राष्ट्रिय महिला भलिबल : एपिएफ क्लब विजयी
काठमाडौँ — विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले राष्ट्रिय महिला भलिबल प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहीबार भएको खेलमा एपिएफ क्लबले अर्को विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ३–२ सेटले पराजित गरेको हो । यसअघि एपिएफ क्लबले पहिलो खेलमा विभागीय टोली नेपाल प्रहरीको पुलिस क्लबलाई ३–१ सेटमा पराजित गरेको थियो ।
आजको खेलमा एपिएफले सुरुआती दुई सेट २५–२३ र २५–२३ अंकले आफ्नो पक्षमा पार्यो । त्यसपछिका दुई सेट आर्मीले २५–१३ र २५–१४ अंकले जित्यो । खेलको अन्तिम निर्णायक सेट एपिएफ क्लबले १५–९ अंकले जित्यो । जितसँगै एपिएफ क्लबले पाँच अंक जोडेको छ ।
प्रतियोगिताको विजेताले चार लाख ९९ हजार, दोस्रो हुने टोलीले दुई लाख ५० हजार, तेस्रो हुनेले एक लाख २५ हजार र चौथो हुने टोलीले ६२ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।
प्रकाशित : वैशाख १३, २०८१ १७:५१