कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

दिल्लीस्थित अफगान दूतावास बन्द हुँदै

रासस/एपी

नयाँदिल्ली — नयाँदिल्लीमा रहेको अफगान दूतावास बन्द हुने भएको छ । भारत सरकारको असहयोगका कारण दूतावास बन्द गर्नुपरेको दूतावासका एक जना सञ्चार अधिकृतले बताएका छन् ।

दिल्लीस्थित अफगान दूतावास बन्द हुँदै

सन् २०२१ को अगस्टमा तालिवानले सत्ताकब्जा गर्नुअघि अफगान सरकारको प्रतिनिधित्व गरेका अधिकांश कूटनीतिक कर्मचारी स्वदेश फर्किएको महिनौं भएको छ भने रिक्त स्थानमा नयाँ नियुक्ति गरिएको छैन । भारतले अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिएको छैन । त्यहाँ तालिवान सरकार सत्तामा फर्किएपछि भारत सरकारले आफ्नो कूटनीतिक उपस्थिति निलम्बन गरेको छ । जुन २०२२ मा नयाँदिल्लीले अफगानिस्तानको राजधानीमा भारतीय मानवीय सहायता समन्वय गर्न एउटा प्राविधिक टोली मात्र परिचालन गरेको छ ।

गत साता भारतीय विदेश मन्त्रालयलाई एक पत्र पठाउँदै अफगानिस्तानको राजदूतावासले भारत सरकारबाट कूटनीतिक व्यवहार र संरचनागत सहयोगको अभावमा यही सेप्टेम्बर ३० देखि दूतावास बन्द हुने जानकारी दिएको छ । गत जुनमा भारतका लागि अफगान राजदूत फरिद मामुन्दजाई नयाँ सत्तासँग आफ्नो कुनै राजनीतिक सम्बन्ध नभएको बताउँदै भारतबाट बेलायततर्फ प्रस्थान गरेका थिए ।

अफगान दूतावासले शिक्षा, कन्सुलर सेवा, मानवीय सहायता र अफगान व्यापारीहरूलाई व्यापार– वाणिज्यका मुद्दामा मद्दत गर्न नसकेको, भारतका विभिन्न विश्वविद्यालयमा उच्च शिक्षा अध्ययनको प्रतीक्षा गरिरहेका अफगान विद्यार्थीलाई सहयोग गर्न नपाएकोलगायत भारत सरकारका सम्बन्धित निकायको प्रशासनिक एवं कूटनीतिक असहयोगका कारण दूतावास बन्द गर्न बाध्य भएको भारतीय विदेश मन्त्रालयलाई लेखेको पत्रमा उल्लेख छ ।

उक्त पत्र नयाँदिल्ली र काबुलस्थित सञ्चारमाध्यमलाई पनि उपलब्ध गराइएको छ । अफगानिस्तानमा शासन परिवर्तनपछि भारतले विद्यार्थी भिसा जारी गर्न बन्द गरेपछि भारतका शैक्षिक संस्थाहरूमा भर्ना भएकाहरूलाई नयाँदिल्ली फर्कन असम्भव बनाएको थियो । यस सम्बन्धमा भारतीय विदेश मन्त्रालयले जवाफ दिन अस्वीकार गरेको छ ।

प्रकाशित : आश्विन १४, २०८० ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?