो सातादेखि चैत पन्ध्रसम्म यस्तै व्यस्ततामा भेटिन्छन् । फागुनमै सखर बनाइसकेकाहरु बारीमा उखु रोपिरहेका भेटिन्छन् भने कोही गोडमेलमा व्यस्त छन्।

 चैतभित्र पकाइ नसके उखुको रस नष्ट हुने भएकाले सखर बन्दैन । किसानलाई सखर बनाउने हतारो छ । औषधीय गुणलेयुक्त मानिने ज्ञवरा जातका उखुको सखरको माग र मुल्य राम्रो छ । उखु पेलेर पकाइएको रस कराइमा पकाएपछि खुदो तयार हुन्छ । अब फेरि यो खुदो भुंग्रोमा २ घण्टासम्म पकाउँदा सखर तयार हुन्छ । यो सवै प्रक्रिया पूरा गर्न करिब ५ घण्टा लाग्ने हिलिहाङ गाउँपालिका-७ का किसान भिमप्रसाद पोखरेल बताउँछन् । यसरी तयार पारिएको सखर सदरमुकाम फिदिम हुँदै झापा,मोरङ सुनसरी हुँदै काठमाडौंसम्मका ग्राहकले किनेर लैजान्छन् । अहिले फिदिम नगरपालिका-४ र हिलिहाङ गाउँपालिका-७ मा मात्रै २५ परिवारले सखर उत्पादन गर्दछन् । उनीहरुले तयार पारेको खुदो प्रति बोत्तल तीनसय पचास र सखर प्रतिकिलो पाँचसय रुपैयाँमा बिक्री हुन्छ ।


प्रकाशित : चैत्र ४, २०८० १५:२५
प्रतिक्रिया
पठाउनुहोस्