कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५१

रहेनन् प्रशिक्षक किनर

सन् १९८५ मा ऐतिहासिक रूपमा पहिलो विश्वकप फुटबलको छनोट खेल्दा किनरले नेपाली राष्ट्रिय फुटबल टिमलाई सम्हालेका थिए
हिमेश

काठमाडौँ — नेपाली फुटबलले पाएका अहिलेसम्मकै सबैभन्दा प्रख्यात फुटबल प्रशिक्षक जोए किनरको सोमबार निधन भएको छ । नेपाली राष्ट्रिय फुटबल टिमले चार दशकभन्दा लामो इतिहासमा उनी जत्तिको कहलिएका प्रशिक्षक पाएकै छैन । उनले इंग्लिस प्रिमियर लिग क्लब विम्बल्डन र न्युकासल युनाइटेड पनि सम्हाले । 

रहेनन् प्रशिक्षक किनर

उनी ७७ वर्षका थिए । डब्लिनमा उनको जन्म भएको थियो । सन् २०१५ देखि बिरामी परेका किनरले लुटन टाउन र नटिङ्घम फरेस्ट पनि सम्हाले । उनको परिवारले अन्तर्राष्ट्रिय समाचार संस्थालाई भनेको छ, ‘सोमबार साँझ जोए किनरको निधन भएको समाचार दिनुपर्दा हामी निकै दुःखी छौं । परिवारको सामु उनले शान्तिपूर्वक मृत्युको आत्मसात् गरे ।’

खेलाडी छँदा उनले आयरल्यान्ड गणतन्त्रका लागि २६ क्याप जिते । क्लब फुटबल भने उनले टोटनहमबाट खेले । लन्डन क्लबका लागि उनले २ सय ५८ पटक खेले । टोटनहमका लागि उनले दुईपल्ट लिग कप, एकपल्ट एफए कप र एकैपल्ट यूईएफए कप पनि जितेका छन् । पछि उनले ब्राइटनबाट केही समय खेले ।

सन् १९७५ मा उनी बार्सिलोनासँग आबद्ध भएका थिए । तर, त्यहाँ लामो समय बिताउन पाएनन् र घुँडाको चोटका कारण खेलाडी जीवनबाट संन्यास लिन बाध्य भए । उनले सम्हालेको पहिलो इंग्लिस क्लब भने डोनकास्टर रोभर्स थियो । व्यवस्थापकीय जिम्मेवारीका रूपमा उनको अन्तिम कार्यकाल न्युकासलमा बित्यो ।

किनर उनी त्यस क्लबका निर्देशक पनि रहे । खेलजीवन टुंगिएको केही वर्षपछि उनी सन् १९८३ एसियामा आएका थिए । यूएईको अल सबाबमा एक वर्ष बिताए । सन् १९८४ मा उनले पहिलो पटक भारतीय राष्ट्रिय टिम सम्हाले । त्यसपछि उनी नेपाल आएका थिए र एक वर्षका लागि नेपाली टिम सम्हाले ।

फेरि दोहोराएर उनी नेपाल आएका थिए । उनी औपचारिक रूपमा नेपाली टिम सम्हाल्ने तेस्रो विदेशी प्रशिक्षक हुन् । उनी रुडि गुटेनडर्फ र जोन फिगीपछि नेपाली राष्ट्रिय टिमको प्रशिक्षण सम्हाल्ने विदेशी प्रशिक्षक हुन् । उनको नेतृत्वमा नेपालले सन् १९८५ मा ऐतिहासिक रूपमा पहिलो विश्वकप छनोट खेलेको थियो । त्यस छनोटमा नेपालको प्रतिद्वन्द्वी दक्षिण कोरिया र मलेसिया रहेको थियो ।

सन् १९८७ मा उनले दोस्रोपल्ट नेपाली टिम सम्हाले । त्यस वर्ष नेपालले भारतको कोलकातामा भएको तेस्रो दक्षिण एसियाली खेलकुदमा सहभागिता जनाएको थियो । त्यसमा नेपालले फाइनल यात्रा तय गरेको थियो । तर, कोलकाताको प्रसिद्ध साल्टलेक स्टेडियममा भएको उक्त खेलमा नेपाल घरेलु टोली भारतसँग १–० ले पराजित भएको थियो ।

यसरी नेपालले उनको नेतृत्वमा ७ खेल खेलेकामा २ जित, १ बराबरी र ४ हार रहेको छ । त्यसमध्ये एक जित बंगलादेशविरुद्ध रह्यो भने अर्को भुटानविरुद्ध । भुटानविरुद्ध प्राप्त ६–० को जितमा गणेश थापाले ह्याट्रिक गरेका थिए । त्यसलाई नै अन्तर्राष्ट्रिय फुटबलमा नेपालको पहिलो ऐतिहासिक ह्याट्रिक मानिन्छ ।

प्रकाशित : चैत्र २८, २०८० ०६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?