२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

उद्यमशीलताबाट उठेको जीवन

पाठक पत्र

संघदेखि प्रदेश र स्थानीय सरकारसम्मका पदाधिकारी भएभरका युवालाई विदेश धकेल्न अग्रसर छन् । विदेशमा पाएको हन्डरदेखि आत्तिएर फर्केका र कतै नगई व्यक्तिगत परिश्रमबाट सफलता पाउन खोज्नेहरूको संख्या भने क्रमिक रूपमा बढिरहेको छ । यसै क्रममा ‘दुबईका श्रमिक इलामका इलमी’ शीर्षकको खबर उद्यमी बन्न खोज्नेलाई अवसरको कमी नभएको विषयसँग सम्बन्धित छ ।

दुबई (यूएई) मा अफिस ब्वाई बनेर ७ वर्ष पसिना बगाउँदाका दुःखकष्टबाट उम्केर फर्केका इलाम–४ जस्बिरेका जयकुमार राईले चिया खेती थालेका हुन् । दिनमा १२ घण्टा चिया बगानमा रमाउँदै आएका राईको लगनशीलताका कारण चिया उत्पादन प्रविधि विस्तार भएको छ ।

बजारीकरणमा पनि समस्या देखिँदैन । ४० रोपनी जग्गामा चिया खेती गरेका राईले सबै खर्च कटाएर मासिक डेढदेखि दुई लाख रुपैयाँ बचत गर्छन् । गाईको मलमूत्रको उपयोग गरेर रासायनिक मल, विषादी प्रयोगबेगर उत्पादित जैविक चियाले उच्च मूल्य पाउने गरेको सन्दर्भ उल्लेख्य छ ।

उनले उत्पादित चियामध्ये २५ प्रतिशतबाट ब्ल्याक लिफ, ग्रिन लिफ र हाते पत्ती बनाएर बिक्री गर्छन् । ७५ प्रतिशत भने प्रशोधन नगरीकन (हरियो पत्ती) नजिकैको जस्बिरे टी प्रोसेसिङ कम्पनीलाई बिक्री गर्छन् । यहाँनिर उल्लेख्य कुरा गर्दा हातले माडेर तयार गरेको हाते पत्ती, ग्रिन गोल्ड र ब्ल्याक गोल्ड प्रतिकिलो दुई हजार रुपैयाँसम्ममा बिक्री हुने गर्छ ।

राईजस्ता उद्यमीबाट उत्पादित अर्गानिक चिया जापान, जर्मनी, डेनमार्क, बहराइनलगायत देशमा समेत निर्यात हुनुले इलामको चियाको महत्त्व झल्काउँछ । उद्यमीको व्यक्तिगत प्रयासबाट उच्चकोटीको चिया सीमित परिमाणमा निर्यात हुन्छ । ठूलो मात्रामा भारत निकासी हुने चियालाई त्यहाँको सरकारले अनेक बहानामा बारम्बार अवरुद्ध गर्दै आएको छ ।

निर्यात प्रवर्द्धनमा संघीय सरकारले चासो दिएको छैन । प्रदेश सरकार टिठलाग्दो राजनीतिमा रुमल्लिएको छ । वर्तमान शासकीय व्यवस्थावाट थिचिएका, उपेक्षित बनेका कृषकले कहिले उठ्ने मौका पाउने ?
– भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं

प्रकाशित : वैशाख २८, २०८१ ०५:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?