२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

रुसलाई हतियार नदिन उत्तर कोरियालाई अमेरिकाको चेतावनी

एएनआई 

वासिङ्टन डीसी — उत्तर कोरियाले रुसलाई हतियार आपूर्ति गरेमा उसले त्यसको ‘मूल्य’ चुकाउनुपर्ने एक जना अमेरिकी अधिकारीले बताएका छन् ।

रुसलाई हतियार नदिन उत्तर कोरियालाई अमेरिकाको चेतावनी

उत्तर कोरिया र रुसबीच हतियार आपूर्तिलाई लिएर सघन वार्ता सक्रिय रूपमा अगाडि बढिरहेको तथा उत्तर कोरियाली नेता किम जङ उन रुस भ्रमणमा जाने विवरण सार्वजनिक भइरहेका बेला वासिङ्टनले यस्तो टिप्पणी गरेको हो ।

यदि उत्तर कोरियाले युक्रेनविरुद्ध युद्ध लड्न रुसलाई हतियार प्रदान गरेमा उसले त्यसको मूल्य चुकाउनुपर्ने अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले मंगलबारको एक ब्रिफिङमा बताए ।

उत्तर कोरियाली नेता किम राष्ट्रपति भ्लादिमिर पुटिनसँग हतियारसम्बन्धी वार्ता गर्न यसै महिना रुसको भ्रमण गर्ने योजनामा रहेको बताउँदै सल्लाहकार सुलिभानले दुवै नेताबीच कहिले भेटवार्ता हुन्छ भन्नेबारेमा भने केही खुलाएनन् । उनले नेताद्वयबीच रुसमा भेटवार्ता हुने जानकारी अमेरिकासँग रहेको दाबी गरे ।

गत जुलाईमा रुसी रक्षामन्त्री सर्गेई सोइगुको उत्तर कोरियाको भ्रमणपछि नेता किम रुस भ्रमण निस्कन लागेका हुन् । प्योङयाङका तर्फबाट हतियार सम्झौता गर्न उनी रुस भ्रमणमा जान लागेको अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता एड्रियन वाट्सनलाई उद्धृत गर्दै केबल न्युज नेटवर्कले जनाएको छ ।

प्रकाशित : भाद्र २१, २०८० ०६:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु वर्षको ९ महिनामा वार्षिक लक्ष्यको ३२.२४ प्रतिशत मात्र विकास खर्च हुनुको अर्थ के हो ?