कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘रोहिंग्यामाथि सुनियोजित आक्रमण’

विस्थापित कतिपय महिला बलात्कृत
बीबीसी

बंगलादेश — मानव अधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले पश्चिमी म्यान्मारस्थित राखिने राज्यका रोहिंग्या समुदायको गाउँमा ‘सुनियोजित’ रूपमा आगजनी गरिएको भू–उपग्रह तस्बिरबाट प्रस्ट भएको जनाएको छ । ती तस्बिरहरू म्यान्मारको सुरक्षा फौजले अल्पसंख्यक मुस्लिम रोहिंग्या समुदायलाई देशबाट लखेट्न आगो लगाएको उसले बताएको छ ।

‘रोहिंग्यामाथि सुनियोजित आक्रमण’

भू–उपग्रह तस्बिर र भिडिओ तथा प्रत्यक्षदर्शीसँग लिइएका अन्तरर्वार्तामा रोहिंग्या गाउँलाई लक्षित गर्दै झन्डै तीन सातासम्म आगजनी गरिएको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ । एम्नेस्टीकी तिराना हसनाले भनिन्, ‘प्रमाणबाट के अकाटय छ भने म्यान्मारको सुरक्षा फौजले उत्तरी राखिने राज्यका रोहिंग्या मुस्लिमलाई म्यान्मारबाट धपाउन उनीहरूको बस्तीमा आगो लगाएको हो । यो जातीय सफाया नै हो ।’

रोहिंग्याहरूप्रति गरिएको व्यवहारका कारण म्यान्मारले अन्तर्राष्ट्रिय आलोचना खेपिरहेको छ । रोहिंग्या मुस्लिम अल्पसंख्यकप्रतिको व्यवहार र उनीहरूको संरक्षणमा चुकेको भन्दै नोबेल पुरस्कार विजेता तथा म्यान्मारकी नेतृ आङ सान सूची सरकारको चौतर्फी आलोचना भएको हो । अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले म्यान्मारको प्रजातन्त्रका ‘निर्णायक क्षण’ मा पुगेको प्रतिक्रिया दिएका छन् । 

टिलर्सनले भने, ‘यो हिंसा रोकिनुपर्छ, यो उत्पीडन रोकिनुपर्छ ।’ केही दिनअघि राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले रोहिंग्याले ‘भयावह मानवीय संकट’ को सामना गरिरहेको धारणा राखेका थिए । राष्ट्रसंघका लागि म्यान्मारका राजदूतले हिंसा चर्किनुमा सरकार नभई रोहिंग्या विद्रोही दोषी भएको दाबी गरेका थिए । यसै साता बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले रोहिंग्या शरणार्थी शिविरको भ्रमण गरेकी थिइन् । उनले म्यान्मारलाई तुरुन्त शरणार्थी फिर्ता गर्न आग्रह गरेकी थिइन् । 

म्यान्मारको राखिने राज्यमा गत महिना विद्रोहीले ३० प्रहरी चौकीमा आक्रमण गरेपछि सेनाले गरेको कारबाहीपछि ज्यान जोगाउन बंगलादेश प्रवेश गर्ने शरणार्थीको संख्या ४ लाख नाघिसकेको छ । सेनाले आतंककारीविरुद्ध लडिरहेको बताउने गर्छ । उसले सर्वसाधारणलाई लक्षित गरी कारबाही गरिएको अस्वीकार गर्दै आएको छ । म्यान्मार सरकारले कम्तीमा ३० प्रतिशत राखिने राज्यका रोहिंग्या गाउँ खाली भएको बताएको छ । राज्यविहीन रोहिंग्याहरू मुख्यत: मुस्लिम अल्पसंख्यक हुन् र बौद्धमार्गी बहुल म्यान्मारमा उत्पीडनमा पर्दै आएको बताइन्छ । म्यान्मार सरकारले उनीहरूलाई ‘गैरकानुनी आप्रवासी’ भन्दै विभेदपूर्ण व्यवहार गर्ने गर्छ । 

म्यान्मारको रोहिंग्या समुदायका कतिपय महिला बंगलादेश प्रवेश गर्ने क्रममा बलात्कारको सिकार भएका छन् । बंगलादेश जाने शरणार्थीमध्ये अधिकांश पुरुषको हत्या र महिलामाथि यौनदुव्र्यवहार हुने गरेको हो ।

कतिपयको बलात्कारपछि हत्यासमेत गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सेनाको कारबाहीपछि ज्यान जोगाउन बंगलादेश पुगेकी हजिरा बेगम बलात्कृत भएकी छन् । ‘बलात्कृत भए तापनि ज्यान भने जोगाएकी छु,’ उनी भन्छिन्, ‘मेरो छोरा भने गायब छ ।’ 

उनको छोरालाई सेनाले नियन्त्रणमा लिएको आशंका गरेकी छन् । बलात्कृत कतिपय महिलाले गर्भवती हुनबाट बच्न सेनासँग औषधिका लागि आग्रह गरेको समेत बताए । बंगलादेशमा शरण लिइरहेको मोहम्मद इलिसासले महिलाहरू यौन–दुव्र्यवहारको सिकार बनेको बताए ।

बलात्कारको घटना सार्वजनिक भएमा आफूलाई हेरिने दृष्टिकोण फरक हुने भएकाले घटना सार्वजनिक नगरिएको उनको दाबी छ । बंगलादेशले बलात्कृत महिलाको उपचारका लागि स्वास्थ्य शिविर सञ्चालन गरेको जनाएको छ । 

प्रकाशित : आश्विन १, २०७४ ११:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?