३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

‘अमेरिकालाई चीन र रूसबाट उस्तै खतरा’ 

बीबीसी

वासिङ्टन — अमेरिकी केन्द्रीय जाँच ब्युरो (सीआईए) ले पश्चिमा मुलुकमा हालैका दिनमा बढदै गएको चिनियाँँ चासो र प्रभाव रूसको जस्तै भएको जनाएको छ । सीआईए प्रमुख माइक पोम्पियोले मंगलबार बीबीसीसँगको टेलिभिजनमा ‘अमेरिकामा रूसको भन्दा चिनियाँ प्रभाव बढ्दै गएकाले दुवै देशबाट उस्तै खतरा रहेको’ बताएका हुन् । 

‘अमेरिकालाई चीन र रूसबाट उस्तै खतरा’ 

उनले अमेरिकी व्यापारिक सूचना चोर्न गरिएको प्रयास र विद्यालय तथा क्याम्पसहरूमा हुने उपस्थितिलाई उदाहरणको रूपमा पेस गरेका छन् । सीआईए प्रमुख हुनुभन्दा पहिले पोम्पियो रिपब्लिकनका कट्टर संसद्का रूपमा परिचित थिए । उनले २०१८ को नोभेम्बरमा हुने निर्वाचनलाई रूसले प्रभावित पार्न सक्ने पनि बताए । पोम्पिओले भने, ‘मैलै रूसी गतिविधिमा कुनै कमी भएको महसुस गरेको छैन । तर म विश्वस्त छु हामीले स्वतन्त्र र निष्पक्ष चुनाव गराउनेछौं ।’ उनले चुनाव प्रभावित पार्ने रूसी प्रयास असफल हुने दाबी गरे । अमेरिकी गुप्तचर निकायहरूले सन् २०१६ को राष्ट्रपतीय चुनावमा मस्कोले हस्तक्षेप गरेको विश्वास गर्ने गरेका छन् । यस विषयमा रोबर्ट मुलर नेतृत्वको विशेष टोलीले छानबिन गरिरहेको छ ।


यस विषयमा उनले सीआईएबाट प्राप्त वास्तविक सूचना राष्ट्रपतिलाई नियमित उपलब्ध गराउने गरेको बताए । ट्रम्प वासिङटनमा हुँदा पोम्पिओले समसामयिक घटनाक्रम र रणनैतिक मुद्दाहरूमा जानकारी दिन ट्रम्पलाई नियमितजसो भेट्ने गर्छन् ।


प्रतिआतंकवादका मुद्दामा साझेदारी भए पनि पोम्पिओले रूस अहिले पनि अमेरिकाको मुख्य प्रतिद्वन्द्वी भएको बताए । उनका अनुसार युरोपका धेरै देशलाई नोक्सान उसले गरिरहेका गुप्तचर गतिविधि कायमै रहेको बताए ।


एफबीआई उपनिर्देशकको राजीनामा

अमेरिकाको गुप्तचर संस्था संघीय जाँच ब्युरोका उपनिर्देशक एन्ड्रियु मकेबले आफ्नो पदबाट मंगलबार राजीनामा दिएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले मकेबलाई पटकपटक ‘राजनीतिक पूर्वाग्रह’ राखेको आरोप लगाउँदै आएका थिए ।


आउँदो मार्च १८ मा कार्यकाल समाप्त हुन लागेका मकेबलाई पद छाड्न बाध्य पारिएको अमेरिकी टेलिभिजन सीबीएसले जनाएको छ । बीबीसीका अनुसार राष्ट्रपति ट्रम्पले एक साताअघि नै मकेबलाई पद छाड्न भनेका थिए ।


ट्रम्पले गत मेमा एफबीआईका निर्देशक जेम्स कोमीलाई पदबाट बर्खास्त गरेपछि मकेब केही समय कार्यवाहक निर्देशक भएका थिए । सन् २०१६ मा भएको राष्ट्रपतीय निर्वाचनमा रूसी हस्तक्षेपबारे छानबिन गरिरहेको बेला ट्रम्पले कोमीलाई बर्खास्त गरेका थिए ।


त्यसलगत्तै ट्रम्पले क्रिस्टोफर रेलाई एफबीआईको नयाँ निर्देशकमा नियुक्त गरेको थिए । उनको नियुक्त गतअगस्टमा सिनेटले अनुमोदन गरेको हो ।


ट्रम्प र रूसले राष्ट्रपतीय निर्वाचनमा रूसले हस्तक्षेप गरेको आरोपको अस्वीकार गर्दै आएका छन् । ट्रमपले सोमबार ट्वीट गर्दै मकेब कोमीको साथी भएको आरोप पनि लगाएका थिए । मकेबकी श्रीमती डा.जिल मकेबले भर्जिनिया राज्यबाट डेमोक्रयाट पार्टीका तर्फबाट अमेरिकी सिनेटको चुनावमा पराजित भएकी थिइन् । गतसाता द वासिङ्टन पोस्ट समाचारपत्रले अमेरिकी राष्ट्रपतिको कार्यालयमा चिनजान गर्न डाकिएको एक बैठकमा राष्ट्रपति ट्रम्पले मकेबलाई २०१६ को चुनावमा कसलाई मतदान गरेको भन्दै सोधेका थिए । उनले आफूले कसैलाई पनि मतदान नगरेको भन्ने जवाफ दिएको जनाइएको थियो । तर ट्रम्पले भने आफूले उक्त प्रश्न नसोधेको बताएका थिए ।


गत जुलाईमा ट्रम्पले मकेबले हिलारी क्लिन्टनबाट आफ्नी श्रीमतीका लागि ७ लाख डलर सहायता लिएको आरोप लगाएका थिए । उक्त आरोपबारे मकेबले हालसम्म भने कुनै पनि टिप्पणी गरेका छैनन् । तर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार कार्यकाल सकिनै लागेका अधिकारीलाई पद छाड्न बाध्य पारेको आरोप लागेको जनाएका छन् ।


‘पुटिन–सूची’ सार्वजनिक

वासिङ्टन– अमेरिकाले सन् २०१६ मा भएको राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पको पक्षमा प्रभाव पारेको भनिएका २ सय १० राजनीतिकर्मी र व्यापारीको सूची मंगलबार सार्वजनिक गरेको छ ।


सूचीमा संलग्न व्यक्तिलाई अमेरिकाले ‘पुटिन–सूची’ को नाम दिएको छ । अमेरिकी आर्थिक विभागले सार्वजनिक गरेको सूचीमा १ सय १४ जना राजनीतिक नेता र ९६ जना व्यापारी रहेका छन् । तीमध्ये सबैजसो रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी समूहका सदस्यहरू हुन् । अमेरिकी राष्ट्रपतिको निर्वाचनमा उनीहरूले ट्रम्पका पक्षमा प्रभाव पारेको दाबी गरिएको छ । बीबीसीले उनीहरूमाथि व्यापार र अमेरिका प्रवेशमा प्रतिबन्ध लगाइन सकिने जनाएको छ ।


यसैबीच, रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘अमेरिकाले सार्वजनिक गरेको नयाँ सूची समग्र रूसीप्रति लक्षित रहेको’ प्रतिक्रिया दिएका छन् । उनले पछिल्लो ‘अमेरिकी कदम चुनावी साँठगाँठबारे रूसलाई सजाय दिने कानुनको एक अंश भएको’ बताए ।


पुटिनले उक्त सूची शत्रुतापूर्ण कदम भएको बताउँदै यसले अमेरिका र रूसबीचको सम्बन्ध थप जटिल बन्ने चेतावनी दिए । उनले अमेरिकी चुनावभन्दा रूसले आफ्नो र अर्थतन्त्रबारे सोच्नु उत्तम हुने बताए ।

प्रकाशित : माघ १७, २०७४ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?