कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नर्स पलायनले घानाको स्वास्थ्य क्षेत्रमा संकट

गत वर्ष मात्रै १२ सय जना बेलायत पुगे, कमजोर देशबाट नर्स पलायन भयावह : आईसीएन
एजेन्सी

काठमाडौँ — कमजोर आर्थिक अवस्था भएका देशबाट उच्च आय भएका राष्ट्रमा नर्सहरूको पलायन नियन्त्रण बाहिर हुँदै गएको नर्सहरूको अन्तर्राष्ट्रिय संगठन आईसीएनले जनाएको छ । आईसीएनले अफ्रिकी देश घानाको उदाहरण दिँदै आर्थिक अवस्था कमजोर भएका देशबाट ठूलो संख्यामा नर्सहरू विकसित देशहरूमा गइरहेको बताएको हो ।

नर्स पलायनले घानाको स्वास्थ्य क्षेत्रमा संकट

आईसीएनका सीईओ हवार्ड क्याटनले नर्स पलायनको अवस्था नियन्त्रणबाहिर पुगेको बीबीसीलाई बताएका छन् । ‘विशेषगरी ६–७ वटा उच्च आयवाला देशमा यसरी नर्सहरू गइरहेका छन् । यसरी जानेमा अधिकांशजसो कमजोर आय भएका देशहरू छन् ।’ नर्सहरूको पलायनका कारण पश्चिम अफ्रिकी देश घानाले आफ्नो स्वास्थ्य क्षेत्रमा ठूलो संकट व्यहोरिरहेको बीबीसीले जनाएको छ । त्यहाँका विशेषज्ञ नर्सहरू राम्रो कमाइको आशामा विदेशतर्फ पलायन भइरहेका हुन् । सन् २०२२ मा मात्रै घानाका १ हजार २ सयभन्दा बढी नर्स बेलायतको नर्सिङ क्षेत्रमा आएको तथ्यांक छ ।

बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) ले युरोपबाहिरका मुलुकबाट यस्ता कर्मचारीलाई आबद्ध गर्दै आएको छ । बेलायतले सक्रिय रूपमा घानाबाट आधिकारिक रूपमा नर्सहरू नल्याइरहेको जनाएको छ । तर, सामाजिक सञ्जालमा एनएचएसले गरेको विज्ञापन नर्सहरूले देख्ने र जागिरका लागि आवेदन दिने गरेका छन् । घानाको बिग्रँदो अर्थतन्त्र पनि नर्सहरूको पलायनको कारण बनेको छ । बेलायतकै केही एजेन्सीहरू अफ्रिकी देशबाट नर्स ल्याउन सक्रिय भइरहेको पाइएको छ, जसमा केन्या, नाइजेरिया, जिम्बाबे र दक्षिण अफ्रिका लगायत देश छन् ।

घानाको ग्रेटर एक्रा क्षेत्रीय अस्पतालको नर्सिङ प्रमुख गिफ्टी आर्यीले ६ महिनायता आफ्नो अस्पतालबाट २० नर्स बेलायत र अमेरिका गएको बताइन् । ‘नर्सहरू रोजगारीका लागि विदेश नै जान थालेपछि हाम्रो नर्सिङ सेवामा नै असर पुगेको छ । हामी धेरै बिरामी लिन नसक्ने अवस्थामा पुगेका छौं । जनशक्ति अभावमा सेवामा ढिलाइ हुने र बिरामीको मृत्यु हुँदा मृत्युदर बढ्ने परिस्थिति देखिएको छ,’ उनले भनिन् । नर्सहरूको कमीकै कारण गम्भीर बिरामीलाई पनि लामो समयसम्म इमर्जेन्सी विभागमा नै राख्नुपरेको उनको भनाइ छ ।

घानाकै अर्को अस्पताल केप कोस्टमा पनि यही अवस्था छ । अस्पतालको नर्सिङ सेवा प्रमुख क्यारोलिन एग्बोड्जाले त्यहाँबाट एक वर्षमा २२ नर्स बेलायत गएको बताइन् । ‘संवेदनशील अवस्थामा सेवा दिने, अनुभवी नर्सहरू विदेश गए । ‘अब हामीसँग अनुभवी नर्स छैनन् । यदि सरकारले नयाँ भर्ना गर्छ भने पनि उनीहरूलाई प्रशिक्षण दिनुपर्ने हुन्छ,’ उनले भनिन् । केपकोस्टका इविम हेल्थ क्लिनिकका दुई जना नर्स बेलायत गएपछि ठूलो असर पुगेको क्लिनिकका प्रमुख चिकित्सक डा. जस्टिस आर्थरले बताए । ‘यदि हामीले यसैगरी नर्सहरू गुमाइरहने हो भने बालबालिकालाई खोप सेवा प्रभावित हुनेछ, यसले बाल मृत्युदर बढ्ने सम्भावना हुन्छ,’ उनले भने ।

आफूसँगको कुराकानीमा सबैजसो नर्सहरू घाना छाड्न खोजिरहेको बीबीसीले जनाएको छ । धेरै कमाइ हुने भएकाले विदेश जान चाहेको उनीहरूको भनाइ छ । घानाको कुमासी क्षेत्रमा एउटा क्लिनिकमा कार्यरत असारी अफ्रियीले बेलायतमा रोजगारी खोजिरहेको बताइन् । ‘हाम्रो खराब सेवाका कारण नर्सहरूको पलायन रोकिनेवाला छैन,’ उनले भनिन्, ‘नर्सहरूको तलब निकै नै कम छ । यसले महिनाभर गुजारा गर्न पनि मुस्किल छ ।’

बेलायतमा घानाको भन्दा सात गुणा बढी तलब पाइने नर्सहरूको भनाइ छ । ‘यदि नर्सको संख्या हेर्ने हो भने बेलायतले घानाका नर्सलाई आबद्ध गर्नु ठीक नहोला । किनकि अनुभवी नर्स गुमाउनु हाम्रा लागि समस्या हो,’ उनले भनिन् । तर, विदेश जान पाउनु अधिकारी भएकाले नर्सलाई रोक्नु पनि ठीक नहुने उनको तर्क छ । सरकारले नर्सहरूलाई रोक्न नीति ल्याउनुपर्ने अफ्रियीले बताइन् । घानाको स्वास्थ्य मन्त्रालयले भने यसबारेमा टिप्पणी गर्न अस्वीकार गरेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार जनसंख्याको दृष्टिले कम नर्स भएका देशहरूको सूचीमा घाना पनि पर्छ । बेलायतले हालै मात्र १८.६ मिलियन अमेरिकी डलर घाना, नाइजेरिया र केन्याको स्वास्थ्य जनशक्तिलाई बढावा दिन सहयोग गरेको छ । नर्सको बदलामा घानालाई सहयोग गर्ने सम्झौता गर्न पनि बेलायत खोजिरहेको छ । नेपालसँग पनि यस्तो सम्झौता भइसकेको बीबीसीले उल्लेख गरेको छ । तर, आईसीएनका सीईओ क्याटनले नर्स गुमाइरहेका देशका लागि उक्त सम्झौता मात्र पर्याप्त नहुने बताए ।

प्रकाशित : जेष्ठ २५, २०८० ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?