२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

संकल्पसहितको विकल्प

आधारबिनाका नयाँ धारको दाबी गरिरहेका कैयौं पात्रको तुलनामा बालेनको छवि स्वच्छ र अग्लो हुँदै जानु वैकल्पिक राजनीतिक भविष्य सुनिश्चितताका लागि पनि हितकारी हुने देखिन्छ ।

दीप श्रेष्ठले गाएको पुरानो गीतले भन्छ– ‘हुँ यात्री एउटा रुमल्ली हिँड्ने अँधेरी रातमा...।’ गीतले यात्रीको दुविधा र अस्पष्टताका विषयमा संकेत गरेजस्तै राजनीतिक वृत्तमा बबाल र कमाल गर्ने गरी उदाएका रवि लामिछानेको राजनीतिक यात्रामा थुप्रै ‘स्पिड ब्रेकर’ देखापर्न थालेका छन् । 

संकल्पसहितको विकल्प

पुरानाको विस्थापनका लागि उपयुक्त वैकल्पिक शक्ति आवश्यक रहेको र सोका लागि पात्र, प्रणाली र विद्यमान प्रवृत्तिमा आमूल परिवर्तन बोध भइसकेको अवस्था छ । यस किसिमको परिस्थिति र प्रतिकूल परिणामसँग जुझिरहनुपर्ने अवस्थाका कारक पक्षका विषयमा नयाँ धारको राजनीतिलाई प्रतिनिधित्व गर्ने दलले आत्मसमीक्षा गर्ने नै छन् ।

आम नागरिकका अपेक्षा र संवेदनालाई समीक्षा नगरी परिवर्तनको मागले मात्र गन्तव्य भेटाउन सक्दैन । रवि परिवर्तनका प्रतिनिधि पात्र मात्रै थिए, जो अहिले आफैं प्रणाली र विद्यमान प्रवृत्तिको दलदलमा पसे । अहिलेका प्रमुख राजनीतिक पात्रको प्रवृत्तिसँग जसले सहकार्य र सहयात्राको गठबन्धन गरे पनि सबैको हविगत विगतमुखी नै बन्ने निश्चित छ ।

पुरानाको सोच र शैलीभन्दा पृथक् मुलुकमा सुशासन र समृद्धिको आँधीबेहरी नै ल्याउँछु भन्दा आम नगारिकले नपत्याउँदा रहेछन् । यो सन्देश अहिलेको उपनिर्वाचनले पनि दिएको छ । परिवर्तनको वकालत र उपयुक्त विकल्पको दाबी गर्दै आम नागरिकका भावनाको नासो र अमानतको प्रतिनिधित्व गर्ने रविको दलका उम्मेदवारको जमानत नै जफत हुन गएको घटनाले गम्भीर संकेत गरेको छ । विसंगतिले उकुसमुकुसमा परेको मुलुकलाई पृथक् ढंगले सञ्चालनमा ल्याउन संगति र असंगतिका बीच राजनीतिक र सहकार्यका कित्ता फरक हुनैपर्छ । अन्यथा मिसावटको राजनीतिले परिवर्तन र सुशासनको मुद्दा स्थापित हुन सक्दैन । परिवर्तनको मार्ग र मार्गचित्रका विषयमा स्पष्टताको बोध नै नगरी थालिएको यात्रा आरम्भमै टुंगिन्छ ।

परिवर्तनको भारी गह्रुँगो हुने गर्छ । यसलाई कमजोर काँध भएकाले लामो समयसम्म बोक्न सक्दैन र बोकिहाले भने पनि थेग्न सक्दैन । परिवर्तनको लामो यात्रामा हिँड्नेले सर्वप्रथम गन्तव्यको स्थान सुनिश्चित गर्नुपर्छ । कहाँसम्म जाने र प्रणाली कसरी सुधार्ने भन्ने हेक्का नराखी राजनीतिमा छलाङ र शासनमा सुशासनको कुरा गर्नु गफाडीका गफ मात्रै हुन् भन्ने आम नागरिकले बुझ्न थालिसकेका छन् । गफ दिन शब्दजालमा खेल्न जान्ने कला भए पुग्छ तर गन्तव्यमा पुग्न रचनात्मक र प्रणालीबद्ध सोच–व्यवहारको आवश्यकता पर्छ । पदीय जिम्मेवारीमा रहँदा त झनै यस विषयमा उत्तरदायी ढंगले व्यवहार प्रदर्शन गर्नुपर्छ ।

सुशासनको मार्गको भरपर्दो हतियार प्रहरी सेवामा पछिल्ला समय देखापरेका बेथितिले प्रहरी संगठनको व्यावसायिकताको विकास मुद्दा कमजोर बन्दै गएको छ । प्रहरीका सरुवा, बढुवामा देखिएको मनपरीतन्त्र र दलीय प्रभावले चिन्ता बढ्न थालेको देखिन्छ । प्रहरी नेतृत्वले मनपरीतन्त्रका विरुद्धमा निःसंकोच प्रतिरोध र प्रतिउत्तरसमेत दिन नसक्ने परिस्थितिको फाइदा उठाउँदै गृह प्रशासन झनै मनमौजी हुँदै गएको छ ।

दलीय आवरणको फेरो नसमाती अनिश्चित व्यावसायिक भविष्यको सेरोफरोमा भौंतारिरहनुपर्ने स्थितिको अन्त अरूले नगरे पनि नयाँ धारको नेतृत्वले गर्नेछ भन्ने विश्वास गरिएकै हो । तर बोली र व्यवहार फरक देखियो, क्षणिक विश्वासको भ्रममुखी जालो तोडिन खासै समय लागेन । असंगत र विसंगत पक्षसँगको गठबन्धन वा सहकार्य फलदायी हुँदो रहेनछ भन्ने निष्कर्ष निकाल्दै रविजीको दल जमानत जफतले सिकाएको पाठबाट उपयुक्त निर्णयमा पुग्ने नै छ भन्ने विश्वास गर्न सकिन्छ ।

पछिल्लो समय वैकल्पिक राजनीतिको फाँटमा उदाएका कैयौं पात्रमध्ये मेयर बालेनको कार्यशैली परिवर्तनमुखी र रचनात्मक देखिन्छ । परिवर्तनको मापन सेवाग्राहीको अनुभूति र सेवा प्रवाहको स्तरले मात्र निर्धारण गर्छ भन्ने उनले व्यावहारिक रूपमै सिकाएका छन् । त्यसैले उनी परिवर्तनको प्रतिनिधित्व गर्न सक्ने प्रतिनिधि पात्रका रूपमा स्थापित हुँदै गएका छन् ।

सेवाग्राहीको सर्वोत्तम हितको ध्येयलाई राजनीतिको केन्द्रमा राख्न सफल उनका गतिविधि आम नागरिकको रोजाइमा पर्न थालेका छन् । बोल्नेको त पिठो पनि बिक्छ भन्ने भाष्यले हाम्रो सामाजिक चेतनाको अवमूल्यन गरेको छ । त्यसलाई खारेज गर्दै बालेन चुपचाप उपलब्धतालाई उपलब्धिमा परिणत गर्न तल्लीन छन् र परिवर्तनको नयाँ मार्ग अर्थात् ‘लेन’ कोर्न धेरै हदसम्म सफल छन् । नबोलेरै चामल र पिठो दुवै बिकाउन सफल भएका छन् ।

परिवर्तनका शाश्वत नियम र मुद्दालाई संस्थागत र संगठित रूपमा कसरी टिकाउने भन्ने सवाल अझै चुनौतीपूर्ण छ । यसलाई गफले होइन कामले चिर्न सकिन्छ भन्ने उनको मार्गचित्रले गन्तव्य भेटाउने संकेत देखाएको छ । किनभने बालेन पात्र र प्रवृत्ति आमविश्वासको जग र संगतिमा झाँगिन थालेको देखिन्छ । दृढ इच्छाशक्तिबाट सिञ्चित बालेन किञ्चित पनि आफ्नो निर्णयमा डगमगाउँदैनन् । अधिकतम सेवाग्राहीको सर्वोत्तम हितको मुद्दालाई शिरोधार्य गरी अन्तिम निर्णयमा पुग्ने उनको कार्यशैलीले प्रतिरोधी शक्तिले पनि अवरोध सिर्जना गर्न सकिरहेका हुँदैनन् ।

कहिलेकाहीँ उनीबाट आक्रोशपूर्ण, असन्तुलित र आपत्तिजनक सार्वजनिक टिप्पणी पनि आउने गर्छ, तर बृहत्तर हितको सेवाको छायामा ती पर्न थालेका छन् । नयाँ धारको नेतृत्वमा हुनुपर्ने अधिकतम गुण बोकेका बालेन आगामी दिनका आसलाग्दा र बलिया विकल्प हुन सक्छन् ।

आधारबिनाका नयाँ धारको दाबी गरिरहेका कैयौं पात्रको तुलनामा उनको छवि स्वच्छ र अग्लो हुँदै जानु वैकल्पिक राजनीतिक भविष्य सुनिश्चितताका लागि पनि हितकारी हुने देखिन्छ । भनिन्छ, पात्र मात्रको भूमिकाबाट विकल्प हासिल हुन सकेन भने समय आफैंले संकल्पसहितको उपयुक्त विकल्प जन्माउनेछ ।

प्रकाशित : वैशाख २५, २०८१ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?