कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २००

क्रिकेटका ‘हाम्रा नरेश दाइ’

नरेश दाइको अर्को एउटा गजबको खुबी थियो, जस्तोसुकै टीकाटिप्पणी, आरोप, कटाक्ष वा निराशाजनक परिस्थितिलाई सहजै रूपमा ग्रहण गर्न सक्ने
मनीषराज पाण्डे

एकाबिहानै घरअगाडिबाट बोलावट आयो र म घरअघिको निमको रूखमुनिको कुनामा पुगें । सेतो सर्ट र गाढा नीलो रङको पाइन्टसहित पहिरनमा आउनुभएका उहाँले विराटनगरमा एउटा नयाँ क्रिकेट क्लब खोल्ने आफ्नो योजना सुनाउनुभयो । मेरा अग्रज खेलाडीहरूसँग उहाँले पहिल्यै सरसल्लाह गरिसक्नुभएको रहेछ ।

क्रिकेटका ‘हाम्रा नरेश दाइ’

म जस्तो कलिलो उमेरको व्यक्तिसँग पनि आफ्नो योजनालाई विस्तृत रूपमा सुनाउन आउनु हुँदा मलाई त्यतिबेला अलि आश्चर्य लागेको थियो । जेहोस् त्यतिबेला उहाँ अर्थात् हाम्रो नरेश दाइ (नरेश श्रेष्ठ) को उक्त योजनालगत्तै उद्देश्यअनुरूप काम अगाडि बढ्यो । त्यतिबेलाको नेपालको एक सशक्त युथ क्रिकेट क्लब (वाईसीसी) को उदय भयो । अनि त्यहीे क्लबलाई संस्थापक अध्यक्षका रूपमा नेतृत्व गर्न सुरु गर्नुभयो नरेश दाइले ।

नरेश दाइको खुबीका बारे मैले समीपबाट हेर्दा त्यस्तो क्षमता बोकेको क्रिकेटप्रति पूर्णरूपमा जीवनपर्यन्त समर्पित, निष्ठावान, कुशल तथा कुशाग्र बुद्धि भएको क्रिकेट व्यवस्थापक मैले आजसम्म नेपालमा अर्को कुनै देखेको छैन । त्यतिमात्र नभई उहाँ क्रिकेटको दक्ष रणनीतिकार र कुशल संगठनकर्ता पनि हुनुहुन्थ्यो । उहाँमा रहेको प्रभावकारी नेतृत्व सीपको फलस्वरूप नै हुनुपर्छ विराटनगर र समग्रमा पूर्वाञ्चलको एक स्तम्भका रूपमा सिंगो नेपाली क्रिकेटको टेकोका रूपमा सदैव रहनुभयो । व्यवस्थापकीय पाटोबाट हेर्दा पूर्वको क्रिकेटको एक पर्यायका रूपमा चिरपरिचित व्यक्तित्वका रूपमा आफूलाई स्थापित गर्न सफल हुनुभयो । अनि राष्ट्रियस्तरमा लामो समयसम्म नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय कार्यसमितिमा विभिन्न पदमा आबद्ध रहनुभयो ।

सबै क्रिकेट खेलाडीको घरघरमा जाने अनि क्रिकेट सिजनमा स्थानीय, क्षेत्रीय, राष्ट्रिय र छिमेकी राष्ट्र भारतको सीमावर्ती राज्यहरूमा हुने गरेका क्रिकेट प्रतियोगिताहरूमा भाग लिन जान प्रेरित गर्ने र खेल्न लैजाने त त्यतिबेला उहाँको बानी जस्तो नै थियो । कताबाट हुन्छ स्रोत व्यवस्थापन गर्न कम्मर कसेर लाग्नुहुन्थ्यो । कहिले आन्तरिक रूपमा खेलाडी जुटाउने त कहिले बाह्य रूपमा, यसमा त उहाँको विशिष्ट गुण र क्षमता नै थियो भन्दा अत्युक्ति नहोला ।

खेलाडी मात्र होइन क्रिकेट खेललाई विकास गर्ने हो भने बढीभन्दा बढी क्रिकेट प्रतियोगिता आयोजना गर्नु र गराउनुपर्छ भन्ने भावना थियो नरेश दाइको । मैले प्रत्यक्ष रूपमा देख्दा नै विराटनगरमा ४० को दशकदेखि नै नरेश दाइ नै एक प्रमुख आयोजक र संयोजनकर्ताका रूपमा सदैव देखिरहनुभयो । विराटनगरमा भएको क्रिकेट प्रतियोगितामा भाग लिन आउनु नेपालका स्तरीय टिम र खेलाडीहरूका साथसाथै केही भारतीय टिमहरूको पनि त्यतिबेला उत्तिकै चासो र प्रतिष्ठाको विषयवस्तु हुन्थ्यो । यस्तो अवस्था क्रमशः खस्केर गएको देख्दा के पूर्वको क्रिकेटले न्याय पाइरहेको छ त जस्तो लाग्छ । तर नेपाली क्रिकेटले अहिले फड्को मारिरहँदा पूर्वको क्रिकेटको अवस्था के कस्तो छ, त्यो अर्को समीक्षाको विषयवस्तु होला तर नरेश दाइको विगतको सक्रियता मैले आजको दिनमा रहेर स्मरण गरिरहँदा कुनै न कुनै रूपमा अन्तरसम्बन्धित विषयवस्तु भने पक्कै हो जस्तो लाग्छ । क्रिकेट खेलाडीको क्षमता चिन्ने र भिन्नता छुट्याउन सक्ने क्षमता मलाई उहाँको अर्को विशिष्ट गुण जस्तो लाग्दछ । एक पटक चाहे त्यो खेलको दौरानमा होस् वा नेट्समा अभ्यासको दौरानमा, कहिले हीरा पारखीले हीरा पहिचान गर्‍या जस्तै तत्कालै खेलाडीको सबल पक्ष र कमजोरी पत्ता लगाइहाल्ने, कहिले असामञ्जस्य परेका हनुमानलाई जाम्बवानले शक्ति सम्झाए जस्तै गरी खेलाडीको प्रतिभा प्रस्फुटन र उजागर गरिदिने खुबीको प्रशंसा जति गरे पनि पुग्दैन ।

उहाँको आँखामा पर्नेबित्तिकै खेलाडीले काँचुली फेरेका उदाहरणहरू त प्रशस्त छन् । यसमा म आफैंलाई पनि उदाहरणका रूपमा प्रस्तुत गर्न सक्छु । २०४४ सालमा सहिद मैदानमा भएको एक प्रतियोगिताको दौरानमा हामीले टस जितेर ब्याटिङ गर्ने निर्णय गर्‍यौं अनि म्याच सुरु हुने बेला पनि भयो, हाम्रो टिमको ओपनिङ ब्याटर निरञ्जन रिजाल कारणवश आउन ढिलो भयो । तत्कालै नरेश दाइले मलाई ‘स्ट्रेट ब्याट’ चलाउँछ, आज ओपन गर्ने मौका दिऊँ र ब्याटिङ प्याड लगाइहाल त भनेर मैदानमा पठाउन लगाउनुभयो । जबकि त्यति बेलासम्मको मेरो सशक्त पक्ष भनेको बलिङ थियो । मैले उक्त खेलमा ४६ रन बनाएँ र त्यही दिनदेखि नै म आधिकारिक रूपमा अलराउन्डरतर्फ मोडिएँ । त्यति मात्र होइन म अझै पनि कलैयामा हुने गरेको ५० को दशकको सुरुको संस्करणको सत्यनारायण अग्रवाल मेमोरियल क्रिकेट प्रतियोगितामा खेल्न जानुअघि मेरो घरमा भएको नेट्स अभ्यासको दौरानमा भर्खरका कलिला दुई खेलाडी ल्याएर ‘मनीष, एकपल्ट यिनीहरूको ट्रायल लेऊ त राम्रै खेल्छन् जस्तो लाग्छ’ भन्नुभयो । दुवैलाई बलिङ र ब्याटिङ गर्ने मौका दिएपछि नरेश दाइले तत्कालै मेरो प्रतिक्रिया पनि लिनुभयो । अनि हामीले कलैया लैजाने निधो गर्‍यौं । ती खेलाडीहरू थिए नेपाली राष्ट्रिय खेलाडीद्वय दीपेन्द्र चौधरी र महबुब आलम ।

काठमाडौंमा त्यतिबेला नियमित रूपमा हुने गरेको केकेएम रनिङ सिल्डमा विराटनगरले जहिले राम्रो खेल प्रदर्शन गर्ने गरेको भए पनि फाइनल जित्न सकेको थिएन । त्यसका लागि विराटनगरको टिमलाई सशक्तता प्रदान गर्न नरेश दाइको जोड हरेक वर्ष केही निश्चित संख्यामा बाह्य स्तरीय खेलाडीहरू सामेल गरेर सहभागी हुने भन्नेमा नै रहने गर्थ्यो । यसै सिलसिलामा हाम्रो टिमबाट भारतमा रणजी ट्रफी खेलिरहेका खेलाडीहरू पनि प्रतियोगितामा सहभागी हुने गर्थे । तर सो प्रतियोगिताको आठौं संस्करणसम्म पनि सफलता हात लागेन । मलाई अझै स्मरण छ, उक्त प्रतियोगिताको नवौं संस्करणको दौरानमा २०४७ फागुनमा वाईसीसी, विराटनगरको टिम काठमाडौं जानुअघि नरेश दाइले भन्नुभएको थियो, ‘खोइ, यसपालि त हामी बाहिरबाट खेलाडीहरू नझिकाई खेल्न जानुपर्ला जस्तो छ, कहिल्यै केकेएम प्रतियोगिताको उपाधि जित्न सकेका छैनौं । अहिलेको हाम्रो टिम नै बलियो जस्तो छ, कसो नजितिएला त ।’ नभन्दै भयो पनि त्यस्तै । फाइनल खेलमा वाईसीसीले एनआरटी (केकेएम) लाई ९ विकेटले सजिलै पराजित गरी पहिलो पटक उक्त प्रतियोगिता जित्न सफल भयो ।

२०४६ पुसमा नवौं राष्ट्रिय क्रिकेट प्रतियोगिता (जय ट्रफी) मा सहभागी हुन हाम्रो कोशी अञ्चलको टिम भैरहवा गएको थियो । त्यसअघिका विभिन्न प्रतियोगितामा उच्च मनोबलका साथ राष्ट्रिय क्रिकेट प्रतियोगिता पनि जित्ने रणनीतिका साथ हामी मैदानमा उत्रियौं । तर पहिलो खेलमा नै कोशी लुम्बिनी अञ्चलसँग नराम्रो हार बेहोरेर बाहिरिनुपरेको थियो । लुम्बिनी तुलनात्मक रूपमा त्यति बेलासम्म कमजोर टिम थियो । हाम्रो टिमको सुस्त फिल्डिङ र केही हेलचेक्य्राइँ पनि देखेर हुन सक्छ नरेश दाइले तत्कालै खेल मैदानमा दिनुभएको प्रतिक्रिया अहिले पनि याद आउँछ, ‘लुम्बिनीको टिम भनेर सबैमा ओभर कन्फिडेन्स देखियो, अब सबैले थाहा पायौं होला यसको नतिजा । खुरुखुरु सबैले आफ्नो स्वाभाविक खेल नखेलेर ।’

२०४८ चैतमा वीरगन्जमा दसौं जय ट्रफीको पहिलो खेल कोशीका लागि अविस्मरणीय रह्यो । हार्न लागिसकेको खेल चामत्कारिक रूपमा हामीले जितेका थियौं । सुरुमै वाग्मती अञ्चलविरुद्ध हाम्रो ब्याटिङ निराशाजनक रह्यो । कारण थियो, अघिल्लो राति अबेलासम्म प्लेइङ–११ मा कसलाई स्थान दिने भनेर एक–दुई खेलाडीको विषयमा विवाद भइरहेको थियो । खेलाडी अनुशासनका विषयवस्तु पनि छचल्किएका थिए । जसले गर्दा हाम्रो टिमका अधिकांश खेलाडीहरूको रातिको सुताइमा असर पर्न गयो अनि खेल अगाडि नै प्रत्यक्ष रूपमा खेलाडीको मनोभावमा स्पष्ट परिवर्तन देखिन्थ्यो । यस्तो विषम परिस्थितिमा पनि नरेश दाइले खेलाडी एकता कायम राख्न गर्नुभएको नेतृत्वदायी व्यवस्थापकीय भूमिका र सम्भावित द्वन्द्वलाई सहज रूपमा व्यवस्थापन गर्न सक्नुभएकै कारणले पनि हुन सक्छ हामीले प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गर्दै उपाधि नै जित्न सकेको हिजोको दिन जस्तो लाग्छ ।

नरेश दाइको अर्को एउटा गजबको खुबी थियो, जस्तोसुकै टीकाटिप्पणी, आरोप, कटाक्ष वा निराशाजनक परिस्थितिलाई सहजै रूपमा ग्रहण गर्न सक्ने । तर रत्तिभर नकारात्मक कुराहरूलाई प्रश्रय नदिई सकारात्मकतातर्फ विषयवस्तुलाई उन्मुख गराउने । बेलाबखत खिन्नतामा होस् वा आफ्नो योगदानबारे अरूलाई सुनाउन सबैलाई भन्ने नै गर्नुहन्थ्यो ‘आई स्पोइल्ड माई लाइफ इन क्रिकेट, बुझ्यौ । कस्ता कस्ता कामका लागि प्रस्ताव आएका थिए मैले त्यसलाई त्यागेर क्रिकेट नै रोजें ।’ जबकि उहाँ खेल्नेभन्दा पनि खेलाउने र संगठित गर्ने विशुद्ध स्वैच्छिक कार्यमा संलग्न हुनुभयो । यस्तो गुण सबैमा हुन सम्भव छैन, त्यस्तै अटल र दृढ संकल्प तथा विचार बोकेको व्यक्तिमा मात्र सम्भव हुन्छ ।

२०५३ भदौमा मलेसियामा भएको पहिलो एसीसी ट्रफीमा सहभागी हुन जानुपूर्व मोरङबाट जब म मात्र नेपालको टोलीमा छनोट भएँ, त्यसपछि नरेश दाइसँगको भेटमा हामीले छनोट आधारका बारे कुराकानी गर्‍यौं । त्यतिबेलाको मोरङका खेलाडीको खेल कौशललाई र अन्य प्रतियोगितामा गरेको प्रदर्शनलाई पनि आधार मानिएको भए पक्कै पनि कम्तीमा ४ जना त नेपालको १४ सदस्यीय टोलीमा पर्ने थिए भन्ने निचोड निकालेका थियौं । जुन त्यतिबेला सम्भव भएन र नरेश दाइले भन्नुभयो ‘हेर अब हामीले आईसीसीको एसोसिएट सदस्यता प्राप्त गरिसकेपछि पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न योग्य भएका छौं । अबका दिनमा क्यानमा पुरानो संकुचित सोच हटाउनु अति आवश्यक छ । सोच र कार्यशैलीमा परिवर्तन नै अहिलेको आवश्यकता हो ।’

नरेश दाइले आफ्नो क्रिकेटप्रतिको लगाव, माया, मोह र दूरदर्शिताको प्रतिफल स्वरूप हुनुपर्छ पूरै परिवारलाई नै क्रिकेटमा समर्पण गर्नुभयो । आफ्ना दुवै छोराहरू युनिल र मञ्जित श्रेष्ठले नेपाली राष्ट्रिय टोलीबाट खेले । मैले बुझेसम्म यी सबै कुराको पृष्ठभूमिमा नरेश दाइलाई सदैव घरबाट साथ, हौसला र सहयोग प्रदान गर्नुहुने प्रमुख व्यक्तित्व भनेको नै बिना भाउजू हो ।

(पाण्डे पूर्वराष्ट्रिय खेलाडी हुन्)

प्रकाशित : श्रावण १९, २०८० ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?