कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७७

भारतमा विपक्षी गठबन्धनले भन्यो- 'लोकतन्त्र संकटमा' 

दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउको बिरोधमा विपक्षी गठबन्धनले गर्‍यो सभा 
राजेश मिश्र

नयाँ दिल्ली — दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल र अन्य विपक्षी नेताहरुको गिरफ्तारीको बिरोधमा विपक्षी इन्डिया गठबन्धनले दिल्लीमा विरोध प्रदर्शन गरेको छ । ‘लोकतन्त्र बचाऊ’ को नारा दिएर दिल्लीको रामलिला मैदानमा गरिएको सभामा विपक्षी नेताहरुले भाजपा र प्रधानमन्त्री नरेन्द्र मोदीले देशको लोकतन्त्र संकटमा पारेको आरोप लगाएका छन् ।

भारतमा विपक्षी गठबन्धनले भन्यो- 'लोकतन्त्र संकटमा' 

तेस्रो पटक चुनाव जितेको खण्डमा मोदीले लोकतन्त्रलाई पूर्ण रुपमा समाप्त पार्ने समेत विपक्षी नेताहरुले उल्लेख गरे ।

कांग्रेस नेता राहुल गान्धीले चुनाव पूर्व भाजपाले ‘मैच फिक्सिङ’ गरिरहेको बताए । चुनावको मुखमा विपक्षका दुईजना मुख्यमन्त्रीलाई जेल पठाउनु र कांग्रेसको बैंक खाता फ्रिज गरेर चुनावी मैदानलाई बराबरी रहन नदिएको उनले उल्लेख गरे ।

‘यस्तो गर्नै थियो भने ६ महिना अगाडि वा चुनाव पछाडि गरे हुन्थ्यो नि ? होइन, भाजपालाई अहिले नै गर्नु थियो । किनभने चुनावमा मैच फिक्सिङ हुन सकोस्,’ उनले भने, ‘भाजपा चुनाव जित्यो र उसले संविधानमा परिवर्तन गर्‍यो भने पूरै देशमा आगो लाग्नेवाला छ ।’

उनले यो चुनाव केवल मतदान गर्ने चुनाव नभएर देशलाई बचाउने चुनाव रहेको भन्दै मतदातालाई सचेत हुन आग्रह गरे । 'प्लेयरलाई किनेर, क्याप्टनलाई डराएर सरकारले चुनाव गराउन खोजेको छ,' उनले भने ।


विद्युतीय मतदान मेशिन(ईभीएम) माथि पनि उनले प्रश्न उठाए । ईभीएमकै बलमा मोदीले चार सय पारको नारा दिएको तर यथार्थमा सबै मिलाएर १ सय ८० सीट पार गर्ने हालतमा पनि भाजपा नरहेको उनले बताए । मिडियाको मुख बन्द गराएपनि आममानिसको आवाज सरकारले बन्द गराउन नसक्ने भन्दै उनले अहिलेको लडाईं लोकतन्त्र र संविधान बचाउनका लागि भएको उल्लेख गरे ।

कार्यक्रममा इन्डिया गठबन्धनमा आवद्ध सबै जसो दलका नेताहरुले सम्बोधन गरेका थिए । समाजवादी पार्टीका नेता अखिलेश यादवले केजरीवाल पक्राउको बिरोध गरे । भाजपाको चार सय सीट पार भइरहेको स्थिति हो भने आम आदमी पार्टी र उसका नेता केजरीवालसँग भाजपा कनि डराएको हो, उनको प्रश्न थियो । जुन लोकतन्त्रका लागि विश्वमा भारतले सम्मान पाउँदै आएको छ, त्यसलाई भाजपाले उल्टो दिशामा लगेको उनको भनाई थियो । राष्ट्रिय जनता दलका नेता बिहारका पूर्व उपमुख्यमन्त्री तेजस्वी यादवले मोदीले दिने ग्यारेन्टीलाई चिनियाँ सामानसँग तुलना गरे ।

कार्यक्रममा झारखण्डका पूर्व मुख्यमन्त्री हेमन्त सोरेन(केही महिना अगाडि ईडीद्वारा पक्राउ परेको) की श्रीमती कल्पना सोरेन र दिल्लीका मुख्यमन्त्री केजरीवालकी श्रीमती सुनिता केजरीवालले पनि सम्बोधन गरेकी थिइन् ।

दिल्लीमा मदिरा नीति ल्याएर भ्रष्टाचार गरेको आरोमा केही साता अगाडि केजरीवाललाई र सरकारी जमीनमा घोटाला गरेको आरोपमा दुई महिना अगाडि झारखण्डका मुख्यमन्त्री सोरेनलाई प्रवर्तन निर्देशनालय (ईडी)ले पक्राउ गरेको थियो । दुवै जना अहिले ईडीको हिरासतमा छन् । केजरीवाल भने मुख्यमन्त्री पदबाट राजीनामा नदिएर जेलबाटै दिल्लीको सरकार चलाउने प्रयत्न गरेका छन् ।

विपक्षीको सभामा कांग्रेस अध्यक्ष मल्लिाकार्जुन खड्गे, महाराष्ट्रका पूर्व मुख्यमन्त्री शिवसेना प्रमुख उद्धव ठाकरे, जम्मु कश्मिरका नेता फारुक अब्दुल्लाह, राष्ट्रिय कांग्रेस पार्टीका प्रमुख शरद पवार, कम्युनिष्ट नेता सीताराम यचुरी लगायत दर्जनौ नेताहरुले भाजपामाथि हमला बोलेका थिए । तृमुल कांग्रेसकी प्रमुख ममता बनर्जी कार्यक्रममा उपस्थिति थिइनन् । उनको पार्टीबाट अन्य प्रतिनिधिहरुले बोलेका थिए ।

प्रकाशित : चैत्र १८, २०८० १८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?