कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

आईपीएल अक्सन : अनुभवीको बर्चस्व

इन्डियन प्रिमियर लिगको यस वर्षको अक्सनमा दुई खेलाडीमाथि कीर्तिमानी भाउ लाग्यो । कुल २ सय ३० करोड भारतीय रुपैयाँभन्दा बढी रकम खर्चिएको अक्सनमा सबैभन्दा ठूलो विजेता रहे, अस्ट्रेलियाली खेलाडीद्वय मिचेल स्टार्क र प्याक कमिन्स । यसका पछाडि मुख्य कारण हो, अनुभव । अनुभव पनि कस्तो भने स्टार्क र कमिन्सले जस्तो ठूलो अवसरमा ठूलै प्रदर्शन गर्न सक्ने ।
हिमेश

काठमाडौँ — त्यसो त यसको नामै थियो, ‘मिनी अक्सन’ । तर नामअनुसार काम भएन । जे काम भयो, त्यो भने अन्तर्राष्ट्रिय क्रिकेटका लागि राम्रै हो । कुनै समय थियो, क्रिकेटका खेलाडीले लोभ गर्थे, फुटबल खेल्नेले कति धेरै कमाउँछन् भनेर । तर अब त क्रिकेटमा पनि मस्त कमाइ हुन्छ । यसका लागि धन्यवाद दिनै पर्ने हुन्छ, इन्डियन प्रिमियर लिग (आईपीएल) लाई । यसपल्टको ‘मिनी अक्सन’ मा दुई खेलाडीमाथि कीर्तिमानी भाउ लाग्यो, त्यसैले यसको खास अर्थ हुनेछ ।

आईपीएल अक्सन : अनुभवीको बर्चस्व

यो अक्सनमा कुल २ सय ३० करोड भारतीय रुपैयाँभन्दा बढी रकम मन खुलेर खर्च गरियो । र, यसमा सबैभन्दा ठूलो विजेता रहे, अस्ट्रेलियाली खेलाडीद्वय मिचेल स्टार्क र प्याक कमिन्स । यस्तो किन त ? यसको उत्तर पछाडि धेरै कारक भने छन् । सबैभन्दा ठूलो त यो अक्सनमा त्यही खेलाडीलाई महत्त्व दिइयो, जससँग अनुभव छ । अनुभव पनि कस्तो भन्दा ठूलो अवसरमा ठूलै प्रदर्शन गर्न सक्ने । जस्तो, तिनै स्टार्क र कमिन्स ।

त्यसपछि त्यस्ता नयाँ खेलाडीलाई प्राथमिकता दिइयो, जसमा लगानी गर्दा त्यसबाट भविष्यमा ‘रिटर्न’ आउनेछ । अहिले १० फ्रान्चाइज टिम रहेका छन्, आईपीएलमा । तिनीहरूले अनुभवका लागि भने भारतमै भएको पछिल्लो वान डे विश्वकपलाई आधार माने । सबैलाई थाहा छ, त्यस विश्वकपको फाइनलमा अस्ट्रेलियाले भारतलाई मज्जाले हराएर उपाधि मात्र जितेन्, यो तथ्य पनि प्रमाणित गरेको थियो, यसका खेलाडी जत्तिको जुझारु विरलै छन् क्रिकेट दुनियाँमा ।

फाइनल अगाडिसम्म पूरा प्रतियोगितामा भारत मात्रै छाएको थियो । तर त्यही टिमलाई निर्णायक मोडमा रोक्ने काम भने अस्ट्रेलियाले गरेको थियो । त्यही च्याम्पियन टिमका दुई प्रमुख सदस्य हुन्, स्टार्क र कमिन्स । एउटा रमाइलो तथ्य के भने यी दुवै फरक खाले खेलाडी हुन्, स्वभाव र प्रदर्शन दुवै आधारमा । सबैभन्दा पहिले स्टार्ककै कुरा । यी ३३ वर्षीय खेलाडी हुन्, ‘ह्वाइट बल’ का त्यस्ता दामी खेलाडी, जसलाई ‘म्याच विनर्स’ भन्दा फरक पर्दैन ।

उनी आफ्नो बलिङ आक्रमणकै मद्दतले कुनै पनि प्रतिद्वन्द्वी टिमलाई ध्वस्त पार्न सक्छन् । त्यो भनेको उनको एक ‘स्पेल’ ले पूरा खेलका दिशा परिवर्तन गर्न सक्छन् । फेरि अहिले उनी आफ्नो खेल जीवनकै उत्कृष्ट लयमा छन् । उनले यसअघि रोयल च्यालेन्जर्स बेंगलोरका लागि आईपीएल खेलिसके, तर कुनै पनि बेला उनले भित्री मनबाट यो प्रतियोगिता खेलेका छैनन् । त्यो अर्थमा उनी आईपीएलमा अझै प्रमाणित हुन बाँकी खेलाडी हुन् ।

तर उनको योग्यता र क्षमता त कसैलाई शंका नै छैन । उनलाई २४.७५ करोड भारतीय रुपैयाँमा कोलकाता नाइटराइडर्सले किनेको हो । यो रह्यो, अहिलेसम्मकै सबैभन्दा ठूलो भाउ । यस पछाडि सबैभन्दा ठूलो हात गौत्तम गम्भीरको मानिन्छ । उनी कोलकाताका मेन्टर हुन् । कोलकाताले आईपीएसलको उपाधि जित्दा पनि उनी नै कप्तान थिए । अधिकांश समय उनको कुरा अरूको भन्दा फरक हुने गर्छ । सायद स्टार्कलाई किनेर उनले केही फरक गर्न खोजेका हुन् । यस्तोमा कोलकाताको अबको मुख्य अस्त्र भनेकै स्टार्क हुनेछन् ।

कमिन्सलाई भने सनराइज हैदराबादले किनेको हो । त्यो पनि २०.५० करोड भारतीय रुपैयाँमा । एकपल्ट च्याम्पियन र अर्को पल्ट उपविजेता रहेको हैदराबाद पछिल्ला तीन सिजन सन्तोषजनक छैनन् । यी तीनै अवसरमा गुजरातको प्रदर्शन असाध्यै खराब रह्यो । अझ सन् २०२३ को पछिल्लो संस्करणमा त उसको खराब प्रदर्शनले हदै नाघेको थियो, दस टिममध्ये दसौं स्थानमा रहेर ।

यति धेरै अस्थिर प्रदर्शनको एउटा ठोस कारण सही कप्तान नभएर पनि हो । हैदराबादको समस्या नै कप्तानीमा थियो, यी पछिल्ला तीन सिजन । त्यसैले पनि हैदराबादले कमिन्सलाई चाहेको हो । कमिन्सको बलिङ त राम्रो छ नै, उनी ठिक्कका ब्याटर पनि हुन् । चाहिएको बेला रन बनाउन सक्छन् । उनको फास्ट बलिङको सबैभन्दा ठूलो विशेषता भन्नु नै त्यो सटिक हुनु हो । भनेको उनी लगातार आफूले चाहेजस्तै बलिङ गर्न माहिर छन् ।

विश्वकप विजेता खेलाडीका रूपमा चम्केका उनीहरू दुई जना मात्र होइनन् । ट्रेभिस हेडले पनि ६.८ करोड भारुको भाउ पाए, हैदराबादबाटै । न्युजिल्यान्डले त्यस विश्वकपको सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । त्यसमा सबैभन्दा राम्रो खेलेका थिए, ड्यारल मिचेलले । त्यसैले त उनलाई चेन्नाई सुपर किंग्स १४ करोड भारु खर्चिन तयार भयो । न्युजिल्यान्डकै रचिन रवीन्द्रलाई चेन्नाईले १.८ करोड तिर्‍यो । दक्षिण अफ्रिका पनि फाइनल पुगेको थियो ।

त्यस पछाडिका प्रमुख कारण थिए, जेराल्ड कोएट्जीको धारिलो बलिङ । उनले २० विकेट लिए । त्यसबाटै प्रभावित भएर मुम्बई इन्डियन्सले उनलाई पाँच करोड खर्चिन दुई पल्ट सोचेन । यसपल्टको अक्सनमा देखिएको अर्को विशेषता रर्‍यो, अधिकांश टिमले पेस बलरलाई महत्त्व दिएको पाइयो । त्यसको अर्थ स्पिनरहरूलाई धेरैले भाउ दिएनन् । त्यसैले सबैभन्दा बढी मूल्य पाउने शीर्ष ६ बलरमध्ये पाँच त पेसर नै रहे । भारतसँगै पर्याप्त स्पिनर भएर पनि त्यस्तो भएको हुन सक्छ ।

र, अन्त्यमा अर्को महत्त्वपूर्ण प्रश्न अहिले नै ‘मिनी अक्सन’ किन चाहिएको थियो त ? पछिल्लो सिजनको आईपीएलको एउटा ठूलो विशेषता रह्यो । सहभागी टिमबीचको स्तर अन्तर धेरै देखियो । केही टिम असाध्यै बलिया देखिए । केही टिमको प्रदर्शन वास्तवमै खराब रह्यो । आईपीएलको लागि त यो राम्रो थिएन नै । अब सन् २०२५ का लागि ‘मेगा अक्सन’ हुनेछ । त्यति बेला खेलाडी किन्ने सूत्र भने फरक हुन सक्नेछ । तर अहिलेकै लागि अनुभव नै बढी प्राथमिकतामा पर्‍यो ।

प्रकाशित : पुस ५, २०८० १३:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?