२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१९

इंग्ल्यान्डले छाडेको यादगार सम्झना

डिफेन्डिङ च्याम्पियनका रूपमा इंग्ल्यान्ड भारत त आएको थियो, तर यही टिमले आफ्ना सुरुआती सातमध्ये छ खेल किन गुमायो त ?
द गार्डियन

मुम्बई — डेविड विलीले विश्वकप खेल्न भारत उड्न लागेको विमान नै झन्डै झन्डै छुटाएका थिए । वास्तविक इंग्लिस क्रिकेट टिम भारत आएकै थिएन् । जति बेला टिमले रंग देखाउन सुरु गरेको थियो, घर जाने समय आइसकेको थियो । इंग्ल्यान्डको पूरा भारत भ्रमणमा खालि अन्योलता मात्रै रहे ।

इंग्ल्यान्डले छाडेको यादगार सम्झना

मूल प्रश्न त त्यही रह्यो, डिफेन्डिङ च्याम्पियनका रूपमा इंग्ल्यान्ड भारत त आएको थियो, तर यही टिमले आफ्ना सुरुआती सातमध्ये छ खेल किन गुमायो त ? खेल सकिएपछि त्यसका कारण अनेक हुन सक्छन् भनेर भन्न सजिलो छ । अनेक सिद्धान्त निस्कन सक्छ, हारका कारणमा । सामान्य भाषामा भन्दा टिमको तयारी नै पुगेको थिएन अनि निर्णायक मौकामा खेलाडीले लय गुमाए ।

अझ विश्वकप अगाडि ‘द हन्ड्रेज’ को आयोजना नै गलत थियो । दुविधा त त्यति बेला पनि हुन्छ, घर फर्कन एक दिन मात्र बाँकी छँदा इंग्ल्यान्डले पाकिस्तानविरुद्ध भने किन र कसरी उत्कृष्ट प्रदर्शन गर्‍यो त ? इंग्ल्यान्डको चोखो समर्थक हो भने त रिसै उठ्न सक्छ । तर यो जितले कम्तीमा यस विश्वकपमा इंग्ल्यान्डले खराब मात्रै खेल्यो भन्ने पनि रहेन् । कम्तीमा अन्त्य त सुखद भयो ।

‘साँच्चै, हामी साह्रै निराश छौं,’ इंग्लिस टिमका प्रशिक्षक म्याथ्यु मोटले पनि माने, ‘हामीलाई थाहा थियो, हाम्रो टिम राम्रो छ । तर जति बेला निर्णायक प्रदर्शन चाहिएको थियो, त्यही बेला हामी नराम्रोसँग चुक्यौं । हामीले जस्तो सोचेका थियौं, अथवा भनौं, जति हामी खेल्न सक्थ्यौं, त्यति पनि हामीले मैदानमा गर्न सकेनौं ।’

अहिले दिवालीको मौसम छ, इंग्ल्यान्ड घर जाने बेला बत्ति त बाल्न सक्यो । तर यहाँनिर यही प्रसन्नतामा प्रश्न गर्ने पनि हुन्छन् । क्रिकेट भनेको खासमा दबाबमै खेलिने खेल न हो । इंग्ल्यान्डसामु अन्तिम खेलमा दबाबनै थिएन् । टिम सेमिफाइनल नपुग्ने निश्चित भइसकेको थियो । यस्तोमा त्यस्तो जितको पनि के अर्थ, जसको आफैंमा खास अर्थ छैन । क्रिकेट भनेको त जति बेला चाहिएको हो, त्यही बेला खेल्ने त हो । त्यस्तै परिस्थितिमा जित निकाल्ने हो ।

इंग्ल्यान्ड खासमा यसमै नराम्रोसँग चुक्यो । साँच्चै पछिल्लो विश्वकपमा तेस्रो स्थानका लागि भएको खेलमा कसले गोल गर्‍यो भनेर याद छ त ? छैन नै । गोल गर्नेहरू मिस्लाभ ओरिसिच र जास्को गभारडिल को थिए को । बरू ठ्याक्कै मुखमै झुन्डिएको छ भने त्यही विश्वकपको फाइनलमा लियोनल मेसी, एन्जेल डि मारियो र केयलिन एमबापेले गोल गरेका थिए । खेललाई राम्रो माने पनि हुन्छ, नराम्रो माने पनि हुन्छ, तर हुने यस्तै नै हो ।

‘हाम्रो निराशाको त सीमा नै छैन,’ फेरि एकपल्ट प्रशिक्षक मोटले भने, ‘हामी के–के नै गर्ने मिसनमा थियौं, त्यो सिमन असफल रह्यो ।’ तर उनी पनि यति भन्न चुकेनन्, ‘प्रतियोगितामा हाम्रो चुनौती सकेपछि भने इंग्ल्यान्डको प्रदर्शन राम्रो रह्यो । पछिल्लो एक साता हाम्रो खेल राम्रो रह्यो । यसमा भने मलाई गर्व नै छ ।’

टिमको छनोटमै पनि केही प्रश्न रहे, जस्तो तिनै उडान छुटाउन लागेका विलीलाई लिएर । विलीको उडान त्यसै छुट्न लागेको होइन । उनी विश्वकप खेल्न १५ सदस्यीय टिमका त्यस्ता एक्ला खेलाडी थिए, जसलाई ‘सेन्ट्रल कन्ट्राक्ट’ दिइएको थिएन् । उनै यस विश्वकपमा अरू इंग्लिस खेलाडीभन्दा राम्रो खेले । तर अन्त्यमा उनले पाकिस्तानविरुद्धको खेलसँग अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास पनि त लिए । संन्यास त लिए, तर उनको मनमा चोट पनि रहेको छ भनेर ठ्याक्कै देखियो । उनले आखिरमा मन दुखाएर खेलेका रहेछन्, यस विश्वकप । प्रश्न उठ्छ, विलीले किन उडान छुटाउन लागेका थिए त ?

किनभने, उनी भारत जान ११ घण्टा अगाडिसम्म पनि आफू इंग्लिस टिममा परेको छु भन्नेमा शंका थियो । टिम भारत जाने भइसकेको थियो, म बल्लतल्ल त्यस टिममा आबद्ध भएँ ।’ विश्वकप खेल्न भारत झरेयता इंग्ल्यान्डका दुवै अभ्यास खेल वर्षाले नराम्रोसँग प्रभावित रह्यो । विश्वकप अगाडि तयारी खेल पनि कमजोर नै रह्यो । इंग्ल्यान्डले न्युजिल्यान्डसँग केही खेल खेलेका थिए र यी चुपचाप खेलिए । हल्लै भएन् । मोट पनि मान्छन्, तयारी केही राम्रो भएको भए, कुरा अर्कै हुन्थ्यो ।

क्रिकेटमा सिक्ने भनेको पनि यस्तै बेला हो । मोट के विश्वास राख्छन् भने मौका पाउने हो र अबको चार वर्षपछि विश्वकपमा आफूहरू कायमै रहने हो भने टिममा कसरी सुधार गर्नु पर्छ, त्यसबारे पर्याप्त ज्ञान भने प्राप्त भएको छ । उनले जे सुकै भने पनि सार हो, इंग्ल्यान्डले आफूले यसअघि जितेको विश्वकप उपाधिको रक्षा गर्न सकेन् । रक्षा गर्न सकेन मात्र होइन, उसले राम्रो खेल्न पनि सकेन । विपक्षी टिमसामु इंग्ल्यान्ड रंग उडेको टिम रह्यो ।

टिम बल्लतल्ल च्याम्पियन्स ट्रफीका लागि छनोट हुन सक्यो, त्यो पनि आफ्नो अन्तिम खेलमा पाकिस्तानलाई हराए । अन्तिम खेलसम्म इंग्ल्यान्डको टिमलाई लिएर दुविधा नै थियो । धेरै आश गरेर पनि फिस्स हुने खेल प्रदर्शन गर्ने टिम रह्यो, यो इंग्ल्यान्ड । तर पनि इंग्ल्यान्डलाई धन्यवाद भने दिर्नै पर्छ । किनभने इंग्ल्यान्डले छाडेको सम्झना यादगार छ, यसमा भने कुनै प्रकारको संकोच छैन । पछिल्लो विश्वकप उसले जसरी जित्यो, त्यो अद्वितीय थियो ।

त्यति मात्र होइन, इंग्ल्यान्डले ट्वान्टी–२० क्रिकेटको विश्वकप पनि जित्यो । एकै समय क्रिकेटका दुई ठूला प्रतियोगिता जित्नु भनेको संयोग मात्र थिएन । यसबीच उसले सीमित ओभरको क्रिकेटमा पस्केको खेल नै गज्जबको थियो । अझ इंग्ल्यान्डले खेलेको टेस्ट क्रिकेट पनि उत्तिकै उच्च दर्जाको रह्यो । क्रिकेटका पारखीले इंग्ल्यान्डले खेलेको यही समयको क्रिकेटका लागि उनीहरूलाई सम्झिरहनेछन् । त्यसका लागि इंग्लिस टिमलाई धन्यवाद ।

प्रकाशित : कार्तिक २७, २०८० ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?