कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६७

मोदीविरुद्ध निर्वाचन आयोगमा कांग्रेसको उजुरी

आफ्नो घोषणापत्रलाई मुस्लिम लिगसँग जोडेकोमा कांग्रेसको आपत्ति
राजेश मिश्र

नयाँदिल्ली — भारतमा विपक्षी दल कांग्रेसले प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध निर्वाचन आयोगमा उजुरी दिएको छ । मोदीले कांग्रेसको चुनावी घोषणापत्रमाथि लाञ्छना लगाएपछि त्यसविरुद्ध कांग्रेस आयोग पुगेको हो ।

मोदीविरुद्ध निर्वाचन आयोगमा कांग्रेसको उजुरी

मोदीले आफ्नो चुनावी भाषणमा कांग्रेसको घोषणापत्रलाई मुस्लिम लिगको कामसँग दाँजेर त्यसमा लिगको छाप भेटिएको टिप्पणी गरेका छन् । भारत स्वतन्त्रताको समयमा छुट्टै मुलुक पाकिस्तानको माग राख्दै मुस्लिम लिग पार्टीले संघर्ष गरेको थियो । उक्त पार्टीकै माग र अडानका कारण भारतबाट पाकिस्तान छुट्टिएको थियो । प्रधानमन्त्री मोदीले भनेका छन्– ‘कांग्रेसको घोषणापत्रमा स्वतन्त्रताको आन्दोलनका बेला मुस्लिम लिगमा देखिएको सोच झल्किन्छ ।’

कांग्रेसले प्रधानमन्त्रीले गरेको त्यस्तो तुलनाप्रति गम्भीर आपत्ति मात्रै जनाएको छैन, आवश्यक कारबाहीमा उत्रिन आयोगलाई गुहारेको छ । कांग्रेस महासचिव जयराम रमेशसहित वरिष्ठ नेताहरू सोमबार आयोग पुगेर उजुरी दर्ता गराएका हुन् । कांग्रेसले ६ बुँदामा आयोगसमक्ष गरेको गुनासो तथा उजुरीमा दुई बुँदा प्रधानमन्त्रीसँग सम्बन्धित छन् । प्रधानमन्त्रीको अभिव्यक्तिले निर्वाचन आचारसंहिता पनि उल्लंघन गरेको कांग्रेसको दाबी छ ।

प्रधानमन्त्रीले गरेको चुनावी कार्यक्रमलाई सरकारको आधिकारिक एक्स ह्यान्डलबाट प्रचार गरिएको प्रति पनि कांग्रेसले आपत्ति जनाएको छ । त्यस्तै, कांग्रेसले सरकारी स्थानमा प्रधानमन्त्रीको होर्डिङ बोर्ड लगाएर चुनावी प्रचार गरिएको गुनासो पनि गरेको छ । कांग्रेसले चुनावको मुखमा बिनापूर्वसूचना सरकारको पहलमा युट्युब च्यानलहरू पनि बन्द गरिएको प्रति आपत्ति जनाएको छ । त्यस्तै, केरल त्रिवेंद्रमबाट भाजपाका उम्मेदवार केन्द्रीय राज्यमन्त्री राजीव चन्द्रशेखरले उम्मेदवारी दर्ता गराउँदा आफ्नो सम्पत्तिको गलत विवरण पेस गरेको भन्दै त्यसमाथि कारबाहीको माग पनि कांग्रेसले गरेको छ ।

कांग्रेसले चुनावमा सबै दललाई समान अवसर र मौका दिनुपर्ने आयोगसँग माग गरेको छ । कांग्रेसले आयोगले आफूले पाएको संवैधानिक स्वायत्तताको अधिकार प्रयोग गरेर देखाउनुपर्ने आशा गरिएको भनेको छ । कांग्रेसले गत साता ल्याएको चुनावी घोषणापत्रमा २५ वटा ग्यारेन्टीको कुरा गरिएको छ । त्यसमा गरिब महिलालाई प्रतिवर्ष एक लाख रुपैयाँ प्रदान गर्ने, कृषि उत्पादनको न्यूनतम मूल्य तोकिने, सरकारी नोकरीमा महिलालाई ५० प्रतिशत ग्यारेन्टी प्रदान गरिने, सेनाका लागि ल्याइएको अग्निवीर कार्यक्रम खारेज गरिने उल्लेख छ ।

कांग्रेसले भाजपाको हिन्दुत्वको कार्डलाई जातिगत गणनामार्फत काट्ने प्रयास गरिरहेको छ । जातिगत जनसंख्याअनुसार सरकारी सेवा र पहुँचमा त्यसैअनुसारको अवसर दिने नारा दिएर मतदातालाई रिझाउने कांग्रेसको प्रयास छ ।

त्यस्तै, ३० लाख सरकारी पदमा नियुक्ति, बेरोजगार बसेका स्नातक युवकलाई वार्षिक एक लाख भत्ताजस्ता ग्यारेन्टी कांग्रेसले आफ्नो घोषणापत्रमा गरेको छ । जातिगत जनसंख्याको विषयलाई लिएर भाजपाले घुमाउरो पारामा देशलाई बाँड्न खोजेको भन्दै कांग्रेसको घोषणापत्रको विरोध गरेको छ । भाजपाका पार्टी अध्यक्ष जेपी नड्डाले पनि कांग्रेसको घोषणापत्रलाई मुस्लिम लिगको घोषणापत्रसँग तुलना गरेर अभिव्यक्ति दिएका छन् ।

प्रकाशित : चैत्र २७, २०८० ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?