कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२४

नेपाली ब्याटिङको दुर्गति, हङकङसँग पनि उस्तै

एसिया कपमा छनोट हुन नसकेको नेपाली क्रिकेट टोली एसीसी इमर्जिङ कपबाट पनि बाहिर
विनोद पाण्डे

काठमाडौँ — हङकङसँग हारसँगै नेपालले एसीसी ट्वान्टी–२० प्रिमियर कप क्रिकेटमा निराशाजनक यात्रा टुंग्याएको छ । ओमानमा भइरहेको प्रतियोगितामा हङकङसँगको तेस्रो स्थानका लागि भएको खेलमा नेपाल ४ विकेटले पराजित भयो ।

नेपाली ब्याटिङको दुर्गति, हङकङसँग पनि उस्तै

समूह चरणको लगातार चार खेल जितेर सेमिफाइनल पुगेको नेपाल लगातार दुई खेलमा पराजित भएको हो । अघिल्लो दिन सेमिफाइनलमा यूएईले नेपाललाई ६ विकेटले पराजित गरेको थियो । सेमिफाइनलमा हारसँगै नेपालको एसिया कपमा छनोट हुने सम्भावना सकिएको थियो । हङकङलाई जितेको भए तेस्रो स्थान हात पार्दै नोभेम्बरमा हुने भनिएको एसीसी इमर्जिङ कपका लागि छनोट हुने थियो । नेपालको त्यो सम्भावना पनि समाप्त भएको छ ।

मस्कटस्थित अल अमेरातमा टस जितेर ब्याटिङ गर्न आएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ३९ रनमात्र बनाउन सक्यो । अंशुमन रथले अविजित ६५ रन बनाएपछि हङकङले ३ बलअगाडि लक्ष्य पूरा गरेको थियो । प्लेयर अफ द म्याच उनले ५० बल खेल्दै ४ चौका र २ छक्का प्रहार गरे । नरसुल्ला राना ११ रनमा अविजित रहे । अन्तिम ओभरमा हङकङलाई विजयका लागि ८ रन चाहिने अवस्थामा रानाले सबै रन जोडेका थिए ।

बाबर हायतले २५ बलमा २ छक्कासहित २६ र एजाज खान १० बलमा १२ रन बनाई आउट भए । कप्तान निजाकत खान ३ रनमै आउट भएका थिए । नेपालबाट सोमपाल कामीले ४ ओभरमा ३३ रन खर्चेर ३ र दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । दीपेन्द्रले अन्तिम ओभरमा समान २ चौका र छक्कासहित २० रन बनाएपछि नेपालको यत्तिको स्कोर सम्भव भएको थियो । १४ औं ओभरमा ८७–७ को स्थितिमा ब्याटिङ गरेका दीपेन्द्रले २९ बल खेल्दै कुल ४ चौका र ३ छक्का प्रहार गरे । आठौं नम्बरमा उनी ब्याटिङमा आउनुअघि नेपाललाई १ सय रन कटाउन पनि धौधौ परेको थियो ।

ओमानमा भइरहेको प्रतियोगिताको अघिल्लो दिन सेमिफाइनलमा १ सय १९ रनमात्र बनाउन सकेको नेपाल फाइनल पुग्न नसक्दा एसिया कपमा छनोट हुन वञ्चित भएको थियो । नेपालले शनिबार हङकङसँगको खेलमा पनि त्यस्तै खराब प्रदर्शनलाई निरन्तरता दिएको थियो । नेपालको निराशाजनक प्रर्दशन कुशल भुर्तेलको ब्याटबाट सुरु भएको थियो ।

इनिङ्सको दोस्रो बलमा कुशलले खाता खोल्नु अगाडि विकेटकिपरलाई क्याच दिन पुगेका थिए । अर्का ओपनर आसिफ शेखले पनि ५ रनमात्र बनाउन सके । तेस्रो नम्बरमा पठाइएका सोमपाल कामीले २ चौका प्रहार गर्दै ७ बलमा १२ रन बनाए । कप्तान रोहित पौडेल १९ बलमा २१ र सन्दीप जोरा २३ बलमा २१ रनमा आउट भए । जोरा र गुलशन झा (६) लगातार बलमा रनआउट भए । एक छक्का प्रहार गरेका कुशल मल्लले पनि १४ बलमा १३ रनमात्र बनाउन सके । ललित राजवंशी ३ बलमा २ रन बनाई अविजित रहे । नेपालले १७ ओभरको समाप्तिमा केवल ५ चौका र १ छक्कामात्र प्रहार गर्न सकेको थियो, जतिखेर नेपालको स्कोर १ सय थियो ।

भुर्तेलको ‘ह्याट्रिक डक’

नेपाली ओपनिङ ब्याटर कुशल भुर्तेलले नचाहेको कीर्तिमान बनाएका छन् । ठीक तीन वर्षअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्ससँग दुई र मलेसियासँगको एक खेलमा गरी लगातार तीन खेलमा अर्धशतक बनाउँदै कुशल भुर्तेल ट्वान्टी–२० अन्तर्राष्ट्रियमा प्रवेश गरेका थिए ।

शनिबार ठीक त्यसको उल्टो भयो । उनी हङकङसँगको खेलमा शून्यमा आउट भए । उनी लगातार तेस्रो खेलमा शून्यमा आउट भएका हुन् । यूएईविरुद्धको सेमिफाइनलमा पहिलो बलमा आउट भएका भुर्तेल साउदी अरेबियाविरुद्ध पनि खाता खोल्न सकेका थिएनन् ।


उनी ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ‘डकआउट’ भएको यो पाँचौं अवसर हो । योसँगै उनले नेपालबाट सर्वाधिक शून्यमा आउट हुने खराब कीर्तिमान बनाएका छन् । प्रदीप ऐरी यसअघि चार खेलमा शून्यमा आउट भएका थिए । भुर्तेल आफ्नो ३० औं खेलमा पहिलो पटक शून्यमा आउट भएका थिए । फेब्रुअरी २७ मा कीर्तिपुरमा नामिबियाविरुद्धको खेलमा उनलाई रुवेन ट्रम्पलमनले एलबीडब्लू आउट गरेका थिए । त्यही खेलमा ३३ बलमा १ सय रन पुरा गरेर जान निकोल लफ्टी इटनले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा कम बलमा शतक बनाउने कीर्तिमान बनाएका थिए । नामिबियासँगको खेलको भोलिपल्ट नेदरल्यान्ड्सविरुद्धको खेलमा पनि भुर्तेलले रन बनाउन सकेनन् । उनलाई शून्यमा भिभिएन किंग्माले आउट गरेका थिए । ओमानमा लगातार तीन पटक शून्यमा आउट हुनेक्रममा भुर्तेलले दुई पटक स्टम्पपछाडि क्याच दिन पुगे ।

उनले ४३ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा एक शतक र ८ अर्धशतकका साथ १ हजार ८१ रन बनाइसकेका छन् । नेपालबाट उनीसहित अन्य तीन खेलाडीले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा १ हजारभन्दा बढी रन बनाएका छन् ।

प्रकाशित : वैशाख ९, २०८१ ०६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?