२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१९

आफूलाई महान् ठान्दैनन् जोकोभिच

३६ वर्षीय सर्वियाली नोभाक जोकोभिचको २३ ग्रान्ड स्लाम जित्दै कीर्तिमान कायम
द गार्डियन

पेरिस — नोभाक जोकोभिचलाई के लाग्छ भने उनी विश्व टेनिसकै सर्वकालीन महान् खेलाडी हुन् वा होइनन्, त्यसको निर्णय गर्ने उनी आफैं होइनन् । उनले आइतबारमात्रै फ्रेन्च ओपन टेनिस जिते । यससँगै उनले जितेको ग्रान्ड स्लामको संख्या २३ पुगेको छ । यससँगै जोकोभिचले सर्वाधिक ग्रान्ड स्लाम उपाधि जितेको कीर्तिमानमा राफेल नडाललाई उछिनेका छन् । उनले सेरेना विलियम्ससँग बराबरी पनि गरेका छन् ।

आफूलाई महान् ठान्दैनन् जोकोभिच

संन्यास लिइसकेकी सेरेनाले पनि २३ ग्रान्ड स्लाम जितेकी छन् । जुलाईमा विम्बल्डन हुँदै छ । त्यसमा पनि च्याम्पियन हुने हो भने जोकोभिचले मार्गरेट कोर्टको कीर्तिमान बराबरी गर्नेछन् । त्यो भनेको सर्वकालीन कीर्तिमान हो २४ ग्रान्ड स्लामको ।

‘म यस्तो विवादमा प्रवेश गर्न नै चाहन्न,’ ३६ वर्षीय सर्वियाली खेलाडी जोकोभिचले भने, ‘मैले आफ्नै इतिहास पो लेखिरहेको छु । म भन्दिनँ, म नै महान् हुँ । यसबारे निर्णय गर्ने त अरूले नै हो ।’

पछिल्ला केही वर्ष सर्वाधिक ग्रान्ड स्लाम उपाधि जित्ने होडमा तीन खेलाडी संलग्न रहे । त्यसमा जोकोभिच र नडाल त भइहाले, अर्का थिए रोजर फेडेरर । गत वर्षमात्रै फेडेररले संन्यास लिए । त्यस अगाडि फेडेररले २० ग्रान्ड स्लाम आफ्नो नाममा लेखाए । त्यति बेला उनी नै सर्वाधिक ग्रान्ड स्लाम जित्ने पुरुष खेलाडी थिए ।

रोलान्ड ग्यारोसमा भएको फ्रेन्च ओपनको फाइनलमा नर्वेका कास्पर रुडलाई हराएयता जोकोभिचले सबैभन्दा पहिला आफ्ना दुई प्रतिद्वन्द्वीलाई पछाडि छाडेका छन् ।

अब त जोकोभिचलाई थप मौका छ ग्रान्ड स्लाम जित्ने होडमा नडाल र फेडेररलाई अझ पछाडि छाड्ने । त्यसमाथि नडाल चोटग्रस्त छन् । उनले सन् २०२४ मा संन्यास लिने योजना बनाइसकेका छन् । फेडेरर त ४१ वर्षका भए । उनले पनि खेल्न छाडेको लामै समय भयो । ‘नडाल र फेडेररलाई पछाडि छाडेको तथ्यमै म खुसी छु,’ जोकोभिच भन्छन्, ‘तर, सबैले के बुझ्नुपर्छ भने प्रत्येकको आफ्नो फरक इतिहास हुन्छ ।’

पेरिसमा प्राप्त सफलतापछि जोकोभिच फेरि एकपल्ट विश्व नम्बर एक टेनिस खेलाडी पनि भएका छन् । ‘मलाई कम्तीमा आफ्नो पुस्ताको च्याम्पियन खेलाडी हुँ जस्तो भने लाग्छ । मेरो खेलको छाप विश्व टेनिसमा रहिरहने छ । मलाई आफूमाथि ठूलो आत्मविश्वास छ र मलाई अझै पनि राम्रैसँग खेलिरहन सक्नेमा विश्वास छ । मैले अहिले पनि जितिरहेको छु, त्यसले भन्छ मेरो टेनिस अझै अब्बल छ,’ उनले थपे ।

कतिसम्म जित्नेछन् त ?

प्रश्न हो, जोकोभिचले संन्यास लिनु अगाडिसम्म कति ग्रान्ड स्लाम जित्नेछन् त ? जोकोभिचको पहिलो प्रयास कोर्टको कीर्तिमान बराबरी गर्नु नै हुनेछ । अबको उनको गन्तव्य भनेको विम्बल्डन हो । त्यहाँ उनले यसअघि नै सातपल्ट उपाधि जितिसकेका छन् । आठौंपल्ट जितेर उनी विम्बल्डनमा फेडेररको कीर्तिमान पनि बराबरी गर्न चाहन्छन् । ‘ग्रान्ड स्लाम मेरा लागि सधैं पहिलो प्राथमिकतामा रहने गरेको छ । अझ अहिलेको मेरो खेलको संघारमा यो जत्तिको महत्त्व अरू केहीको हुन्न ।’

उनी आफ्नो खेलजीवन टुंगिनसकेको मान्छन् । भन्छन्, ‘मेरो यात्रामा पूर्णविराम लागेको छैन । यदि म अझै ग्रान्ड स्लाम उपाधि जितिरहेको छु भने किन संन्यासबारे सोच्ने । भलै, मेरो खेलजीवन २० वर्ष लामो भइसकेको छ । म त आफ्नो खेलजीवनकै सबैभन्दा उत्कृष्ट टेनिस खेल्नका लागि प्रेरित छु । म त्यस्तो खेल खेल्न चाहन्छु, जसलाई पछिसम्म पनि सबैले सम्झनामा राखोस् ।’

पछिल्लो समय जोकोभिचले आफ्नो व्यस्तता भने केही कम गरेका छन् । वर्षका चार प्रमुख प्रतियोगिताका लागि आफूलाई तयार पार्ने काममा केन्द्रित गरेका छन् । यो रणनीति ठीक साबित भएको छ । किनभने उनले पछिल्लो समय खेलका आठमध्ये ६ ग्रान्ड स्लाम जितेका छन् । लामो समयदेखि जोकोभिचका प्रशिक्षक रहेका गोरान इभानेसिभिच मान्छन्, आफ्नो खेलाडीमा ग्रान्ड अगाडि मानसिक र शारीरिक रूपमा ठीक हुने मानसिकता छ ।

के जोकोभिच उत्तिकै तन्दुरुस्त छन् ?

फ्रेन्च ओपन खेल्न पेरिस आउँदा जोकोभिच पूर्णतः फिट थिएनन् । युरोपेली क्लेकोर्ट सिजन चलिरहँदा जोकोभिचको कुहिनामा चोट थियो । यसपल्ट स्पेनका एलेजान्ड्रा फोकिनालाई तेस्रो चरणमा हराउँदा पनि जोकोभिचलाई उपचार आवश्यक परेको थियो । उनी आफैं पनि एकपछि अर्को चोटको समस्याबाट गुज्रिरहेको मान्छन् ।

उनी के मान्छन् भने खेलाडीको काम भनेको यस्ता चोटसँग भिड्ने नै हो । यसपल्ट फ्रेन्च ओपन जितेर उनी च्याम्पियन हुने सबैभन्दा बढी उमेरका खेलाडी बने । त्यो पनि नडाललाई उछिनेर नै । ‘पक्कै पनि मेरो शरीर अब त्यस्तो रहेन, जस्तो पहिले थियो । सायद पाँच वा दस वर्षअगाडि मैले चोटमाथि चाँडै जित निकाल्न सक्थें । तर, म खेलिरहने छु,’ जोकोभिच भन्छन् ।

खासमा जोकोभिचले ३६ वर्षको उमेरमा फ्रेन्च ओपन जिते । सबैभन्दा पाको उमेरमा च्याम्पियन बने । उनको खेलमा यसको झल्को भने आउँदैन । यी सर्बियाली खेलाडीलाई राम्रोसँग थाहा छ, फेरि एकपल्ट विश्व नम्बर एक खेलाडीका रूपमा कसरी आफूलाई अगाडि बढाउने भनेर । उनी शीर्ष खेलाडी भएको साताको संख्या पनि अब ३ सय ८८ पुग्दै छ । उनले आफूले खेलेका पछिल्ला तीन ग्रान्ड स्लाम जितेको आधारमा भन्न सकिन्छ, यी जोकोभिच चाँडै रोकिने छैनन् । उल्टै जित्दै जानेछन् ।

प्रकाशित : जेष्ठ ३०, २०८० ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?