कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५

अल्ट्रा रेसकी रसिला

फ्रान्समा हुने अल्ट्रा माउन्ट ब्लान्कमा राम्रो प्रदर्शन गर्न दिनरात मिहिनेत गर्दै रसिला
हिमेश

काठमाडौँ — सुरुमा सुन्दा पत्याउनै गाह्रो । कुनै बेला रसिला तामाङ धादिङको धुनिबेंसीबाट आफ्नो कलेज दौडेर पुग्छिन् । दौडेर नै फर्किन्थिन् । त्यो पनि ३०–३० किलोमिटर । कसैलाई दौड्दैमा खुसी मिल्छ भने यस्तै हुन्छ, निरन्तर दौडिरहनु । यो रोकिने छाँट पनि छैन । 

अल्ट्रा रेसकी रसिला

किनभने अचेल यिनै रसिला अल्ट्रा रेसकी पक्कापक्की खेलाडी भएकी छन् । त्यो पनि अब्बल । सय–सय किलोमिटर दौडिन्छिन् । अझ योभन्दा लामो दूरी दौडिने पनि आँट राख्छिन् । केही वर्षअघिसम्म नेपालमा अल्ट्रा रेसको धाविका पाउनै गाह्रो थियो । नहोस् पनि किन ? यो आफैंमा अति गाह्रो छ । खासमा यो प्राकृतिक वातावरणमा दौडिने लामो दूरीको दौड हो । यसमा हिमाल, पहाड, समुद्र, हिउँ, जंगल, नदीनाला के पो हुन्न र ? सबै हुन्छ । अनि यसमा मोटरबाटोका लागि प्रयोग नहुने गोरेटो बाटो प्रयोग हुन्छ । उकालीओराली उत्तिकै हुन्छ ।

खासमा रसिला यस्तै दौडमा लोभिएका कारण उनलाई प्रकृति मन परेर नै हो । आजभोलि भने उनी जस्तै धाविकाहरू केही बाक्लै संख्यामा देख्न पाइन्छ । धावकहरू पनि राम्रै संख्यामा पाइन्छ । यिनै हुलमा रसिला केही राम्रो छिन् । दौडमा उनले गरेको प्रदर्शनले यस्तै देखाउँछ । केही समयमात्रै भयो उनले एसियन ट्रायल मास्टर्स २०२३ जितेको । उनका लागि ठूलै व्यक्तिगत उपलब्धि थियो । त्यसले उनलाई अपार खुसी दियो । इन्डोनेसियामा जंगलजंगलबाट दौड्नुपरेको थियो यसमा । अझ पानी पनि परिरहेको थियो । यसमै रमाइन् उनी ।

उनको सबैभन्दा ठूलो उपलब्धि यहीभन्दा हुन्छ । अहिलेसम्म उनले साना–ठूला गरेर ११ यस्ता दौडमा भाग लिइसकेकी छन् । त्यसमध्ये केही अरू पनि जितेकी छन् । उनी सबैभन्दा पहिले सन् २०१५ मा प्रोफेसनल अल्ट्रा रनर बनेकी थिइन् । दौडिन त आठै वर्षको उमेरदेखि दौडिरहेकी छन् । अहिले २४ वर्षकी भइन् । रसिलाले पहिलो ओरिजिनल एभरेस्ट म्याराथन उपाधि जितेकी थिइन् । यो भयो, सन् २०१९ को कुरा अनि पहिलो सफलताको ।

लगत्तै उनले चीनमा सम्पन्न जाआईओजी माउन्टेन कम्पिटिसन पनि जितिन् । यो थियो, ५० किमिको दौड । उनले स्विट्जरल्यान्डमा भएको अल्ट्रा टुर मोन्टेरोजा र कालाई मलाया क्लासिक २०२३ पनि जितेकी छन् । त्यसमध्ये मोन्टेरोजा त सय किलोमिटरको थियो । उनले यसरी दौडेका रेस र त्यसमा उनको अनुभव सुनाउने हो भने त्यो लामै हुन्छ । उनले ठ्याक्कै सय किलोमिटर दूरी लगातार १५ घण्टा ४५ मिनेट दौडेर पूरा गरेकी थिइन् । त्यसमा उनको राम्रो समय खालि ११ मिनेट मात्रै थियो । यसले पनि देखाउँछ, उनी कति धेरै उम्दा खेलाडी हुन् भनेर । उनको परिचय त्यत्तिकैमा सकिन्न । उनी पर्वतारोही पनि हुन् । उनले ६ हजार मिटर उचाइसम्मका हिमाल सफलतापूर्वक चढिसकेकी छन् । सँगै रेस्क्युएर पनि । हिमाल चढ्ने क्रममा केही आपत् आइलाग्यो भने उद्धारमा सहभागी हुनेमा पर्छिन्, रसिला । यसका लागि उनले राम्रै प्रशिक्षण लिएकी छन् ।

तस्बिरहरू : राकेश प्रजापति

उनी भन्छिन्, ‘अल्ट्रा रेसमा नेपालको सम्भावना साँच्चै अत्यधिक छ किनभने यसमा दौडिने भनेकै प्राकृतिक बाटोमा हो, त्यो पनि उकालो ओरालोसहित ।’ उनी मान्छिन्, नेपालले अलिकति मात्रै यो क्षेत्रमा लगानी गर्ने हो भने ठुल्ठूला सफलता धेरै टाढा हुन्न । फेरि यस्ता दौडका लागि सबैभन्दा उपयुक्त देशमा नेपाल पर्छ नै । नेपालमै पनि केही दौड नभएका होइनन् । तर अझै पुगेको छैन । चाहिने त अन्तर्राष्ट्रिय मान्यताप्राप्त दौड नै हुन् ।

अहिले उनको ठ्याक्कै चर्चा किनभन्दा रसिला दिनरात नभनेर मिहिनेत गरिरहेकी छन् । यसको कारण हो, फ्रान्समा हुने अल्ट्रा माउन्ट ब्लान्कमा सहभागी हुन र त्यसमा राम्रो प्रदर्शन गर्न । यसमा सहभागी हुन उनलाई वरीयताले पनि छुन्छ । ‘अल्ट्रा रेसको सबैभन्दा ठूलो र महत्त्वको प्रतियोगिता भनेकै यही हो । यसमा सहभागी भएर नै म राम्रो नतिजा निकाल्न चाहन्छु,’ उनी भन्छिन् । यतिभन्दा उनको हिस्सी परेको अनुहारमा मीठो हाँसो झल्कन्छ । यो रसिलाको आत्मविश्वास पनि हो ।

प्रकाशित : चैत्र २३, २०८० ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?