२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

कांग्रेसलाई उपनिर्वाचनको सन्देश 

नयाँ मतदाता कांग्रेसप्रति आकर्षित नभइरहेको अवस्था र अन्य शक्तिको पनि उदय भएकाले आगामी दिन सहज छैन । चुनावअगाडि कुनै दलसँग गठबन्धन नगर्ने घोषणा गरेको दलले अब उपनिर्वाचन परिणामको सघन विश्लेषण गर्न जरुरी छ ।
डिला संग्रौला

गत वैशाख १५ गते इलाम तथा बझाङमा भएको उपनिर्वाचनमा संसद्को ठूलो दल भएर पनि नेपाली कांग्रेसले नतिजा आफ्नो पक्षमा पार्न सकेन । कांग्रेस एक भएर चुनावमा होमिँदा पनि आफ्नो पक्षमा परिणाम आउन नसक्नुलाई गम्भीर समीक्षा गरेर अगाडि बढ्न जरुरी छ ।

कांग्रेसलाई उपनिर्वाचनको सन्देश 

इलाममा भएको प्रतिनिधिसभा र बझाङमा भएको प्रदेशसभा चुनावको समीक्षा गर्दै चुनाव जतिबेला पनि हुन सक्ने भएकाले जीवन्त पार्टीमा आगामी दिनको रणनीति तय गर्न आवश्यक छ । इलामको सन्दर्भमा म धेरै पटक पुगेको र पछिल्लो उपनिर्वाचन प्रचारमा खटिएको अनुभवका आधारमा त्यहाँका समस्यालाई कांग्रेसले सम्बोधन गर्न ढिला गरेको जस्तो लाग्छ ।

चुनाव अगाडि हामीले जित्ने आकलन गरेका थियौं र त्यसैअनुसार तयारी गरेर मैदानमा होमिएको अवस्थामा पनि सफलता हात पार्न सकेनौं । इलाममा कांग्रेसले समानुपातिकतर्फ जति मत ल्याएको थियो, त्यो जोगाउन सफल भएको छ । विगतमा एमालेका प्रभावशाली नेता सुवास नेम्वाङको व्यक्तित्वका कारण १ सय १४ मतले पराजित हुँदा कांग्रेस त्यतिबेला गठबन्धनमा थियो । अहिले एक्लै चुनाव लडेकाले आफ्नो मत सुरक्षित गर्दा पनि पराजित भएको छ । अहिलेको परिणामले निराश भइहाल्ने अवस्था भने छैन ।

२०७९ को चुनावपछि कोशीमा धेरै पानी बगिसकेको छ । विगतमा कांग्रेस र एमाले नै इलामको सन्दर्भमा प्रतिस्पर्धी दल थिए भने कोशी प्रदेशको नामकरणपछि पहिचानवादीहरू एकजुट भएर चुनावी मोर्चामा होमिँदा नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि आफूलाई प्रतिस्पर्धामा उतारेको थियो । इलाममा जातीयता र पहिचानका कारण मत काट्ने काम भएको छ भने एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई एमालेको बलियो संगठनको साथ थियो । सँगसँगै माओवादी र विप्लव समूहको साथ रहँदा उनलाई जित निकाल्न सहज भएको हो । माओवादीले २०७९ सालमा समानुपातिकतर्फ ल्याएको ५ हजार मत एमालेका उम्मेदवारमाथि खन्याउँदा जित सहज भएको रूपमा बुझ्नुपर्ने हुन्छ ।

अन्तिम समयमा निर्णय गर्ने रोग कांग्रेसको पहिलादेखि नै हो । यसले पनि केही असर गरेको छ । अन्य दलले टिकट पक्का गरेर उम्मेदवारी दर्ता नहुँदै प्रचारप्रसारमा केन्द्रित भइसक्दा हामी भने टिकटको रस्साकसीमै बढी समय खर्चियौं । जसले गर्दा हाम्रा उम्मेदवारले चुनावी प्रचारप्रसार गर्ने समय एकदमै कम पाए । इलाम क्षेत्र नम्बर–२ का ४२ वटै वडामा पुगेर मतदातासँग मत माग्न सक्ने अवस्था पनि बन्न सकेन । यसैगरी, टिकट वितरणमा ढिलाइ हुँदै गर्दा पनि हाम्रो मनस्थिति बाँडिएको थियो । पार्टीको गुटगत कुरा यहाँ जोडिए । भलै, टिकट दिइसकेपछि सबै एक ठाउँमा आएर चुनावी प्रचारप्रसारमा लागे पनि अन्तिम समयमा भएको प्रयासले सार्थकता पाउन सकेन ।

उपनिर्वाचन प्रचारका क्रममा पार्टीका साथीहरूसँगै हामी पुगेको फाकफोकथुङ गाउँपालिका विकट छ । इलामका धेरै पालिकामा बाटो पुग्न सकेको छैन । रोजगारीको समस्या त राष्ट्रिय नै भइहाल्यो । अहिले पनि धेरै पालिका विकट र अप्ठेरो अवस्थामा छन् । इलाममा २५ वर्षदेखि सुवास नेम्वाङले जित्दै आउनुभएको थियो । यति लामो समयसम्म एमालेले जित्दै गर्दा पनि विकास र पूर्वाधारमा पहुँच छैन भन्ने मुद्दा उठाउँदा मतदाता आकर्षित गर्न सकिन्छ भन्ने सोचेर अभियानमा लागेका थियौं । तर, यसले मतदातालाई छुँदै छोएन । बहुसंख्यक मतदाताले पुरानै शक्तिलाई रोजेर एमालेप्रति नै विश्वास व्यक्त गर्नुभयो । त्यसैले विकासको मुद्दासँगै स्थानीय संगठनलाई बलियो बनाउने कुरा पनि त्यत्तिकै महत्त्वपूर्ण छ भन्ने फेरि पुष्टि भएको छ ।

कांग्रेसले इलामको चुनावमा इलाम बनाउने मुद्दा लिएर गएको हो । इलाममा कोशी प्रदेश नामकरणपछिको विवादले उग्ररूप लिन पुग्यो । पहिचानका आधारमा प्रदेश १ को नामकरण हुनुपर्छ भनेर आन्दोलन गर्ने आन्दोलनकारी शक्ति नै चुनावी प्रतिस्पर्धामा उत्रिँदा उसले पनि राम्रो मत पायो । पहिचानको विषयमा कांग्रेसले व्याख्या विश्लेषण गरेर बुझाउने प्रयास गर्दा पनि मतदाता बुझ्न असमर्थ भए । हाम्रा जिल्ला सभापतिहरूको भेलाले पहिचानको मुद्दाका बारेमा स्पष्ट बोलेको बिर्सिएर जसले पहिचानको मुद्दालाई अपहेलना गरेको थियो, उसैको पार्टीका उम्मेदवारलाई जिताए । पहिचानको पक्षमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमलाई मुढा चुनाव चिह्नमा भोट हाल्दा यसको असर पनि कांग्रेसलाई पर्न गयो ।

इलामको मतपरिणाम हेर्दा यसले पहिचान सँगसँगै जातीय राजनीतिको मुद्दालाई पनि देखाएको छ । महासमितिको बैठक पछाडि आउँदा दिनमा अरूसँग गठबन्धन नगर्ने निर्णय गरेको कांग्रेसले तत्काल इलाम र बझाङमा यसको अभ्यास गर्न पाएको छ । नतिजाका हिसाबले दुवै ठाउँमा कांग्रेस पराजित भयो, तर २०७९ सालमा भएको आम निर्वाचनमा कांग्रेसले प्राप्त गरेको समानुपातिक मत नै अहिलेका उम्मेदवारले ल्याउनु सकारात्मक भए पनि यसको समीक्षा गर्नुपर्छ । युवा महामन्त्री साथीहरू यो चुनावमा खुबै खट्नुभयो । उहाँहरूका साथमा हामी पनि लाग्दा नतिजा कांग्रेसको पक्षमा नआउनु दुःखको कुरा हो । हामी चुनावी रणनीतिका साथ मैदानमा रहँदा हाम्रो रणनीतिभन्दा पनि विपक्षीको तीन दलीय गठबन्धन र पहिचानवादी उम्मेदवारको सशक्त उपस्थिति नै कांग्रेसका लागि भारी परेको हो ।

एक्लै चुनाव लड्दा कांग्रेसले आफ्नो शक्ति पहिचान गर्न पाएको छ । सँगसँगै कांग्रेस बुढाहरूको मात्रै पार्टी हो र नेता जम्मै भ्रष्टाचारी छन् भन्ने भाष्य निर्माण भएको छ । यसलाई हामीले चिर्न जरुरी भइसकेको छ । किनभने परिवर्तन हुँदाखेरिको आन्दोलन नदेखेका व्यक्तिहरू अहिले बालिग मतदाता भइसकेकाले विगतमा कांग्रेसले २००७, २०३६, २०४६ र २०६२–०६३ को आन्दोलनमा खेलेको भूमिकाको कुरा गर्दा ती मतदाताले पत्याउनेवाला छैनन् । उनीहरू बीपी, गणेशमान, किसुनजी चिन्ने पुस्ताका पनि होइनन् ।

अहिले २१ औं शताब्दी सूचना र प्रविधिको युग भएकाले आफ्ना आवश्यकताका बारेमा उनीहरू जानकार त हुन्छन् नै सामाजिक सञ्जालको बढ्दो प्रयोगका कारण आम युवा भूतकालभन्दा वर्तमानका कुरामा बढी आकर्षित हुने गर्छन् । त्यसका लागि पनि कांग्रेसले इतिहासको ब्याजका कुरा मात्रै गर्ने होइन कि वर्तमानको आवश्यकता परिपूर्ति गर्ने र भविष्यको सुन्दर दृश्य देखाएर मतदातालाई आकर्षित गर्नुपर्छ । पछिल्लो समय कांग्रेसलाई भ्रष्टाचारीको पार्टी भन्ने आरोप लाग्ने गरेको छ । यसका विषयमा पनि बुझाउन जरुरी छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कांग्रेसको सरकारले बनाएको हो । भलै, कांग्रेस नेताहरू नै भ्रष्टाचारी ठहर हुँदा पार्टीले कहिल्यै भ्रष्टाचारीको संरक्षण गरेको छैन । भ्रष्टाचारमा पर्ने नेताहरूको करिअर सकिएको कुरा पनि बुझाउन जरुरी छ ।

सबै एकजुट हुँदा पनि कांग्रेसप्रति किन मतदाताले भरोसा देखाएनन् ? इलामको उपनिर्वाचनबाट हामीले सिक्न जरुरी छ । अहिले नयाँ मतदाता छन्, उनीहरू कांग्रेसप्रति आकर्षित नभइरहेको अवस्था र अन्य शक्तिको पनि उदय भएकाले आगामी दिन हाम्रा लागि पक्कै सहज छैनन् । चुनाव अगाडि कुनै पनि दलसँग गठबन्धन नगर्ने घोषणा गरेको पार्टीले अब उपनिर्वाचन परिणामको सघन विश्लेषण गर्नुपर्छ । प्रमुख प्रतिपक्षका रूपमा सरकारका जनविरोधी कामहरूको भण्डाफोर गर्नुपर्छ । जनताका दैनिक समस्यालाई सडकदेखि सदनसम्म उठाउनुपर्छ । हामीले केन्द्र र प्रदेशमा बनेका सरकारहरू गुमाए तापनि कांग्रेसले जितेका स्थानीय सरकारलाई प्रभावकारी बनाएर जनताको मन जित्नुपर्छ । सामाजिक सञ्जालको रचनात्मक उपयोग गर्नुपर्छ ।

कांग्रेसलाई सुस्ताउने र अल्छी गर्ने छुट छैन । अब पार्टी नेतृत्वले समयमै स्पष्ट दृष्टिकोणसहित पार्टीलाई अगाडि बढाउन जरुरी छ । गुटबन्दी होइन, एकजुट भएर अगाडि बढ्न सबै कार्यकर्तालाई आह्वान गर्नुपर्छ । मुख्य कुरा देशसामु रहेका प्रमुख चुनौतीलाई कसरी सम्बोधन गर्ने भन्ने स्पष्ट दृष्टिकोणसहित जनचाहना र आवश्यकतालाई सम्बोधन गर्न सक्ने पार्टी संगठन बनाउन अब ढिलो गर्नु हुँदैन ।

– पूर्वसांसद संग्रौला कांग्रेस केन्द्रीय सदस्य हुन् ।

प्रकाशित : वैशाख २६, २०८१ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?