कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२५

मेसीका फ्यान नेम्वाङ

नेम्वाङ मेसीका कतिसम्म फ्यान थिए भने सन् २०१४ को विश्वकपमा उनको खेल हेर्न संविधानसभाको बैठक नै स्थगित गरेर गोकर्ण रिसोर्टसम्म पुगेका थिए
कञ्चन अधिकारी

काठमाडौँ — विसं २०७९ असार १७ गते सुवासचन्द्र नेम्वाङले नेपाल ल क्याम्पसको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा यसपालिको फिफा विश्वकप (२०२२) को उपाधि अर्जेन्टिनाले जित्ने ठोकुवा गरेका थिए । त्यसको एउटै कारण थियो, जादुमयी खेलाडी लियोनल मेसीले उक्त टिमको कप्तानी गरिरहेका थिए । मेसीले जित्न बाँकी विश्वकप नै थियो । नेम्वाङमात्र होइनन्, मेसीका सबै प्रशंसक चाहन्थे कि उनी एकपटक विश्व विजेता बनून् ।

मेसीका फ्यान नेम्वाङ

कतार विश्वकपमा अर्जेन्टिना र मेसीले बाजी मार्ने नेम्वाङले बताएपछि कार्यक्रममा उपस्थितले हाँस्दै ताली बर्साए । ‘यो ताली अर्जेन्टिना र मेसीले विश्वकप जित्छन् भन्ने लाग्छ । त्यसैले कतारमा ४ महिनापछि हुने विश्वकप फुटबल तपाईं–हामी आ–आफ्नो घरमा बसेर होस् वा सकिएछ भने कतार पुगेर हेरौंला,’ नेम्वाङको ठोकुवा थियो । नभन्दै, कतारमा गत वर्ष सम्पन्न विश्वकपको फाइनलमा फ्रान्सलाई पेनाल्टीमा ४–२ ले हराउँदै अर्जेन्टिनाले उपाधि नै जित्यो । जुन मेसीको खेलजीवनमा सबैभन्दा ठूलो उपाधि थियो ।

रमाइलो संयोग त के थियो भने मेसी कतारमा विश्वकपमा भिड्दै थिए । नेम्वाङ २०७९ मंसिर ४ गते इलाम क्षेत्र नम्बर २ बाट चुनावी मैदानमा होमिएका थिए । उता मेसीले विश्वकपमा हार्ला भन्ने चिन्ता, यता आफूले चुनाव । दुवैतिरको ‘खेल’ को हुटहुटीले नेम्वाङलाई झन्डै एक महिना तनाव दिएको थियो । मतगणनापछिको सभालाई सम्बोधन गर्दै उनले विश्वकप फुटबलमा अर्जेन्टिनाले जित्नु र आफूले चुनाव जित्नुले खुसी थामिनसक्नु भएको सुनाएका थिए ।

‘दुई कुराले खुसी थामिनसक्नु भो, एकातिर तपाईंहरूले हामीलाई आशीर्वाद दिनुभयो एकातिर त्यो खुसी छँदै छ,’ उनले इलाम क्षेत्र २ बाट चुनाव जितेपछिको सभामा मतदातामाझ भनेका थिए, ‘अर्कोतिर राति १२ः४५ विश्वकप फुटबलमा मेसीले स्वाट्टै गोल हाने । पहिलो गोल हानेपछि फेरि गोल हान्छन् भनेर पर्खिंदा गोल हानेजत्तिकै असिस्ट गरे । म हिजो राति राम्रोसँग सुत्न सकेको छैन । यसमा पनि सबैलाई बधाई दिन्छु ।’

कोपा अमेरिका २०२१ को उपाधि अर्जेन्टिनाले जितेपछि पनि नेम्वाङले प्रतिक्रिया दिएका थिए । ‘म त अत्यधिक खुसी छु, बल्ल मेसीले न्याय पाएका छन् । कोपा अमेरिकामा बेस्ट प्लेयर र हाइस्कोरर भएर पनि मेसीले उपाधि जित्न सकेका थिएनन् । धेरै वर्ष पछाडि मेसीको नेतृत्वमा अर्जेन्टिनाले कोपा अमेरिका जितेको छ,’ २०७८ असार २७ मा एमालेको कार्यदल बैठकमा पस्नुअघि नेम्वाङले सञ्चारकर्मीसँग भनेका थिए ।

विश्वकप २०१८ मा भने नेम्वाङले खल्लो महसुस गरेका थिए । त्यसको कारण थियो अर्जेन्टिनाले हार बेहोर्नु । विश्वकपको पहिलो खेलमै अर्जेन्टिना आइसल्यान्डसँग बराबरीमा रोकिएको थियो । पहिलो खेलमा मेसीले पेनाल्टीमा समेत चुकाएका थिए भने दोस्रो खेलमा क्रोएसियासँग ३–० ले पराजित भएपछि नेम्वाङ निराश भएका थिए ।

आइसल्यान्डसँगको पहिलो खेलमा मेसीले पेनाल्टी ‘मिस’ गरेको भोलिपल्ट नेम्वाङ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । बालुवाटारमा समेत अर्जेन्टिनाको फुटबल प्रदर्शनलाई लिएर नेता नेम्वाङलाई प्रधानमन्त्रीकै राजनीतिक सल्लाहकार विष्णु रिमालले जिस्क्याएका थिए, ‘मेसीले त यसपालि हार्ने भए नि !’ रिमालको प्रश्न भुईंमा खस्न नपाउँदै नेम्वाङले जवाफ फर्काएका थिए, ‘यो हुनै सक्दैन, असम्भव/नेम्वाङ मेसीका कतिसम्म फ्यान थिए भने २०१४ को विश्वकप संस्करणमा उनले संविधानसभाको बैठक नै स्थगित गरेर मेसीको खेल हेर्न गोकर्ण रिसोर्ट पुगेका थिए । ब्राजिलको रियो दी जेनेरियोमा भएको फाइनलमा जर्मनीले अर्जेन्टिनालाई १–० ले पराजित गरेको थियो ।

नेम्वाङ फुटबलका क्रेजी फ्यान त हुन् नै । सँगै खेलाडी पनि । त्यसमाथि अर्जेन्टिना र मेसीको त ‘डाइहार्ट’ फ्यान । ५ वर्षअघि फुटबल प्रेमबारे कुरा गर्न सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालय पुगेका बेला उनले भनेका थिए, ‘जहाँ अर्जेन्टिना, त्यहाँ मेसी । जहाँ मेसी, त्यहाँ सुवास नेम्वाङको दिल । म अर्जेन्टिनाको भन्दा पनि बढीचाहिँ मेसीको ‘सुपर’ फ्यान ।’ उनले थाहा पाएसम्म र भ्याएसम्म मेसीको खेल कहिल्यै छुटाएनन् । फ्यान हुनुको कारण थियो, जादुमयी लियोनल मेसी । उनले जहिलेदेखि मेसीको खेल नजिकबाट नियाले, त्यसपछि मेसीको फ्यान भए । त्यसपछि जुन–जुन क्लबबाट मेसीले खेले ती सबै क्लबको फ्यान भए । बार्सिलोना पनि औधी मनपराए । ‘जब मेसीको खेल नजिकबाट हेर्न थालें । मनपर्न थाल्यो । उनको खेलले असर पारेको छ मलाई,’ उनले सुनाएका थिए ।

अर्जेन्टिना र मेसी पहिलो रोजाइमा परे पनि क्रिस्टियानो रोनाल्डोसमेत उनलाई मनपर्ने खेलाडी हो । उनले विभिन्न विदेशी लिगहरूसमेत हेर्ने गरेका थिए । उनले फुटबलको प्रसंगमा भनेका थिए, ‘अहिले पनि राति १२/१ बजेतिर उठेर फुटबल हेर्छु । इंग्लिस प्रिमियर लिग, ला लिगा... । मेसी पीएसजी पुगेका हुनाले बार्सिलोना हेर्न छाडेको थिएँ । अर्जेन्टिना र उनको नयाँ क्लबको फुटबल हेर्छु ।’

नेम्वाङको फुटबलप्रतिको यो प्रभाव छोरा सुहाङमा पनि परेको थियो । तर, उनी लिभरपुलका समर्थक भएर निस्के । उनै सुहाङले गत वर्ष नेपाल सुपर लिग (एनएसएल) फुटबलमा इलाम डे मेचीको फ्रेन्चाइज लिएका थिए । तर गत वर्ष एनएसएल हुन सकेको थिएन । एनएसएलको दोस्रो सिजन मंसिर ८ देखि सुरु हुँदै छ । इलामले उद्घाटन खेलमा गत वर्षको विजेता काठमाडौं रेजर्ससँग खेल्दै छ ।

हुन त अन्तर्राष्ट्रिय तहको फुटबलको कुरा गर्ने हो भने नेम्वाङ ब्राजिलका खाँटी समर्थक थिए । सन् २००६ पछि उनले कित्ता परिवर्तन गर्दै अर्जेन्टिनालाई छाने । उनले कान्तिपुरसँगको कुराकानीमा भनेका थिए, ‘किनकि अर्जेन्टिनाबाट मेसी खेल्छन् । मेसीको कारण बार्साको समर्थक पनि भएँ  ।’

नेम्वाङलाई मेसी वास्तवमा एउटा पूर्ण खेलाडी हुन् भन्ने लाग्थ्यो । भन्थे, ‘कमेन्टेटरले पनि उनलाई कम्प्लिट खेलाडी हुन् भनेर भन्थे,’ उनले क्रिस्टियानो रोनाल्डोसँग तुलना गरेर मेसीलाई हेर्ने गरेको सुनाउँथे । नेम्वाङ रोनाल्डोलाई पनि कुशल स्ट्राइकर मान्थे । तर, ड्रिब्लिङ र असिस्टमा मेसीकै कला सुन्दर लाग्थ्यो उनलाई । ‘मेसी यति सजिलो र न्याचुरल ढंगले खेल खेल्छन् कि टिप्पणीकारहरू के भन्छन् भने उसले खेलेर गोल हान्दा ए यति सजिलैसँग खेल्न सक्दो रहेछ भन्छन्,’ नेम्वाङ भन्थे ।

नेपालमा मेसी र रोनाल्डोका जब्बर प्रशंसक छन् । खेलाडीको प्रशंसामा रमाउँछन्, आलोचनामा खिन्न हुन्छन् । नेम्वाङ पनि मेसीका कट्टर प्रशंसक थिए । कुनै अनलाइन वा पत्रिकामा मेसी वा उनीसम्बद्ध क्लबको समाचार प्राथमिकतामा नपरे प्रधानसम्पादक, समाचार संयोजक, खेल र संसदीय पत्रकारलाई फोनै गर्थे र भन्थे, ‘कहिलेकाहीं फुटबल समाचार हेर्दा बाइपास गरेर लेखिएको जस्तो लाग्छ । कहिले एउटैको मात्रै आएको देख्छु । त्यस्तो बेला सबैको समाचार आएन कि भनेर फोन गर्छु । मेसीको फोटो र समाचार किन सानो ?’ मेसीका जब्बर समर्थक उनै नेम्वाङको मंगलबार हृदयघातका कारण निधन भएको छ ।

सम्बन्धित समाचार

प्रकाशित : भाद्र २७, २०८० ०६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?