एसीसी यू–१९ प्रिमियर कप : देवको कीर्तिमान शतकमा नेपालको मजबुत स्कोर

कान्तिपुर संवाददाता

काठमाडौँ — कप्तान देव खनालको शतकको मद्दतले नेपालले एसीसी यू–१९ प्रिमियर कपको फाइनलमा मंगलबार यूएईविरुद्ध मजबुत स्कोर खडा गरेको छ ।

एसीसी यू–१९ प्रिमियर कप : देवको कीर्तिमान शतकमा नेपालको मजबुत स्कोर

मलेसियाको क्वालालमपुरस्थित बायुमास ओभल मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८० रनको मजबुत स्कोर बनाएको छ ।

नेपालले अब त्यो स्कोरको रक्षा गर्दै उपाधि जित्ने प्रयास गर्नेछ । नेपालका लागि कप्तान देव खनालले कीर्तिमानी शतक बनाए । उनले ८९ बलमा १०० रन बनाए । उनले नौ चौका र तीन छक्का प्रहार गरेका थिए । यो उनको यस प्रतियोगितामै दोस्रो शतक हो भने यू–१९ मा नेपालका लागि तेस्रो शतक हो । उनी हरित सेट्टीको बलमा समातिएका थिए ।

यसक्रममा उनी यू–१९ मा नेपालका लागि तीन शतक बनाउने पहिलो ब्याटर पनि बने । खराब सुरुआत गरेको नेपालले १४ रन बनाउँदासम्म दुई विकेट गुमाएको थियो । दीपक बोहराले पाँच रन बनाए भने आकाश त्रिपाठीले खाता पनि खोल्न सकेनन् । त्यसयता देवले ओपनर अर्जुन कुमालसँग १ सय २५ रनको ठोस सोझदारी गरेका थिए ।

अर्जुनले ७८ बलमा ५५ रन बनाए र त्यसमा चार चौका सामेल थियो । उत्तम थापामगरले अन्त्यतिर उपयोगी ५७ रन बनाए । उनले ६७ बलमा चार चौका र एक छक्का प्रहार गरे । यस्तै दीपकप्रसाद डुम्रेले २८ बलमा २७ रन थपे । यूएईका बलरमध्ये हरित सर्वाधिक सफल रहे र उनले सात ओभर ३६ रन खर्चेर पाँच विकेट लिए ।

नेपालले सेमिफाइनलमा जापानलाई डकवर्थ लेविस नियम अनुसार जापानलाई १ सय ४३ रनले हराएको थियो । यूएईले भने सिंगापुरलाई डकवर्थ लेविस नियम अनुसार नै १० विकेटले पराजित गरेको थियो । नेपालको लक्ष्य प्रतियोगितामा अपराजित रहेर च्याम्पियन हुने रहनेछ । फाइनल प्रवेशसँगै नेपाल यसअघि नै यू–१९ एसियाकपका लागि छनोट भइसकेको छ ।

प्रकाशित : कार्तिक ७, २०८० १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा प्रदेश सभाको बैठकमै उपस्थित नहुने कांग्रेसको शैलीबारे तपाईंको के टिप्पणी छ ?