कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५१

एसिया छनोट जित्दै पलेशा ओलम्पिकमा

ध्रुव तुलाधर

काठमाडौँ — पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले चीनको ताइयाङमा आयोजित एसियाली पारा ओलम्पिक छनोट प्रतियोगिताको फाइनलमा इरानकी प्रतिद्वन्द्वी लीला मिर्जाइलाई हराउँदै आइतबार स्वर्ण पदक मात्र जितिनन्, सन् २०२४ मा हुने पेरिस पारालम्पिकमा छनोट भएकी छन् ।

एसिया छनोट जित्दै पलेशा ओलम्पिकमा

यो उपलब्धिसँगै पलेशा ओलम्पिक पुग्ने तेस्रो नेपाली खेलाडी बनेकी छन् । यसअघि एसियाली छनोट चरण पार गर्दै संगीना वैद्य सन् २००४ को ग्रिस ओलम्पिक र दीपक विष्ट २००८ को बेइजिङ ओलम्पिक खेलेका थिए । ‘सधैं सकारात्मक हुनुपर्छ, जित्नका लागि खेल्ने हो, स्वर्ण नै जित्ने हो,’ पछिल्लो उपलब्धिबाट उत्साहित पलेशाको प्रतिक्रिया थियो ।

के–४४ क्याटगोरीको महिला ५७ केजी तौल समूहमा उनले फाइनलमा इरानकी मिर्जाइलाई ५–४ को स्कोरमा हराएकी थिइन् । सुरुवाती अग्रता मिर्जाइले लिए पनि पलेशाले खेलमा उत्कृष्ट पुनरागमन गरेकी थिइन् । त्यसअघि पलेशाले उज्वेकिस्तानकी करिमा मेलिकुजिइभालाई १८–२ को फराकिलो अन्तरले पराजित गर्दै स्वर्णको बलियो दाबेदारी पेस गरेकी थिइन् । पलेशा तिनै खेलाडी हुन्, जसले यसै वर्ष चीनकै हाङचाउमा सम्पन्न चौथो पारा एसियाली खेलकुदबाट कांस्य पदक जितेकी थिइन् । जुन नेपालले जितेको पहिलो पारा एसियाड पदक थियो ।

‘पेरिस पारालम्पिकका लागि छनोट भएँ, देशका लागि एउटा स्वर्ण जितेँ, पेरिसमा पनि यस्तैगरी स्वर्ण जित्न सकुँ,’ पलेशाले कान्तिपुरसँग भनिन्, ‘मलाई समर्थन गर्ने र हौसला बढाउनु हुने परिवारदेखि प्रशिक्षक, तेक्वान्दो संघ, सबैलाई यहीँबाट धन्यवाद भन्न चाहन्छु । तपाईंहरूको साथबिना यो सम्भव हुन्थेन ।’ पलेशा दोस्रो पटक ओलम्पिक खेल्न जाँदै छिन् । उनले पहिलो पटक सन् २०२० मा जापानमा आयोजित टोकियो पारालम्पिक खेलेकी थिइन् । त्यसबेला छनोट चरण पार गरेर नभई वाइल्ड कार्ड इन्ट्रीमार्फत टोकियो पारालम्पिक पुगेकी थिइन् । कोभिड–१९ महामारीका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा एसियाली छनोट खेल्न जान नपाएपछि वाइल्ड कार्डबाट उनको यात्रा सम्भव भएको हो । त्यसबेला उनले ओलम्पिकका दुई खेल जितेर इतिहास रचेकी थिइन् ।

कांस्य पदकका लागि भएको रिपिचेजको फाइनलमा विश्व वरीयताको दोस्रो स्थानमा रहेकी चिनियाँ युजी लीसँग १२–९ को साँघुरो अन्तरको हारपछि पलेशा पदकविहीन भएकी थिइन् । त्यतिबेला पहिलो खेलमा बेलायतकी बेथ मुनरोसँग पराजित भएपछि उनको फाइनल पुग्ने सम्भावना सकिएको थियो । तर, हारका बाबजुद रिपिचेजको अवसर थियो । त्यसबाट कांस्य पदक मिल्थ्यो । उनी रिपिचेजको क्वाटरफाइनलमा अमेरिकाकी ब्रियान्ना सालिनारालाई १०–० ले र सेमिफाइनलमा सर्बियाकी मासिजा मिसेभलाई २३–१८ ले पराजित गरेर फाइनल पुगेकी थिइन् । तर, फाइनलमा चिनियाँ खेलाडी लीलाई पन्छाउन सकिनन् ।

उनका प्रशिक्षक कविराज कविराज नेगी लामाले पलेशाले चीनबाट पेरिस पारालम्पिकमा पदकका लागि ढोका खोलेको बताउँदै भने, ‘यसअघि हामी वाइल्ड कार्डबाट ओलम्पिक खेलेका थियौं । यसपालि पलेशा देशको शिर उचो हुने गरी एसियाली स्वर्ण जितेर छनोट भएकी छन् । पेरिसमा उनले फेरि अर्को चमत्कार गर्ने आशा छ ।’ पलेशालाई लामो समयदेखि प्रशिक्षण गराइरहेका लामा अन्तर्राष्ट्रिय लेभल–२ पारा तेक्वान्दो प्रशिक्षक हुन् ।

पलेशाको पदक यात्रा

सन् २०१८ मा काठमाडौं सम्पन्न दोस्रो काठमाडौं ग्यारोगी तथा पुम्से अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेकी पलेशाले २०१८ मै भियतनाममा सम्पन्न चौथो एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा कास्य जितेर अन्तर्राष्ट्रिय पदक जितको यात्रा थालेकी थिइन् । त्यसपछि सन् २०२१ मा बहराइनमा भएको एसियाली युथ पारा गेम्समा स्वर्ण पदक नै जितिन् ।

जन्मँदै बायाँ हातको नाडीदेखि तलको भाग नभएकी पलेशाले १० वर्षको उमेरदेखि तेक्वान्दो खेल्न थालेकी हुन् । उनी सन् २०१६ देखि पारा राष्ट्रिय टिममा आबद्ध भएकी थिइन् । त्यसपछि उनले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताका रूपमा सन् २०१७ मा दक्षिण कोरियाको छुनचियोनमा भएको तेस्रो एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप खेल्दै पाँचौं भएकी थिइन् । काठमाडौं बागबजारकी पलेशाले लन्डनमा विश्व पारा तेक्वान्दो २०१७, जोर्डनमा पाँचौं एसियाली पारा खुला तेक्वान्दो २०१९ र टोकियोमा पारालिम्पक गेम्सको टेस्ट इभेन्ट २०१९ मा पाॅँचौं स्थान हासिल गरेकी थिइन् । सन् २०१९ मा टर्कीमा भएको आठौं विश्व पारा तेक्वान्दोमा नवौं भएकी पलेशाले साउदी अरेबियामा भएको विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा पनि सहभागिता जनाएकी थिइन् ।

उनी अहिले चीनको सांघाईमा उच्च शिक्षा अध्ययनरत छिन् । एक महिनाअघि नेपालमै आएर प्रशिक्षण गरी फर्केकी थिइन् । उनी उतैबाट प्रतियोगितामा सहभागी भएकी हुन् । उक्त छनोट प्रतियोगितामा पलेशासँगै पारा तेक्वान्दोबाट ५८ केजीमुनि भरतसिंह महता र ६३ केजीमुनि अमीर ब्लोनले पनि प्रतिस्पर्धा गरेका थिए । भरतले एक खेल जितेका थिए । उनले इन्डोनेसियाका एम कुर्निभानलाई १९–६ ले पराजित गर्दै सेमिफाइनल पुगेका थिए । त्यहाँ उनी मंगोलियाका खेलाडीसँग पराजित भए । रिपिचेजमा मौका पाएका भरत पुनः अफगानिस्तानका खेलाडीसँग हारे । अमीरले भने पहिलो खेलमै चाइनिज ताइपेईका प्रतिद्वन्द्वीले पार गर्न सकेनन् ।

प्रकाशित : चैत्र ५, २०८० ०६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?