कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८
एएफसी कप छनोट

‘हामी मोहन बगानविरुद्ध जित्‍नकै लागि खेल्दैछौं’

ए डिभिजन लिगको उपविजेता मछिन्द्र फुटबल क्लब र इन्डियन सुपर लिग क्लब मोहन बगानविरुद्ध एएफसी कप २०२३–०२४ छनोटको खेल नेपाली समय अनुसार साँझ ७ : १५ बजे साल्ट लेक रंगशाला, कोलकातामा सुरु हुँदैछ
राजु घिसिङ

काठमाडौँ — मछिन्द्र फुटबल क्लबले एएफसी कप २०२३–०२४ छनोटको प्रारम्भिक चरणको पहिलो खेलमा गत साता भुटानको पारो एफसीलाई दशरथ रंगशालामा ३–२ ले हराएको थियो । महादेशीय प्रतियोगितामा ऐतिहासिक जितसँगै अगाडि बढेको मछिन्द्रले बुधबार बेलुका इन्डियन सुपर लिग क्लब मोहन बगानविरुद्ध साल्ट लेक रंगशाला, कोलकातामा प्रतिस्पर्धा गर्दैछ ।

‘हामी मोहन बगानविरुद्ध जित्‍नकै लागि खेल्दैछौं’

पक्कै पनि मछिन्द्रलाई मोहन बगानविरुद्धको खेल सजिलो हुने छैन । मछिन्द्र गत जेठमा सम्पन्न सहिद स्मारक ए डिभिजन लिगको उपाधिमा ह्याट्रिक गर्न चुकेको थियो । तर, लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले एएफसी क्लब लाइसेन्सको मापदण्ड पूरा नगर्दा मछिन्द्रले लिगको उपविजेता भएर पनि एएफसी कपको छनोट खेल्ने अवसर पाएको हो । मछिन्द्रविरुद्ध मोहन बगानको विजेता टिम प्ले–अफमा पुग्नेछ, जसले ढाका अबहनी (बंगलादेश) वा क्लब इगल्स (माल्दिभ्स) विरुद्ध अर्को साता प्रतिस्पर्धा गर्नेछ । दक्षिण एसियाबाट प्ले–अफको विजेता टिम एएफसी कपको समूह चरणमा प्रवेश गर्नेछ ।

मोहन बगानविरुद्ध प्रतिस्पधा गर्न तीन दिनअघि कोलकाता पुगेका मछिन्द्रका ६१ वर्षीय प्रशिक्षक किशोर कुमार केसीसँग गरिएको कुराकानी :

भारतीय फुटबलकै महारथी तथा इन्डियन सुपर लिगको बलियो क्लब मोहन बगानलाई कसरी लिनुभएको छ ?

मोहन बगान एक शताब्दी पुरानो क्लब हो । उसको आफ्नो बेग्लै पहिचान छ, इतिहास छ । अहिले उसको टिममा उत्कृष्ट खेलाडीहरू छन् । विदेशी खेलाडी राम्रा छन् । भारतकै उत्कृष्ट फुटबलरहरू पनि मोहन बगानको टिममा छन् । त्यसैले मोहन बगान राम्रो टिम हो । आक्रमणमा उसका खेलाडीहरू धेरै राम्रा छन् । उनीहरूले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । तर, हामी जित्नकै लागि खेल्नेछौं ।

कोलकातामा मछिन्द्रको लक्ष्य के हो ?

हामी राम्रो तयारी गरेर यहाँ (कोलकाता) आएका छौं । हामी जित्नका लागि आएका हौं । पारो एफसीविरुद्ध हाम्रो डिफेन्समा केही सुधार गर्नुपर्ने देखिएको छ । त्यसैले रक्षापंक्तिलाई बलियो बनाएर गोलका अवसर सिर्जना गर्दै हामी आजको खेल जित्ने प्रयास गर्नेछौं ।

मछिन्द्र आफैं चाहिँ कस्तो स्तरको टिम हो ?

राष्ट्रिय खेलाडीहरू भित्रिएका छन् । त्यसले ए डिभिजन लिगको टिमभन्दा अझै सशक्त बनेको छ । विशेषगरी आक्रामण पक्ष बलियो भएको छ ।

मछिन्द्रको बलियो पक्ष के हो ?

आक्रामण पक्ष बलियो नै छ । हामीसँगी ए डिभिजन लिगकै सर्वाधिक गोलकर्ता ओलावाले आफिज, प्रभावशाली स्ट्राइकर मेसुके ओलोमोउ, विमल घर्तीमगर, आयष घलान, आशीष चौधरीजस्ता उत्कृष्ट खेलाडीहरू छन् । डिफेन्समा पनि हाम्रा खेलाडी राम्रा छन्, बलिया छन् । देवेन्द्र तामाङ, सनिश श्रेष्ठ, छिरिङ गुरुङ करिम ओलामाजा छन् । गोलपोष्टमा अनुभवी कप्तान विशाल श्रेष्ठ छन् । हाम्रो मिडफिल्डमा क्षमतावान् खेलाडीहरू छन् । त्यसैले हाम्रो टिम सन्तुलित छ, राम्रो छ । टिमका पुराना र नयाँ खेलाडीहरू उत्कृष्ट छन्, जसले टिमलाई मजबुत बनाएको छु ।

गत साता दशरथ रंगशालामा भुटानको प्रिमियर लिग च्याम्पियन पारो एफसीविरुद्ध मछिन्द्रले गरेको प्रदर्शनमा के सुधार गर्नुपर्छ ?

भुटानी टिम पनि राम्रो थियो । उसका विदेशी खेलाडीले हाम्रो डिफेन्सलाई राम्रौ चुनौती दिएको थियो । त्यसैले हामीले दशरथ रंगशालामा गरेका स–साना गल्तीलाई साल्ट लेक रंगशालामा दोहोर्‍याउनु हुँदैन, सच्याउनैपर्छ । किनभने मोहन बगान धेरै राम्रो टिम हो र फुटबलमा एउटा गल्ती पनि महंगो पर्नसक्छ । र, गोल सिर्जना गर्ने अवसर गुमाउने छुट पनि छैन हामीलाई ।

गत वर्ष एएफसी कप छनोटमा मछिन्द्र पहिलो खेलमै हारेको थियो । यसपटकको लक्ष्य के हो ?

गत वर्ष श्रीलंकाली टिम ब्लु स्टारविरुद्ध २–१ ले हार्दा मैले मछिन्द्रको टिम हेरेको थिइनँ । त्यो बेला र अहिलेको टिममा रणनीतिक रुपमा केही फरक छ । यसपालि प्रारम्भिक छानेटको पहिलो खेलमा पारोलाई ३–२ ले हराएर मोहन बगानविरुद्ध प्रतिस्पर्धा गर्ने अवस्थामा आइपुगेका छौं । हामी मोहन बगानलाई पनि हराएर अगाडि बढ्न चाहन्छौं ।

कस्तो रणनीतिमा टिमलाई खेलाउने योजना छ ?

टिमको संरचना ४–३–३ नै हुनेछ । डिफेन्डिङ गर्दा नौ जना नै तल झर्नसक्छौं । आक्रामण गर्दा आठ जना अगाडि बढ्ने छन् । अर्थात्, पूरा टिम नै मोहन बगानलाई रोक्न खट्नेछ र पूरा टिमले नै आक्रामण पनि गर्नेछ ।

राष्ट्रिय टिमका खेलाडीहरूको आगमनले कस्तो प्रभाव पारेको छ ?

हाम्रो टिममा एएफसी कप छानेटका लागि एरिक विष्ट, लाकेन लिम्बू, आयुष घलान, आशिष चौधरी, सनिश श्रेष्ठको आगमनले फुटबलको प्रतिस्पर्धालाई अझ सुन्दर बनाउन मद्दत गरिरहेको छ । उनीहरूले पारोविरुद्ध मिहिनेत गरेका थिए ।

प्रकाशित : श्रावण ३१, २०८० १७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?