३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

प्रज्ञा स्मृति तेस्रो साइकल रेसको उपाधि सुरज र उषालाई 

चितवन — भरतपुरमा शनिबार सम्पन्न माउन्टेन बाइक क्रस क्रन्ट्री ओलम्पिक (एमटिबी–क्रस सिओ) साइकल रेसको उपाधि महिलातर्फ उषा खनाल र पुरुषतर्फ सुरज रानामगरले जितेका छन् । प्रज्ञा स्मृति प्रतिष्ठानले गरेको उक्त प्रतिस्पर्धा जित्दै उनीहरुले नगद पुरस्कार ५० हजार रुपैयाँ पनि पाए।

प्रज्ञा स्मृति तेस्रो साइकल रेसको उपाधि सुरज र उषालाई 

कतै समथर र कतै अफ्ठ्यारो, उकालो र भिरालो अवरोध युक्त ट्रयाकमा साइकल कुदाउँदै उनीहरुले उपाधि जितेका हुन् ।

चार किलो मिटरको उक्त ट्रयाक सात फन्का लगाउनु परेको थियो । महिलातर्फ उषाले एक घण्टा १६ मिनेट लगाएर उपाधि जित्दा एक घण्टा १८ मिनेट २३ सकेन्ड समय लगाएकी लक्ष्मी मगर दोस्रा भइन् । त्यसै गरी एक घण्टा २१ मिनेट ३७ सेकेन्ड लगाएकी इन्द्रकला नेम्वाङ तेस्रो भइन् । पुरुषतर्फ सुरजले एक घण्टा १४ मिनेट ४८ सेकेन्डमा पार गरेर विजेता बन्दा एक घण्टा १४ मिनेट ५५ सेकेन्ड लगाएका हिमाल टमटा दोस्रा भए ।

एक घण्टा १५ मिनेट ३४ सेकेन्ड समय लगाएका लक्ष्मण मल्ल तेस्रा भए । विजेताले ५० हजार रुपैयाँ नगद प्राप्त गर्दा दोस्रो हुनेले ४० हजार रुपैयाँ र तेस्रो हुनेले ३० हजार रुपैयाँ पाए । प्रधानमन्त्री पुष्पकमल दाहालका दिवंगत छोरा प्रकाश र जेठी छोरी ज्ञानुको नाममा खोलिएको प्रज्ञा स्मृति प्रतिष्ठानले भरतपुरमा तीन वर्षदेखि साइकल दौड आयोजना गर्दै आएको छ ।

यो पटक भरतपुर महानगरपालिका–११ गणेशधामको पुण्यवर्ती ताल नजिकको जंगल क्षेत्रमा पहाडी थुम्कोलाई पनि समेटेर साइकल रेसका लागि विशेष ट्रयाक निर्माण भएको थियो । प्रतियोगितामा जुनियरतर्फ निमा शेर्पा पहिलो, सञ्जय राई दोस्रो र राजिव ठाकुर तेस्रो भए । त्यसै गरी ४० वर्षभन्दा माथि उमेर समूहमा पुरुषमा हर्कबहादुर लामा पहिलो, विकास महर्जन दोस्रो र देवबहादुर बोहरा तेस्रो भए ।

चितवन विशेष महिलामा सुधा तिमिल्सिना पहिलो, मौसमी आले दोस्रो र जुना श्रेष्ठ तेस्रो भए । चितवन विशेष पुरुषमा प्रमित थापा पहिलो, हेमचन्द्र गुरुङ दोस्रो र कृष्ण घिमिरे तेस्रो भए । यी विधाहरुमा पहिलो हुनेले २० हजार, दोस्रो हुनले १५ र तेस्रो हुनेले १० हजार रुपैयाँ नगद पुरस्कार पाए । सवै ६ वटा विधामा गरेर कुल ८५ जनाले भाग लिएका थिए ।

प्रज्ञा स्मृति प्रतिष्ठानको अध्यक्षसमेत रहेकी भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले गरेका थिए । कार्यक्रममा मन्तब्य राख्दै मेयर रेनु दाहालले साइकलका अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुन जाने खेलाडीलाई पनि प्रतिष्ठानका तर्फबाट सहयोग रहने वचन दिएकी छन् ।

प्रकाशित : चैत्र १०, २०८० १७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?