कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५१

दिगो विकासमा सहयोग बढाउन भारत र फ्रान्स सहमत

एएनआई 

नयाँदिल्ली — भारत र फ्रान्स रणनीतिक क्षेत्रका साथै दिगो विकासमा सहयोग बढाउन सहमत भएका छन् । दुवै देशले अन्तरिक्ष र विज्ञानका क्षेत्रमा पनि संस्थागत स्तरमा सहयोग बढाउन सहमति जनाएका छन् । फ्रान्सको राष्ट्रिय दिवसका अवसरमा शुक्रबार सम्पन्न प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने पेरिस भ्रमणका क्रममा दुई देशबीच विभिन्न सम्झौता भएका छन् ।

रणनीतिक सहयोगको क्षेत्रमा इन्डियन आयल कर्पोरेसन लिमिटेड र टोटल इनर्जी ग्यास एन्ड पावर लिमिटेड (टोटल एनर्जी) बीच दीर्घकालीन तरल प्राकृतिक ग्यास (एलएनजी) बिक्री र खरिद सम्झौता (एसपीए) स्थापनाको सम्झौता भएको छ ।

वैज्ञानिक सहयोगको क्षेत्रमा नेसनल इन्स्टिच्युट अफ ओसन टेक्नोलोजी, पृथ्वी विज्ञान मन्त्रालय चेन्नई र इन्स्टिच्युट फ्रान्सिस डे रिसर्च पोर ले एक्सप्लोरेसन डे ला मेरबीच वैज्ञानिक एवम् प्राविधिक विशेषज्ञताको आदानप्रदानसहितका सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

त्यसैगरी स्वास्थ्य र औषधिको क्षेत्रमा सहयोगका लागि आशय पत्र जारी गरिएको छ भने सहयोगका क्षेत्रहरूमा डिजिटल स्वास्थ्य, स्वास्थ्य सेवाका लागि ‘एआई,’ चिकित्सा फोहोर प्रशोधन प्रविधि, बायोटेक्नोलोजी, एन्टिमाइक्रोबियल प्रतिरोधविरुद्ध लड्न चिकित्सकहरूको आदानप्रदान र प्रशिक्षणलगायत विषय त्यसमा समावेश गरिएको छ । अन्तरिक्ष विज्ञानमा सहयोग अभिवृद्धि, डिजिटल प्रविधिको क्षेत्रमा संस्थागत सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रका साथै नागरिक उड्डयनको क्षेत्रमा प्राविधिक सहयोग गर्नेसम्बन्धी एमओयूमा पनि हस्ताक्षर भएको छ ।

प्रकाशित : असार ३१, २०८० ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?