कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

म्यानमारका दुई खेल र विश्वकप छनोट

नेपाली टोलीका कप्तान किरण चेम्जोङ म्यानमारविरुद्ध दुई मैत्रीपूर्ण खेलको प्रदर्शनपछि लाओसविरुद्ध अक्टोबरमा हुने विश्वकप २०२६ छनोटमा नेपालले राम्रो गर्नेमा आशावादी
राजु घिसिङ

काठमाडौँ — नेपाली राष्ट्रिय फुटबल टिम विश्वकप २०२६ छनोटको अन्तिम तयारीमा म्यानमारविरुद्ध दुई मैत्रीपूर्ण खेल खेलेर स्वदेश फर्किसकेको छ । यांगुनस्थित थुवुना रंगशालामा फिफा वरीयतामा १५ स्थानमाथिको टिमविरुद्ध पहिलो खेल गोलरहित टुंग्याएको नेपालले ८६ औं मिनेटमा भएको विवादास्पद गोलसँगै दोस्रो खेल १–० ले हारेको थियो ।

म्यानमारका दुई खेल र विश्वकप छनोट

त्यसपछि फर्किएको नेपाली टिमको विश्वकप छनोट केन्द्रित ट्रेनिङ शुक्रबार सुरु भएको छ ।

विश्वकप छनोटको पहिलो चरणमा नेपालले प्रतिद्वन्द्वी पाएको छ, लाओस । वरीयतामा १२ स्थानमुनिको टिमविरुद्ध नेपालले ‘होम एन्ड अवे’ का आधारमा दुई खेल खेल्नेछ । अक्टोबर १२ मा दशरथ रंगशालामा खेलेपछि नेपाली टिम अक्टोबर १७ मा खेल्न भियन्तिन (लाओस) मा जानेछ ।

‘दुई लेग’ को प्रतिस्पर्धामा लाओसलाई पराजित गर्न सके मात्रै नेपाली टिम विश्वकप छनोटको दोस्रो चरण अर्थात् समूह चरणमा प्रवेश गर्नेछ । अनपेक्षित नतिजा आएमा नेपालको विश्वकप २०२६ छनोट यात्रा पहिलो चरणमै टुंगिनेछ । तर, नेपाली टोलीका कप्तान किरण चेम्जोङ यो टिम र छनोटलाई लिएर आशावादी छन् ।

दुई खेलपछि इन्डियन सुपर लिग (आईएसएल) क्लब पन्जाब एफसीमा आबद्ध कप्तान किरण यांगुनका दुई खेलपछि पन्जाब फर्किसकेका छन् । नेपालका सबैभन्दा अनुभवी यी ३३ वर्षीय खेलाडीसँग यांगुनका खेल, नयाँ–पुराना खेलाडीका प्रदर्शन, टिमको बलियो–कमजोर पक्ष र विश्वकप छनोटबारे गरिएको कुराकानी उनकै शब्दमा :

सकारात्मक प्रदर्शन

यो टिमले म्यानमारविरुद्ध गरेको प्रदर्शन सकारात्मक देख्छु । अहिलेको अवस्थामा खेलाडीहरू हरेक दिन गुमाउँदै (विदेश पलायन) जाँदा कोचले दिएको अवसरमा नयाँ खेलाडीले गरेको प्रदर्शनप्रति खुसी लाग्यो । सकारात्मक लक्षणहरू देखेको छु । अर्काको भूमिमा यत्तिको संघर्ष (प्रतिस्पर्धा वा चुनौती) गरेको, गोल अवसर सिर्जना गरेको, वर्चस्व जमाएको (दोस्रो खेल) मेरो करिअरमै पहिलोपल्ट हो जस्तो लाग्छ । अब हामी सक्छौं भन्ने भएको छ । हामीले अवसरहरू उपयोग गर्न नसकेको र त्यस्तै (खराब) गोल खाएका हौं । हामी अभागी नै भयौं ।

म्यानमारको टिम राम्रै थियो । टोलीका १० खेलाडी दोस्रो र तेस्रो डिभिजनका थाई लिग, इन्डोनेसियाको लिग वान र कम्बोडियाको लिग खेल्छन् । शारीरिक रूपमा हामीभन्दा बलिया थिए । टेक्निकल पनि हामीभन्दा राम्रै थिए । फिलिपिन्सजस्तै थियो म्यानमारको टिम । हामीले साफअघि मनिलामा १–० ले हारे पनि फिलिपिन्सविरुद्ध राम्रै खलेका थियौं । हामीले यस्तै सिंगापुर, हङकङ, मलेसिया, फिलिपिन्सजस्ता टिमसँग खेलिरहनुपर्छ । बंगलादेश, माल्दिभ्स, भुटानसँग मात्रै खेलेर हुँदैन । हाम्रो खेल र नतिजामा सुधार गर्न वरीयतामा माथिको टिमसँग नियमित खेल्नैपर्छ ।

फिनिसिर चाहियो

पहिलो खेलमा सुरुका २० मिनेट हामी ‘कोल्याप्स’ नै भएजस्तो थियो । खेलाडीहरू डराएर पनि होला । राष्ट्रिय टिममा नयाँ खेलाडी धेरै छन् । एक्सपोजर छैन, खेल छैन, विपक्षीको मैदानमा खेलेको अनुभव छैन । तर, हामीले विस्तारै गति समात्यौं । दोस्रो हाफमा राम्रै खेल्यौं । रक्षात्मक रूपमा बलियो हुँदै काउन्टर अट्याकिङ अगाडि बढ्ने शैलीमा खेलेका थियौं । यस शैलीमा धेरै अवसर सिर्जना गरेका थियौं ।

डिफेन्सबाटै बल खेल्दै अवसर सिर्जना गर्ने कोचको योजनाअनुसार राम्रै खेलेको हो । तर, फिनिसिङमा मिहिनेत गर्नैपर्ने देखियो । कोचले अब विश्वकप छनोटमा त्यही गर्छ होला । हामीले अवसर बनायौं । ढुक्कसँग गोल गर्नसक्ने क्षमता भएको ‘कुल फिनिसर’ पहिलेबाटै हामीलाई खड्किरहेकै हो । ९० मिनेटमा धेरै अवसर पाउन गाह्रै हुन्छ । तर, राम्रो फिनिसिर भयो भने पाएका अवसरमा गोल गर्न सकिन्छ र हामीलाई खेल जित्न त्यस्तै फिनिसिर (गोल गर्ने स्ट्राइकर) आवश्यक छ ।

तस्बिर : एएफपी

विशुद्ध स्ट्राइकर (गोल गर्नका लागि सबैभन्दा अगाडि खेल्ने भूमिका) नभएर हामीले धेरै संघर्ष गर्नुपरेको छ । त्यो पोजिसनमा घरी अञ्जन (विष्ट) खेल्छन्, यसपालि जिलेस्पी (जंग कार्की) ले पनि खेले । पछि (सब्स्टिच्युट) नवयुग (श्रेष्ठ) पनि आए । उनीहरू विशुद्ध स्ट्राइकर होइनन्, पाएका अवसर उपयोग गर्ने स्ट्राइकर अभावमा मिडफिल्डबाट अगाडि बढेका खेलाडी हुन् । विशुद्ध स्ट्राइकर नहुँदा मिडफिल्डरले बल हान्न पाइरहेका छन् । कहिले को, कहिले को होइन, अवसर पाउँदा गोल हान्ने स्ट्राइकरको खाँचो हाम्रो टिमलाई छ । भारतका कप्तान सुनील क्षत्रीजस्तै फिनिसिर हामीलाई चाहिएको छ ।

अहिलेमात्र होइन, जुमनु (राई), सन्तोष (साहुखल), अनिल (गुरुङ) दाइ जस्ता घरेलु फुटबलमा चलेका उत्कृष्ट स्ट्राइकर टिममा हुँदा पनि गोल भइरहेको थिएन । त्यसैले इतिहास हेर्दा हामीलाई सधैं फिनिसिरको अभाव भएको देखिन्छ, जसलाई सबैभन्दा बढी गोलको कीर्तिमान नै १३ गोल भएकाले प्रस्टै हुन्छ । यो १३ गोलको कीर्तिमानबाट स्कोरिङमा हामी इतिहासदेखि नै कति कमजोर छौं भनेर आफैं विश्लेषण गर्न सक्छौं । मलाई लाग्छ कि हामीसँग राम्रै स्ट्राइकर भएको भए कीर्तिमान गोल ३०, ४० वा ५० गोल पुग्नुपर्ने थियो । गोलको औसत हेर्दा नीराजन (रायमाझी) दाइ राम्रो देखिन्छ । उहाँले धेरै खेल खेलेको भए/खेल्न पाएको भए ३० गोलभन्दा बढी हुन्थ्यो होला ।

यसपालि टिममा विमल (घर्तीमगर) भाइ भइदिएको भए पक्कै पनि हामीलाई राम्रो हुन्थ्यो होला । खेलाउनैपर्छ भन्ने नसोचौं तर उनलाई अट्याकिङमा उपयोग गर्न सकिन्थ्यो । तर, अरू खेलाडी पनि राम्रा छन्, टिमका लागि योग्य छन् ।

हामीसँग विशुद्ध लेफ्ट–ब्याक पनि छैन । यो पोजिसनका राम्रा खेलाडी नेपालमै छैन । त्यसैले लेफ्ट विंगर खेलिरहेका आशिष चौधरीलाई लेफ्ट–ब्याकमा खेलाउनुपर्यो । पहिला डिफेन्समा कहिल्यै नखेलेको भए पनि उनले राम्रै कोसिस गरे । डिफेन्सबाट आक्रमणमा अघि बढ्न राम्रो भए पनि उनलाई डिफेन्स गर्न भने गाह्रा भइरहेको थियो । दोस्रो खलमा उनकै क्षेत्रबाट आएको बलमा विवादास्पद गोल पनि भयो । उनलाई लेफ्ट–ब्याकमा उत्कृष्ट खेलाडी बन्न अझै समय लाग्ला । राइट–ब्याकमा सनिश (श्रेष्ठ) ले राम्रै गरेका छन् । हामीलाई यो पोजिसनमा विकल्प पनि छैन । सेन्टर–ब्याकमा रोहित (चन्द) र अनन्त (तामाङ) विकल्पविहीन नै छन् । उनीहरूले राम्रै गरिरहेका छन् । टिमलाई देवेन्द्र (तामाङ) को अभाव पनि हुन असक्छ ।

गोल विवाद किन ?

खाएको गोलमा हाम्रै कमजोरी रह्यो, रेफ्रीको पनि । विपक्षी टिमले लेफ्ट–ब्याकमा हाम्रो कमजोरीको फाइदा लिन खोजिरहेका थिए । त्यहीबाट हामीलाई दबाब दिइरहेका थिए । बल गोलपोस्टमा छिर्दासम्म सहायक रेफ्रीले झन्डा (अफसाइडको संकेत) उठाइरहेको थियो । त्यसैले हाम्रा खेलाडीले विपक्षीलाई खुला छाडिदिए र पछाडिबाट आएर गोल हाने । गोल हानेपछि रेफ्रीलाई झन्डा उठाएको हामीले देखायौं र उनी त्यहाँ गएर झन्डा झार्न लगाउँदै गोल दिए ।

उक्त ‘मूभ’ मा रोहित र मैले मात्रै प्रयास गरिरहेका थियौं । सहायक रेफ्रीले झन्डा झारेको थिएन, प्ले–अन (खेल जारी) पनि भनेको थिएन । त्यसैले कसरी गोल भयो भनेर सोध्दा रेफ्रीले ‘रेफ्री डिसिजन’ हो, गोल हो भनिदिए । रेफ्री थाइल्यान्डका थिए भने सहायक रेफ्री म्यानमारकै । हामीलाई खेल्नैपर्ने बाध्यता थियो, पूरा खेल खेल्यौं । खेलपछि म्यानमारका कप्तानले पनि खेलमा कहिलेकाहीं यस्तै हुन्छ, रेफ्रीको निर्णय मान्नैपर्ने हुन्छ भनेर हामीलाई सान्त्वना दिएका थिए । हामीसँग म्यानमार टिमलाई बधाई दिनुको विकल्प रहेन ।

देश वा क्लबका लागि सधैं जहाँ भए पनि राम्रो गर्ने प्रयास गर्छु, उत्कृष्ट प्रदर्शनको कोसिस गर्छु । आफ्नो टिमका लागि सक्ने कोसिस गर्छु । मैले म्यानमारमा त्यसै गरें । कुनै बेला कस्तो गोल खाइन्छ, त्यसमा पछुतो हुन्छ । तर, म सधैं राम्रो गर्ने प्रयासमा खेल्छु । हरेक खेल अन्तिम खेलको रूपमा लिएर उत्कृष्ट प्रदर्शन गर्ने कोसिस गर्छु । मेरा लागि यांगुनमा प्रदर्शन त्यस्तै भयो ।

खेलाडी पलायनपछि राम्रो संकेत

प्रशिक्षक भिन्सेन्जो (अल्बर्टो एनेस) आएपछि खेलाडी नभएको समयमा पनि नयाँ खेलाडीलाई ल्याएर तयार पारियो । यसपालि सबैभन्दा बढी एक महिनाजति प्रशिक्षणको समय पाउँदा म्यानमारसँग यत्तिको प्रतिस्पर्धा गर्नु धेरै राम्रो हो । चार वर्षअघि ३–० ले हारेको नेपाली टिमले यसपालि गरेको प्रदर्शन देखेर म्यानमारकै खेलाडी र फुटबल महासंघका महासचिवले आश्चर्य व्यक्त गरे । खेलाडी अभावमा आएका नयाँ खेलाडीले यत्तिको सुधार गरेको प्रदर्शन धेरै राम्रो हो । टिम स्प्रिट र ट्रान्जिसन पार्ट राम्रो रह्यो । खुसी लाग्यो । दुःख त्यही छ कि भोलि फेरि यी खेलाडीहरू कहाँ जानेछन् ?

यो टिमको प्रदर्शन हेरेर कुवेतसँग खेल्नुपर्यो भने पनि हामी फाइट गर्न सक्छौं भन्ने भएको छ । भिन्सेन्जो आएपछि थ्री नेसन्स कप, साफ च्याम्पियनसिप र यो यांगुन यात्रामध्ये सबैभन्दा राम्रो खेलेको टिम यही हो । प्रदर्शन राम्रो, जुझारुपन, टिम स्पिरिट, गोलका अवसर सिर्जनामा राम्रो भयो । जिलेस्पी, हिसुब र दिनेश (हेन्जन) ले डेब्यु गरे । शारीरिक रूपमा अब्बल जिलेस्पीले अझै धेरै मिहिनेत गर्नुपर्छ जस्तो लाग्छ । हिसुबले थोरै समय पाए पनि एग्रेसन (आक्रामकपन) देखाए । दिनेशले खेल्छ है भन्ने देखाए । दैन्दिनै पीर लाग्ने भनेको फेरि पनि हामी यो टिमबाट खेलाडी गुमाउँछौं भन्ने नै हो । किनभने यस्तो टिम बनाउन समय लाग्छ । भोलिको दिनमा फेरि को–को खेलाडी गुमाइन्छ जस्तो हुन्छ ।

नेपाल बलियो कि लाओस ?

हाम्रा लागि विश्वकप छनोट खेल्नु ठूलो अवसर हो । हामीले थ्री नेसन्स कपमा लाओसलाई २–० (समूह चरण) र २–१ (फाइनल) ले जितेका थियौं । उक्त खेल भएको लगभग ६ महिना भयो । यत्तिका समयमा धेरै सुधार भएको हुनसक्छ । पहिला लाओसले सबै एकेडेमीका खेलाडी ल्याएका थिए । विश्वकप छनोटमा विदेशमा रहेका पनि ल्याउँछन् होला । हाम्रो कोचले सबै तयारी गरिरहेका छन् । पहिलो खेल घरेलु भूमिमा छ, जसमा हामीलाई अंक लिने अवसर छ । लाओस कमजोर छैन तर पहिलो खेलमै ३ अंक लियौं भने हामीलाई एड्भान्टेज हुन्छ । यसैका लागि हामी जितेर अगाडि बढ्ने प्रयास गर्नेछौं ।

प्रकाशित : आश्विन १, २०८० १६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?