कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

गोपी र सन्तोषी च्याम्पियन

नेपालगन्ज म्याराथनमा गोपीचन्द्र पार्कीले दोस्रो पटक म्याराथन जित्दा महिला हाफ म्याराथनमा सन्तोषी श्रेष्ठको ह्याट्रिक 
रूपा गहतराज

(नेपालगन्ज) — नेपाल एपीएफ क्लबका धावक गोपीचन्द्र पार्कीले शनिबार नवौं धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन् । गोपीले यसअघि छैटौं संस्करणमा पनि यो सफलता पाएका छन् ।

गोपी र सन्तोषी च्याम्पियन

नेपालगन्जमा गोपीले दोस्रोपल्ट म्याराथन उपाधि जित्दा धादिङकी सन्तोषी श्रेष्ठ महिला हाफ म्याराथनमा तेस्रो पटक च्याम्पियन भएकी छन् । गोपी र सन्तोषीले १३ औं साग खेलकुदमा मध्यम दुरीमा स्वर्ण पदक जितेका थिए । गोपीले ५ हजार र सन्तोषीले १० हजार मिटरमा नेपाललाई स्वर्ण दिलाएका थिए ।

गोपीले निर्धारित दुरी २ घण्टा २१ मिनेट ३९ सेकेन्डमा पूरा गर्दै उपाधि जिते । उनले गत वर्षका विजेता खडकबहादुर खड्कालाई पछाडि पारेका थिए । त्रिभुवन आर्मी क्लबका खडकले २ घण्टा २२ मिनेट ९ सेकेन्डमा दूरी पूरा गरेका थिए । गत वर्ष खडकले उपाधि जित्दा २ घण्टा २० मिनेट २८ सेकेन्डको टाइमिङ निकालेका थिए ।

किरणसिंह बोगटीले २ घण्टा २५ मिनेट ४४ सेकेन्डबाट तेस्रो स्थान हात पारे । उनी पनि १३ औं सागका स्वर्ण विजेता हुन् । उनले म्याराथनमा स्वर्ण जितेका थिए । च्याम्पियन गोपीले २ लाख रुपैयाँ पुरस्कार पाए । खडकले १ लाख र किरणले ५० हजार पुरस्कार पाए ।

सन्तोषविक्रम विष्टले २ घण्टा ३० मिनेट १८ सेकेन्डबाट चौथो बने । मोहनदेव जिसीले २ घण्टा ३९ मिनेट १०.५२ सेकेन्डबाट पाँचौं स्थानमा रहे । प्रेम बस्नेतले २ घण्टा ३९ मिनेट १०.८८ सेकेन्डबाट छैटौं स्थानमा रहे । शेरबहादुर बुढा २ घण्टा ४५ मिनेट २४ सेकेन्डबाट सातौं, अजय विक २ घण्टा ५४ मिनेट १७ सेकेन्डबाट आठौं स्थानमा रहेर दुरी पूरा गर्न सफल भए । चौथोले २५ हजार, पाँचौंले १५ हजार, छैटौंले १० हजार, सातौं र आठौंले समान ५ हजार रुपैयाँ पुरस्कार पाए ।

हाफ म्याराथनको उपाधि जितेकी सन्तोषीले तेस्रो पटक च्याम्पियन बन्नेक्रममा १ घण्टा २० मिनेट ५२ सेकेन्ड लगाइन् । एपीएफकी फुलमती राना १ घण्टा २१ मिनेट ९ सेकेन्डबाट दोस्रो भइन् । ढाका म्याराथन विजेता तथा सागकी म्याराथन रजत विजेता पुष्पा भण्डारीले १ घण्टा २३ मिनेट ३५ सेकेन्डबाट तेस्रो स्थान हात पारिन् । पुष्पा छैटौं संस्करणकी विजेता हुन् ।

विन्द्राधन्के श्रेष्ठले चौथो भइन् । नवौं राष्ट्रिय खेलकुदमा म्याराथनको स्वर्ण जितेकी उनले १ घण्टा २४ मिनेट २० सेकेन्डमा नेपालगन्जको हाफ म्याराथन पूरा गरिन् ।

हाफ म्याराथन विजेता सन्तोषीले ७५ हजार, दोस्रो भएकी फुलमतीले ५० हजार, तेस्रो भएकी पुष्पाले २५ हजार र चौथो भएकी विन्द्राधन्केले १५ हजार रुपैयाँ पुरस्कार पाए । पाँचौं स्थानमा राज्यलक्ष्मी रावल र छैटौं स्थानमा गणना भण्डारी रहे । राज्यलक्ष्मीले १० हजार र गणनाले ५ हजार पुरस्कार पाए । १० किलोमिटर पुरुषतर्फ दुर्गाबहादुर बुढाले ३१ मिनेट १५ः३६ सेकेन्डबाट स्वर्ण पदक जिते । आर्मीका नरेन्द्रसिंह रावतले ३१ मिनेट २४.३२ सेकेन्डबाट दोस्रो र धर्म महर्जनले ३४ मिनेट ११.१८ सेकेन्डबाट तेस्रो स्थान हासिल गरे ।

सोही दुरीमा महिलातर्फ राममाया बुढा विजेता बनिन् । उनले ३७ मिनेट ४९.७७ सेकेन्डमा दौड पूरा गरिन् । आशा रावतले ३९ मिनेट ५४.२७ सेकेन्डबाट दोस्रो र सारा बुढाले ४६ मिनेट १०.५४ सेकेन्डबाट तेस्रो स्थान हात पारेका थिए । दुवैका विजेताले ३० हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ पाएका थिए ।

स्कुलतर्फ ५ किमि ब्वाइजतर्फ दीपेन्द्र बोहरा पहिलो, अजय पाण्डे दोस्रो र सरोजसिंह तेस्रो बने । गर्ल्सतर्फ कल्पना बुढा पहिलो, विमला कार्की दोस्रो र मोतीकला डाँगी तेस्रो भए ।

५ किमि कर्पोरेट रनमा योगेश मल्ल पहिलो भएका थिए । ५ किमि ह्विलचेयर पुरुषतर्फ यज्ञबहादुर खत्री पहिलो, रोहितकुमार तमोली दोस्रो र शमशेर अली बेहाना तेस्रो भए । महिलातर्फ देउकुमारी थारु विजेता र श्यामकली थारु दोस्रो भए । पहिलोले ५, दोस्रोले ३ र तेस्रोले २ हजार पुरस्कार पाए । किड्स रनमा छात्रतर्फ अभिषेक खड्का पहिलो, आयुश रावल दोस्रो र प्रवीण राना तेस्रो तथा छात्रातर्फ कृति परियार पहिलो र हिमानी बटाला दोस्रो भए ।

क्रियटिभ ह्यान्ड्सको आयोजना एवं क्रियटिभगन्ज मिडिया एन्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको नवौं धारा नेपालगन्ज म्याराथनमा इलेक्ट्रोनिक टाइमिङ चिप्स प्रयोग गरिएको थियो । यो म्याराथन रुले गत वर्ष एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स) बाट मान्यता पाएको थियो ।


प्रकाशित : मंसिर १०, २०८० ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?