कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

मयन्कको गति

नियमित १ सय ५० किलोमिटर प्रतिघण्टाको गतिमा बलिङ गर्ने मयन्क विश्व क्रिकेटका लागि नै दुर्लभ हुन्, यस पटकको आईपीएलमा जम्मा दुई खेल खेलेका उनी दुवैमा ‘प्लेयर अफ द म्याच’ रहे
हिमेश

काठमाडौँ — मयन्क यादव यसअघि कहाँ लुकिरहेका थियौ ?’ डेल स्टेयनको प्रश्न थियो यो । साँच्चै यी मयन्क को हुन्, के हुन् भनेर अहिले सबैको कौतूहल छ । उनको प्रदर्शनले भारतीय क्रिकेटमा सनसनी मच्चिरहेको छ र भन्न सुरु भएको छ, मयन्क ‘नेक्ट्स बिग थिङ्ग’ हुन् । चर्चामा आउन पनि भाग्यमानी हुनुपर्दो रहेछ । मयन्कले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा ठीकठाकसँग जम्माजम्मी दुई खेल खेलेका छन् । तर, यति नै क्रिकेट मन पराउनेबीच छाउनका लागि पर्याप्त रह्यो । 

मयन्कको गति

दक्षिण अफ्रिकी स्टेयन आफैं फास्ट बलर हुन् । मयन्कको खेल हेरेर उनी पनि मक्ख छन् । उनलाई पनि लागेको रहेछ, यति तीव्र गतिमा बलिङ गर्न सक्ने युवा भारतीय बलर यसअघि थिएचाहिँ कहाँ ? लखनउ सुपर जायन्ट्सका खेलाडी हुन्, मयन्क । उनको प्रदर्शन मद्दतले लखनउले दुई प्रभावशाली जित निकालेको छ । अहिलेसम्म खेलेका तीन खेलमध्ये पछिल्ला दुईमा जित हात परेको हो र यी दुवैमा ‘प्लेयर अफ द म्याच’ रहे यिनै मयन्क ।

आइतबार डबल हेडरको खेल हुने दिन राति लखनउले गुजरात टाइटन्सको सामना गर्नेछ र सारा क्रिकेटप्रेमीको नजर फेरि एकपल्ट मयन्कमा पर्नेछ । उनले कामै यस्तै गरेका छन् । दुवै खेलमा उनले तीन/तीन विकेट लिए । खासमा कुरा यत्ति मात्रै होइन, चर्चा उनको बलिङ गतिकै हो । फास्ट बलिङ विश्व क्रिकेटमा छाउने ग्लामर हो । मयन्क नियमित १ सय ५० किलोमिटर प्रतिघण्टाको गतिमा बलिङ गर्छन् र यो विश्व क्रिकेटकै लागि दुर्लभ हो ।

उनी भर्खर २१ वर्षका भए । भारतका पुराना खेलाडी तथा कमेन्टेटर नवजोतसिंह सिद्धु पनि मयन्कको प्रदर्शनबाट खुसी छन् । सिद्धुले उनको खेलको विश्लेषण गरेका छन् । उनका अनुसार मयन्कको बलिङमा पेस छ, ‘लाइन एन्ड लेन्थ’ ठ्याक्कै मिल्छ । बल ठीक ठाउँमै झर्छ पनि । यस्तो प्रकारको बलिङ ब्याटरलाई फिटिक्कै मन पर्दैन, किनभने अप्ठ्यारो बनाउने नै यस्तै बलिङले हो । यसको अर्थ रन पनि बन्दैन, अनि पूरा विपक्षी टिमलाई नै दबाब हुन्छ ।

मयन्कको प्रतिभाको प्रशंसा गर्दै सिद्धुले सिधै भारतीय टिममा राख्नुपर्ने र अब आउने ट्वान्टी/२० विश्वकपमा खेलाउनुपर्नेसम्म बताएका छन् । पञ्जाव किंग्सविरुद्धको खेलमा उनले जोनी बियरस्टो, प्रभसिमनर सिंह र रजत पाटिडरको विकेट लिए । सो खेलबाटै उनले आईपीएलमा डेब्यु गरिरहेका थिए । त्यसै खेलमा उनले शिखर धवनविरुद्ध १५५.८ किलोमिटर प्रतिघण्टाको गतिमा कीर्तिमानी बलिङ गरे ।

त्यो खेलमा पञ्जाव निश्चित जितकै संघारमा थियो । तर मयन्कको बलिङले खेल एकाएक लखनउको पक्षमा मोडियो । तर, सबथोक बाहिरबाट हेर्दा जति सजिलो देखिन्थ्यो, दिल्लीका बलर मयन्कका लागि त्यति सजिलो भने थिएन । उनी एकाएक क्रिकेटमा आएका पनि होइनन् । यसका लागि उनले अलिकति गाह्रै बाटो तय गरिसकेका छन् । सन् २०२१ तिरको कुरा हो, जतिबेला दिल्ली र उत्तर प्रदेशले एउटा अभ्यास खेल खेलेका थिए । त्यस खेलमा मयन्क पनि थिए । उत्तर प्रदेशका प्रशिक्षक थिए, पूर्वखेलाडी विजय दहिया । उनी आफैं पनि मयन्कको गति देखेर अचम्ममा परे । उनले तुरुन्तै लखनउका त्यतिबेलाका प्रशिक्षक गौतम गम्भीरलाई मयन्कबारे जानकारी दिए । उनले त्यही बेला जिद्दी गरेका थिए, जतिसक्दो चाँडो मयन्कलाई आफ्नो बनाउनु । सन् २०२२ को खेलाडी लिलामीमा लखनउले २० लाख भारुमा उनलाई किन्यो । तर त्यो सिजन उनले खेल्नै पाएनन् । डेब्युको हल्लाबीच घाइते भए । चोटले उनको पूरा सिजन किरकिरा पारिदियो । यसबीच तय थियो, उनी पूरा निराश भए, आत्मविश्वास पनि गुमाए ।

पञ्जावविरुद्धको त्यही खेलअगाडि पनि प्रशिक्षक जस्टिक ल्यान्गरले मयन्कलाई डेब्यु गर्दैछौं भनेर सुनाए । एकछिन त आत्तिए । अब के गर्ने कस्तो गर्ने हो भनेर द्विविधामा परे । तर एकपल्ट बल हातमा के लिए, पछाडि फर्केर हेरेनन् । उनले अहिलेसम्म तय गरेको छोटो क्रिकेट यात्रालाई हेर्ने हो भने उनी फास्ट बलिङकै लागि बनेका जस्ता देखिन्छन् । सानोमा उनी तिनै स्टेयनसँगै मोर्ने मोर्केल र मिचेल जोन्सनको बलिङ हेर्थे ।

उनीहरू सबै आफ्नो समयका नामी फास्ट बलर थिए । तिनीहरूलाई हेरेर मयन्कले पनि आफू फास्ट बलर हुने सपना बुने । फास्ट बलिङका क्रममा बलले ब्याटरको हेल्मेट र बाँकी शरीरमा लाग्दा मयन्कालाई खुसी मिल्थ्यो । यही त हो, साँच्चैको फास्ट बलरको गुण । उनलाई सबै खाले गतिले लोभ्याउँथ्यो । जस्तो रकेट, प्लेन अथवा सुपर बाइक । उनी ६ फिट १ इन्चका छन् । शरीर दुब्लै देखिन्छ । तर शरीरमा जति मांसपेशी छन्, ती बलिया छन् ।

उनले यति तीव्र गतिले बलिङ गर्न सक्नुको एउटै कारण हो, उनको बलिङ शैली, जुन सुमधुर छ । बलिङका क्रममा उनको शरीर र टाउकोको स्थिति सटीक हुने गर्छ । अस्ट्रेलियाली ब्रेट ली पनि आफ्नो जमानाका लागि उत्तिकै राम्रा फास्ट बलर हुन् । उनी पनि मयन्कको बलिङबाट प्रभावित भएका छन् । ली पनि मान्छन्, मयन्कको बलिङ गर्ने शैली आफैंमा राम्रो हो र यसै कारण उनले तीव्र गतिमा बलिङ गर्न सकेका हुन् । फेरि यसका लागि उनले मिहिनेत पनि उत्तिकै गरेको हुनुपर्छ ।

पारम्परिक रूपमा भन्ने हो भने भारतीय क्रिकेटको सबैभन्दा ठूलो विशेषता भन्नु नै स्पिन बलिङ हो, चाहे त्यो लेग स्पिन होस् अथवा अफ स्पिन । स्पिन बलिङ आक्रमणकै मद्दतले भारत अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो प्रभाव छोड्थ्यो । पछिल्लो समय यसमा केही परिवर्तन आएको छ । अचेल भारतीय फास्ट बलिङको भाग पनि उत्तिकै बलियो बनेको छ । पछिल्लो वान–डे विश्वकपमा भारतले तय गरेको फाइनलसम्मको यात्रामा प्रमुख कारण यही फास्ट बलिङ थियो ।

अब यसमै मयन्क पनि जोडिएका छन् । यहाँनिर मूल प्रश्न हो, उनले चोटबाट कतिसम्म आफूलाई जोगाउने हुन् । फास्ट बलिङ भन्नु नै चोट बोक्नु पनि हो । मयन्कले यसको अनुभव पनि गरिसके । सब मज्जाले चल्ने हो भने मयन्कलाई भारतीय क्रिकेट टिममा प्रवेश गर्नका लागि लामो समय कुर्नुपर्ने छैन । स्टिभ स्मिथले त उनलाई निम्तो पनि दिइसकेका छन्, अस्ट्रेलियामा आएर खेल्ने, जहाँ फास्ट बलरलाई स्वर्ग साबित हुने पिच छन् ।

प्रकाशित : चैत्र २४, २०८० ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?