कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

थाई संसद्‍मा समलिंगी विवाहसम्बन्धी विधेयक पारित

काठमाडौँ —  थाइल्यान्डको तल्लो सदनले समलिंगी विवाहलाई कानुनी मान्यता दिनेसम्बन्धी एक विधेयक पारित गरेको छ । योसँगै थाइल्यान्ड छिट्टै समलिंगी विवाहलाई मान्यता दिने देश बन्ने भएको छ ।

थाई संसद्‍मा समलिंगी विवाहसम्बन्धी विधेयक पारित

उक्त विधेयकलाई अब माथिल्लो सदन र शाही परिवारले अनुमति दिनुपर्नेछ । २०२४ को अन्तिमसम्म थाइल्यान्डमा समलिंगी विवाहले कानुनी मान्यता पाउने आशा गरिएको छ । समलिंगी विवाहले मान्यता पाए, थाइल्यान्ड एसियाको उदार मुलुकमध्येको एक हुने रोयटर्सले जनाएको छ ।

संसद्का ४१५ मध्ये ४०० सांसदले विधेयकको पक्षमा मत दिएका थिए । त्यस्तै १० सांसदले विधेयकको विपक्षमा मत दिए । समलिंगी विवाहलाई मान्यता दिने थाइल्यान्ड तेस्रो एसियाली मुलुक बन्नेछ । सन् २०१७ मा संवैधानिक अदालतको आदेशपछि ताइवानमा सन् २०१९मा समलिंगी विवाहलाई वैधानिक मान्यता दिएको हो ।

समलिंगी विवाहलाई पहिलो पटक कानुनी मान्यता

त्यस्तै नेपालमा समलिंगी विवाहसम्बन्धी कानुन नबने पनि अदालतको फैसलाबाट भने समलिंगीहरूले विवाह गरेका छन् । गत मंसिरमा एक समलिंगी जोडीको विवाहले नेपालमै पहिलो पटक कानुनी मान्यता पाएको थियो।

लमजुङको दोर्दी गाउँपालिका–२ अर्चलबोटस्थित वडा कार्यालयले समलिंगी जोडीको विवाह दर्ता गरेको थियो। दोर्दी–२ सल्लाबोटकी ३७ वर्षकी माया भनेर चिनिने रामबहादुर गुरुङ र नवलपरासीको कावासोती नगरपालिका–८ कावासोती इन्द्रचोकका २७ वर्षका सुरेन्द्र पाण्डेको वडा कार्यालयले विवाह दर्ता गरेको थियो । विवाह दर्तामा मायालाई दुलही र सुरेन्द्रलाई दुलहा उल्लेख गरिएको छ ।

प्रकाशित : चैत्र १४, २०८० १५:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?