कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

एसियाड तयारीलाई बक्सिङ टोली भारत जाँदै

ध्रुव तुलाधर

काठमाडौँ — चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदको तयारी तथा मैत्रीपूर्ण प्रतियोगिताका लागि बक्सिङ टोली बिहीबार भारतको पञ्जाब प्रस्थान गर्दै छ । १३ खेलाडीसहित १७ सदस्यीय टोली थप तयारीका लागि भारत जान लागेको हो ।

एसियाड तयारीलाई बक्सिङ टोली भारत जाँदै

पुरुष ५१ केजीमा रविन थापा, ५७ केजीमा बुद्ध ग्याम्जो लामा, ६३.५ केजीमा भुपेन्द्र थापा, ७१ केजीमा दिपेश लामा, ८० केजीमा दीपक श्रेष्ठ, ९२ केजीमा रविन नेपाल र ९२ केजीमाथि आशीष दुवाडी रहेका छन् । महिलाको ५० केजीमा सुष्मा तामाङ, ५४ केजीमा मिनु गुरुङ, ५७ केजीमा चन्द्रकला थापा, ६० केजीमा संगिता सुनार, ६६ केजीमा विनिता थापा मगर र ७५ केजीमा सरस्वती राना छन् ।

प्रशिक्षकमा शिव सिंह, दीपक महर्जन, प्रवीण तुलाधर र राज श्रेष्ठ तथा व्यवस्थापकमा श्यामकाजी अवाले रहेका छन् । खेलाडीले पञ्जाब इन्स्टिच्युसन अफ स्पोर्ट्स पटियालामा जुलाई २७ देखि अगस्ट २७ तारिखसम्म प्रशिक्षणमा रहनुका साथै मैत्रीपूर्ण प्रतियोगितामा पनि सहभागी हुने नेपाल बक्सिङ संघले जनाएको छ ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे । सो अवसरमा सदस्यसचिव घिसिङले एसियाली खेलकुदको विगतको सफलतालाई वर्तमान खेलाडीले दोहोर्‍याउने विश्वास व्यक्त गर्दै बक्सिङलाई पदकको सम्भावना भएको खेलका रुपमा हेरिएको बताए ।

टर्च र्‍यालीमा दीपक सहभागी हुने

चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदको उद्घाटनअघि हाङझावमै हुने टर्च र्याली नेपालबाट एसियाली खेलकुदका कांस्य विजेता बक्सिङका दीपक महर्जन सहभागी हुने छन् ।

सदस्यसचिव टंकलाल घिसिङले वैदेशिक प्रशिक्षण र मैत्रीपूर्ण प्रतियोगिताका लागि भारत जान लागेको हाङझाव एसियाडमा सहभागी हुने बक्सिङ टोलीको बिदाइ कार्यक्रममा टर्च र्‍यालीमा नेपालबाट दीपक सहभागी हुने जानकारी गराए ।

प्रकाशित : श्रावण १०, २०८० २०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?